इन्द्रेणी संवाददाता
घोराही, २५ चैत । घोराही नगरपालिका, १० सेवार खोलामा रहेको नयाँ बसपार्कलाई पक्की गरिने भएको छ । झण्डै दुई करोड ५० लाख बढिको लागतमा बसपार्कलाई पक्की गरिने सहरी विकास तथा भवन डिभिजन कार्यालय दाङले जनाएको छ । बसपार्कका साथै फुटपात क्षेत्रलाई पक्की गर्नका लागि सहरी विकास तथा भवन डिभिजन कार्यालय दाङले लाग्ने दुई करोड ५० लाख रुपैयाको स्टीमेड तयार गरेर कार्यालयले विभागमा पठाएको जनाएको छ ।
सहरी विकास कार्याक्रम अन्तर्गत बसपार्कको ग्राभेल,नाला निर्माण लगाएतका कामहरु भैरहेको भन्दै विभागवाट स्वीकृत हुने वित्तिकै पक्की गर्ने कार्य गरिने सहर विकास तथा डिभिजन कार्यालय दाङले जनाएको छ । यस वर्ष भने बसपार्कको स्तर उन्नतिका लागि यस वर्ष सरकारले ४५ लाख रुपैया बिनियोजन गरेको सहरी विकास तथा भवन डिभिजन कार्यालय दाङका प्रमुख राजेन्द्र पाण्डेले जानकारी दिनुभएको छ । वसपार्क क्षेत्रलाई पक्की गरी व्यवस्थीत गर्नका लागि कार्यालयले दुई करोड ५० लाख रुपैयाको स्टीमेड तयार गरेर विभागमा पठाइसकेकाले स्वीकृत हुने वित्तिकै निर्माणको अघि बढाईने कार्यालय प्रमुख पाण्डेले बताउनुभएको छ ।
गाडिहरु बढ्दै जादा पहिलेको स्थान साघुरो भएको भन्दै सेवार खोलामा बसपार्क सारिएको थियो । पहिलेको स्थानभन्दा ठुलो भएपनि बसपार्क पक्की नहुदा धुलो र खाल्डाखुल्डीका कारण चालकहरुका साथै यात्रुहरुले समेत समस्या भोग्दै आउनुभएको छ । गाडिहरु बसपार्कमा हिडिरहने भएका कारण पानी परेको बेला खाल्डाखुल्डीमा पानी जम्मा भएर समस्या हुने गरेको छ भने पानी नपरेको समयमा धुलो उडेर समस्या गर्ने गरेको छ ।