
सुर्खेत । कर्णाली सरकारले कर्णालीका सबै स्थानीय तहहरूमा किसान पाठशाला सञ्चालन गर्ने भएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१ ८२ को नीति तथा कार्यक्रममार्फत स्थानीयस्तरमा गुणस्तरीय प्राङ्गारिक मल उत्पादनको प्रविधि प्रसारका लागि ‘एक पालिका एक किसान पाठशाला’ सञ्चालन गर्ने भएको हो ।
‘स्वस्थ माटो, स्वस्थ जीवन’ को नारासहित माटो परीक्षण नतिजाको आधारमा कृषि चुन प्रयोगलाई व्यापकता दिइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ। किसानको पहुँच अभिवृद्धि गर्न प्राङ्गारिक मल तथा जैविक विषादी उत्पादन, ढुवानी तथा बिक्री मूल्यमा अनुदान दिने नीति प्रदेश सरकारको छ।
नयाँ वर्षको नीति तथा कार्यक्रमाम किसानलाई कार्यस्थलमा प्राविधिक सहयोग उपलब्ध गराउन घुम्ती कृषि प्राविधिक सहयोग कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम अघि सारेको छ । प्रदेशको प्रवेश गर्ने प्रमुख नाका बर्बइमा कृषि क्वारेन्टाइन राखिने छ। यस्तै सरकारले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान प्रदान गर्ने नीति अघि सारेको छ। कृषि अनुदानलाई प्रभावकारी, पारदर्शी बनाउन उक्त नीति लिईएको बताइएको छ। व्यावसायिक किसानलाई बैंक तथा सहकारीमार्फत दिइदै आएको ब्याज अनुदान कार्यक्रमलाई निरन्तरता दिएको छ।
कृषिमा उत्पादन र उत्पादकत्व बृद्धि गर्न उन्नत बीउ, बिरुवा, नश्ल, मत्स्य, भुरा उत्पादन तथा प्रयोगमा किसानको पहुँच बृद्धि गर्ने नीति लिएको सरकारले परम्परागत कृषि प्रणालीलाई प्रविधियुक्त, व्यावसायिक, प्राङ्गारिक, प्रतिस्पर्धात्मक र जलवायूमैत्री बनाउन कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
सरकारको नीति तथा कार्यक्रममा दैलेख, सल्यान र जाजरकोट लगायतका जिल्लामा सुन्तला जातका फलफूल बगैँचा सुदृढीकरण कार्यक्रम लागु गर्ने उल्लेख छ।










