दिपक बोहरा
तुलसीपुर ४ असार । आर्थिक बर्ष २०७२ /०७३ मा राप्तीमा २ सय भन्दा बढी सहकारी संस्था निष्कृय अवस्थामा पुगेका छन् । तीन बर्ष देखि मासिक रुपमा भएका कामकाजको विवरण, बार्षिक लेखापरिक्षण प्रतिवेदन, विभिन्न समयमा सहकारी डिभिजन कार्यालय, वार्षिक साधारणसभा, बैठकको अभिलेख विवरण नपठाएका राप्तीका २ सय १३ सहकारी संस्थालाई निष्कृयको सुचिमा राखिएको डिभिजन कार्यालय दाङले जनाएको छ ।

sahakariसबै भन्दा बढी निष्कृय हुने संख्या भने राप्तीको रुकुम जिल्लामा पाइएको छ । डिभिजन सहकारी कार्यालय दाङका सहकारी अधिकृत बिनोद कुमार पौडेलले जानकारी दिएअनुसार रुकुममा यो अवधिमा ५७ सहकारी निष्कृय भएका छन् । त्यस्तै रोल्पामा ४६ , दाङ, सल्यान र प्युठानमा समान ३६/३६ सहकारी तीन वर्षको अवधिमा निष्कृय भएका छन् ।

सहकारी ऐन ०४८ को दफा ४१ को उपदफा ३ अनुसार सहकारी संस्थाहरुको निरीक्षण गर्दा लगातार दुई वर्षसम्म कुनै कारोवार नगरी निष्कृय रहेको पाइए त्यस्ता सहकारी खारेज हुने डिभिजन सहकारी कार्यालय दाङका सहकारी अधिकृत पौडेलले बताए ।
काम गर्ने लक्ष्य ,कार्ययोजना , अरुको जोडबलमा , दुःख गर्न नचाहने , सहकारी सम्बन्धि ज्ञान नभएकाले सहकारी दर्ता गरेपनि विस्तारै निष्कृय हुने गरेको पाइएको प्रमुख पौडेलले बताए ।

डिभिजन सहकारी कार्यालय दाङका सहकारी अधिकृत पौडलले सहकारी संख्यात्मक रुपमा बढी भएपनि गुणत्मक रुपमा कम्जोर भएको बताएका छन् । उनले भने ‘ सहकारीहरुको संख्या जति छ , त्यहि अनुसार स्थायिन उत्पादन जति बृद्धि हुनु पर्ने हो त्यति भएको छैन् । ’
अझै पनि दाङका सहकारीहरुको संख्याका आधारमा बिउ बिजन , कृषि दघ्द , बाख्रा पालमा आत्म निर्भर बनाउन सक्ने भएपनि अझै त्यो हुन नसक्नु सहकारी आन्दोलन कम्जोर बन्दै गएको आभास भएको उनले तर्क गरे ।

अहिले राप्तीमा सहकारीको संख्या १ हजार ३ सय २१ रहेपनि अधिकाँस कार्यसम्पादनको दृष्टिले निष्कृय देखिएका छन् । राप्तीको सबै भन्दा धेरै सहकारी दाङमा रहेका छन् । दाङमा अहिले सहकारीको संख्या ६ सय ३२ रहेको छ । त्यस्तै रुकुममा १ सय ७३ छन, सल्यानमा १ सय ६७ , रोल्पामा १ सय ५७ र प्युठानमा १ सय १९ सहकारी संस्था रहेका छन् ।