इन्द्रेणी संवाददाता
दाङ, १ साउन
मनसुन सक्रिय हुँदै जाँदा मध्यपश्चिमका विभिन्न जिल्लामा बाढीपहिरोको जोखिम बढ्दै गएको छ । पहाडमा पहिरो र तराईमा बाढीले क्षति र्पुयाउन थालेको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका अनुसार बाढी–पहिरो, आगलागी,चट्याङलगायतका दैवीप्रकोपबाट ७५ जनाको मृत्यु भएको छ ।jkt

दैवीप्रकोपबाट ७४ करोड २० लाख ८२ हजार बराबरको भौतिक सम्पत्तिको क्षति भएको छ । बाँकेस्थित राप्ती नदीले फत्तेपुर क्षेत्रको हुलाकी राजमार्ग कटान गरेपछि त्यस क्षेत्रको सडक सम्पर्क विच्छेद भएको छ । जाजरकोटका भेरीमालिका नगरपालिका र ८ गाविसमा पहिराको जोखिम बढेको छ । सल्यानमा जिल्लाभरिको २ नगरपालिका र ३५ गाविसका २ सय १० गाउँ पहिरोको जोखिममा परेका छन् ।

सुर्खेत संवाददाताका अनुसार चालु आवमा मध्यपश्चिमका १५ जिल्लामा दैवी प्रकोपबाट ७५ जनाको मृत्यु भएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका अनुसार दैवीप्रकोपबाट २ हजार ७ सय २१ घर गोठमा क्षति पुगेको छ । त्यस्तै, २ सय ७३ पशु चौपाया मरेका छन् । क्षेत्रीय प्रहरी कार्यालयका डीएसपी दिवाकर सिंहले मध्यपश्चिमका अधिकांश जिल्लामा बाढीपहिरो र आगलागीका घटनाबाट धेरै क्षति पुगेको बताए । डीएसपी सिंहका अनुसार अन्य क्षेत्रभन्दा मध्यपश्चिममा दैवीप्रकोपका घटनामा जनधनको कम क्षति भएको छ ।

प्यूठान संवाददाताका अनुसार गत सोमबार आएको बाढी र पहिरोले जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । रजबारा र पूजामा पहिरोमा पुरिएर ११ जनाको ज्यान गएको छ । जिल्ला विकास समिति, प्यूठान नगरपालिका, सडक डिभिजन कार्यालय, संसद् विकास कोषको रकमले खनेका नयाँ सडकमा करोडौंको क्षति भएको छ ।

अर्खामा तीनवटा लघु जलविद्युत् आयोजना, पुल, बाटो र विद्यालयको भौतिक संरचनामा क्षति हुँदा स्थानीयले सास्ती बेहोर्दै आएका छन् । बाढीपहिरोले सुसाउनेखोला लघु जलविद्युत् अयोजना, जुरढुंगा कोर्चे लघु जलविद्युत् र कालिमाटी लघु जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गृह, पोल र तार बगाएको स्थानीय उत्तम बुढाले बताए । तीनवटा लघु जलविद्युत् आयोजनामा क्षति हुँदा करिब ४ सय घरधुरी अँध्यारामा बस्न बाध्य छन् ।

सोही ठाउँकै विभिन्न स्थानमा रहेका चारवटा पुलमा समेत क्षति पुग्दा आवत(जावत ठप्प भएको छ । कोर्चेघारमा रहेको ‘डीपीएल’ पुल, ठूलाचौर(लुजबाङ जोड्ने घोरसाङ झोलुंगे पुल र निर्माणाधीन गन्छ्याङ पुल खोलाले बगाएको छ । जिल्लाको झिमरुक खोलाले हजारौं रोपनी धानखेत नोक्सानी गरेको जिल्ला कृषि विकास कार्यालले जनाएको छ । बाग्दुला पुलचोक नजिक निर्माण हुन थालेको झिमरुक करिडोर निर्माण गर्दैगर्दा खोलाले बगाएको छ ।

बाँकेमा वर्षामा राप्ती नदीले फत्तेपुर क्षेत्रको हुलाकी राजमार्ग कटान गरेपछि त्यस क्षेत्रको सडक सम्पर्क विच्छेद भएको छ । उक्त सडकले नेपालगन्जसँग विकट बघौडा क्षेत्रको यातायात सम्पर्क जोडेका छ । सडक कटानपछि वर्षा सयममा त्यस क्षेत्रका करिब १ लाख सर्वसाधारणलाई नेपालगन्ज आउजाउ गर्न कठिनाइ भएको छ ।

उक्त राजमार्गलाई कटानबाट जोगाउने भन्दै सरकारले जनताको तटबन्ध कार्यक्रममार्फत चालु आवमा १५ करोड रुपैयाँ छुट्याएको थियो । तर, ढिलो गरी बजेट आएका कारण काम सुरु नहुँदै कटानमा परेको हो । वर्षापछि त्यस क्षेत्रमा चल्ने सवारी साधन ठप्प भएका छन् ।।