सुजाता थापा / प्यूठान 
साउन १९ प्यूठान ,बाढी पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्र प्यूठानको फोप्लीमा महामारी फैलन सक्ने खतरा देखिएको छ। बाढी र पहिरोबाट सबै भन्दा बढि प्रभावित क्षेत्र फोप्लीमा जिल्ला स्वास्थ्य कार्यालय प्यूठानको पहल र नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज, नेपाल स्वास्थ्य प्राविधिक संघ र राष्ट्रिय स्वास्थ्यकर्मी संघको संयुक्त आयोजनामा सोमबार र मंगलबार गरी २ दिनसम्म चलेको स्वास्थ्य शिबिरमा ४६३ जनाको स्वास्थ्य परिक्षण गरिएको नेपालगञ्ज मेडिकल कजेलका जनसम्पर्क अधिकृत राम बहादुर मल्लले बताउनु भयो ।

swasthya sibir

बाढी पहिरो प्रभावितहरुमा अत्यधिक मात्रामा निमोनिया र श्वासप्रश्वास सम्बन्धि समस्या देखिएको शिबिरमा सहभागी एम.डी डा.दिपक पौडेलले बताउनु भयो । त्रिपाल र बिद्यालयहरुमा कष्टकर जीवन बिताउन बाध्य पिडितहरुमा झाडापखाला , आखाँको इन्फ्याक्सन , छाला सम्बन्धि समस्या ,निमोनिया र श्वासप्रश्वास सम्बन्धि समस्या,नसासम्बन्धि समस्या र कसै कसैमा मनोवैज्ञानिक असर समेत देखिएको शिविरमा संलग्न अर्का डाक्टर प्रवेश पन्तले बताउनु भयो।महामारीको रुपमा फैलन लागेको झाडापखला समेत नियन्त्रणमा आएको डाक्टर पन्तले बताउनु भयो। साथै उहाँले भन्नुभयो–“बाढी र पहिरोका कारण मरेका पशुचौपायाहरु यत्रतत्र छरिएको हुँदा सयममै सड्ने औषधी प्रयोग गरि उचित ब्यवस्थापन नगरिए गाउँमा महामारी फैलन सक्छ। यो तर्फ सबैले ध्यान दिन जरुरी छ।”

बिरामीहरुमा जुनसुकै रोगको संक्रमण फैलन सक्ने अवस्थालाई रोक्नका लागि डाक्टरहरुले आवश्यक सर्तकता अपनाइरहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका सिनियर अहेब धुव्रकुमार पोख्रेलले बताउनु भयो। बिभिन्न निकायहरुबाट उपलब्ध गराईएको त्रिपालहरु समेत टाँगेर बस्ने ठाउँ नभएर चिसोमा एकै ठाँउ पिडितहरु बस्नुपर्ने बाध्यकारी अवस्था रहेको स्वास्थ्य शिविरमा सहभागी नेपाल पर्यटन पत्रकार संघ प्यूठानका संयोजक हरि भण्डारी बताउनुहुन्छ।

पिडितहरुको अवस्था निकै नै कष्टकर भएकाले राहत र पुर्नस्थापनाका लागि सोमबार जिल्ला बिकास समितिको सभाहल खलंगामा जिल्लाका सम्पुर्ण राजनितिक दलका प्रमुखहरु ,सांसदहरु हिरा बहादुर केसी ,दुर्गा पौडेल ,धनबहादुर रायमाझी ,बिभिन्न बिषयगत कार्यालयका प्रमुखहरु ,पत्रकार, नागरिक समाजले पिडितहरुका लागि आवश्यक आधारभूत आवश्यकता पुरा गर्नका लागि संकल्प प्रस्ताव एक मतले पारित समेत गरेका छन्। त्यस्तै सोमबार नै बसेको सर्वपक्षिय बैठकले शिविर संचालन गर्ने नेपालगञ्ज मेडिकल कलेज लगाएत अन्य सहयोगी निकायहरुलाई धन्यबाद प्रस्ताव पनि पारित गरेको छ।

यस्तै बाढी र पहिरोका कारण बिस्थापित भएका बाहानेका पिडितहरुको स्वास्थ्य अवस्था बिग्रन नदिनका लागि नेपालगञ्ज मेडिकल कलेज र जिल्ला स्वास्थ्य कार्यालयको एक टोलीले पनि पिडितहरुको स्वास्थ्य परिक्षण गरेको छ। बाहानेमा डाक्टर दिपेश यादव सहितको टिमले स्वास्थ्य परिक्षण गरेको हो । उक्त शिविरमा १५० जनाको स्वास्थ्य परिक्षण गरिएको बताईको छ। त्यहाँ पनि झाडापखालाका बिरामी र छाला सम्बन्धिका बिरामी भएको बताईएको छ। स्वास्थ्य शिविरमा लाइन लगाउने देखि लिएर आवश्यक अन्य ब्यवस्थापन गर्नका लागि विप्लव माओबादी निकट युवा जनस्वयंसेवकहरु डाक्टरहरु सँगै गएर सहयोग गरिरहेको बताईएको छ।