भूपेन्द्र वली

दाङ, ८ साउन

पछिल्लो समय दाङमा लागुपदार्थ ओसारपसार एवं दुव्र्यसनीको संख्या बढ्दै गएको छ । बिहीबार बेलुकी मात्रै पनि प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ । भारतको नानपाराबाट ५० पुरिया ब्राउनसुगर ल्याउँदै गर्दा वडा प्रहरी कार्यालय घोराही र राष्ट्रिय अनुसन्धानको विशेष टोलीले घोराही नगरपालिका–४ चौघेराका सुवास घर्तीमगर र सुशील घर्तीमगरलाई पक्राउ गरेको हो ।

Photo of subash @ sushil
बिहीबार बेलुकी प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेका सुवास घर्तीमगर र सुशील घर्तीमगर

कारोबारीले छिमेकी जिल्ला रुकुम, रोल्पा, सल्यान र बाग्लुङका केही स्थानमा उत्पादन हुने गाँजा, चरेस, भाङ दाङ हुँदै भारत पु-याउने गरेको प्रहरीले जनाएको छ । यस्तै भारतबाट सस्तो मूल्यका औषधिजन्य लागुपदार्थ ती जिल्लामा पठाउने गरेका छन् । दुवैतर्फको कारोबारका लागि दाङ ट्रान्जिटका रूपमा विकसित हुन थालेको प्रहरीको मूल्यांकन छ ।

खुला नाकाले फस्टायो कारोबार
भारतसँग सिमाना जोडिएका नाका र फितलो सुरक्षा व्यवस्थापनका कारण लागुपदार्थ कारोबारीलाई आवतजावत गर्न सजिलो भएको प्रहरीको भनाइ छ । ‘मुख्यगरी भैरहवा र नेपालगन्ज नाकाबाट कारोबारीले लागुपदार्थ भित्राइरहेका छन्,’ जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंहले भने, ‘खुला नाकाबाट भित्रने लागुपदार्थको त लेखाजोखासम्म पनि छैन ।’ अहिले लागुपदार्थ ओसारपसार र दुव्र्यसनमा संलग्न दर्जनभन्दा बढी जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । यद्यपि, लागुपदार्थका मुख्य कारोबारी नभई हालसम्म भरिया मात्रै पक्राउ पर्ने गरेको प्रहरीको स्विकारोक्ति छ । कारोबारीले शंका कम गरिने भएकाले महिला तथा युवा वर्गलाई लक्षित बनाएर भरियाका रूपमा प्रयोग गरिरहेका छन् । ‘शंका कम गरिने भएकाले महिला र युवाहरू ओसारपसारमा बढी प्रयोग गरिएको छ,’ प्रहरी प्रमुख सिंहले भने, ‘मुख्य कारोबारी जिल्लाबाहिर नै भएकाले पक्राउ गर्न सकेका छैनौँ ।’

Photo of subash @ sushil

सस्तो लागुऔषधको बढी प्रयोग
जिल्लामा महँगोभन्दा सस्तो मूल्यका औषधिजन्य लागुपदार्थको प्रयोग बढी भइरहेको प्रहरीले जनाएको छ । छिमेकी जिल्ला रुकुम, रोल्पा र सल्यानबाट भित्रने गाँजा, धतुरो, भाङजस्ता लागुपदार्थको प्रयोग बढी मात्रामा हुने गरेको प्रहरीको भनाइ छ । भारतमा प्रतिबन्ध लगाइएका नशालु औषधि यहाँका मेडिकल व्यापारीले डाक्टरको प्रेस्क्रिप्सनविना बेच्ने गरेकोसमेत पाइएको छ । यस्तै सीमानाकामा सस्तो मूल्यमा पाइने भएकाले कारोबारीले नाफा कमाउने उद्देश्यले पनि त्यस्ता औषधिजन्य लागुऔषध भिœयाउने गरेका छन् । ‘भारतको नानपारा, लखनउ, रुपैडिहा र भैरहवा नाकाबाट त्यस्ता सस्ता लागुऔषध भित्रिन्छन्,’ प्रहरी प्रमुख सिंहले भने, ‘प्रहरी मात्रैले सबै ठाउँ निगरानी गर्न सम्भव नि छैन । त्यसैले जनस्तरबाट नै यस्ता आपराधिक गतिविधि नियन्त्रणका लागि अभियान सञ्चालन गर्न आवश्यक छ ।’

आर्थिक वर्ष ०७२-७३ मा लागुपदार्थ दुव्र्यसन र ओसारपसारमा संलग्न २५ जनालाई पक्राउ गरी प्रहरीले कारबाहीको दायरामा ल्याएको छ । पक्राउ पर्नेमा अधिकांश युवा छन् । उनीहरूमध्ये १४ जना ब्राउनसुगर, ६ जना खैरो हिरोइन, एकजना चरेस, एकजना गाँजा, तीनजना क्याप्सुलसहित पक्राउ परेका हुन् ।

भारतीय प्रहरीको असहयोग
करिब ९० प्रतिशत लागुपदार्थको कारोबार भारतलाई आधार बनाएर हुने गरे पनि कारोबारीलाई पक्राउ गर्नमा भारतीय प्रहरीले असहयोग गर्ने गरेको प्रहरीको भनाइ छ । सीमापारिका प्रायःजसो औषधिपसलमा प्रहरीकै अगाडि खुला रूपमा लागुऔषधको कारोबार हुने गरेको छ । यी पसलेले भरियालाई गोप्य स्थानमा लगी जिउभरि टेपद्वारा लागुऔषध बाँधी नेपाल पठाउने गरेका छन् । तर, नियन्त्रण गर्न भारतीय पक्षले कुनै चासो नदेखाएको नेपाली सुरक्षाकर्मीको गुनासो छ । ‘भरियाका रूपमा रहेका नेपालका कारोबारीलाई भेटाएमा भारतले तुरुन्त पक्राउ गर्छ,’ प्रहरी प्रमुख सिंहले भने, ‘तर, उताका मुख्य कारोबारीलाई समेत भारतीय प्रहरी पक्राउ गर्दैन ।’