काठमाडौं, ९ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसदमा दर्ता भएको अविश्वास प्रस्तावको टुंगो आइतबार लाग्दैछ । बिहान ११ बजे बस्ने संसदको पहिलो बैठकमा अविश्वासको प्रस्तावमाथिको छलफल सकिएपछि दोस्रो बैठकको सुरुमा प्रधानमन्त्री ओलीले उठेका प्रश्नको जवाफ दिनुहुनेछ । त्यसपछि अविश्वासका प्रस्तावका पक्षधरलाई प्रस्ताव फिर्ता लिन समय प्रदान गरिनेछ ।

images-cms-image-000000528अविश्वासको प्रस्तावका पक्षले प्रधानमन्त्रीविरुद्धको प्रस्ताव फिर्ता लिन नचाहेमा सभामुखले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुने संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो । अविश्वासको प्रस्तावमा पक्ष र विपक्षमा मतदान हुनेछ । अविश्वास प्रस्ताव पारित हुन २९८ मत आवश्यक पर्छ । अविश्वास प्रस्ताव पेश गरेका कांग्रेस र नेकपा माओवादी केन्द्रलाई आन्दोलनरत मधेसी मोर्चाले साथ दिएका र राप्रपा तथा फोरम लोकतान्त्रिकले समेत अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेकाले प्रस्ताव सजिलै पास हुने निश्चित छ ।

अविश्वास प्रस्ताव पारित भएपछि नयाँ सरकार गठनको प्रक्रियालाई लिएर भने दलहरुबिच विवाद छ । संविधानको धारा २९८ मा संविधान जारीपछि गठित सरकार ढलेमा नयाँ सरकार गठन हुने स्पष्ट व्यवस्था नभएको भनी केही नेता र कानुन व्यवसायीले कुरा उठाउँदै आएका छन् । उनीहरूले त्यसका लागि प्रमुख दल मिलेर संविधान संशोधन गर्नुपर्ने वा राष्ट्रपतिबाट संविधानको बाधा अड्काउ फुकाउको आदेश जारी हुनुपर्ने तर्क गर्दै आएका छन् ।

एमालेका केही नेताहरुले समेत यसमा जोड दिइरहेका छन् । तर एमालेले संस्थागत रुपमा यसबारे कुनै अडान लिएको छैन । नयाँ सरकार गठनमा संवैधानिक अस्पष्टता फुकाउन सरकार वा एमालेको कुनै भूमिका आवश्यक परेमा पनि आफूहरू सहजीकरण गर्न तयार रहेको एमालेका सचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।