केशरमान बिसी
साहित्य समाजको वास्तविकता देखाउने दर्पण हो । जसले समाजका उतार चढावहरुलाई रोचक तथा तार्किक शैलीमा आम जनमानसलाई चेतना प्रदान गर्ने गर्दछ । वास्तविक साहित्य सदैव समाज सापेक्ष हुनुपर्दछ । समाजमै बस्ने सर्जकहरुले साहित्य विधाद्वारा समाजका विकृति विसंगतिहरुलाई मुख्य विषयवस्तु बनाएर समाजलाई प्रगतिउन्मुख बनाउने गर्दछन् ।
त्यस्तै एक अथक सर्जक राप्तीको साहित्य आकाशमा उदाएका नवयुवा साहित्यकार तथा जाज्वल्यमान तारा हुन् सविन प्रियाशन । समाजलाई नजिकैबाट बुझ्न सक्ने अवस्था भएदेखि साहित्य सृजनामा लागेर समाजका विसंगतिलाई औंल्याउँदै कलंकित काम गर्न लालायित समाजका काला सर्पहरुलाई औंला ठड्याउँदै पीडितका आवाज बुलन्द पार्न प्रेरित गर्ने नव साहित्यकार प्रियासन भुमरीका साथ आम पाठकसामु उपस्थित भएका छन् यतिखेर ।
कुनैबेला रोदन पछिको… उपन्यास र सपना भित्रको सपना कथासंग्रह ल्याएर समाजका वास्तविक घटनालाई काल्पनिक पात्रहरुमार्फत् सामाजिक चेतनाका सुनौला रश्मीहरु छरेका प्रियासनले पुरस्कारका रुपमा तेश्रोपटक भुमरी सामाजिक उपन्यास लिएर झुल्किएका छन् ।
म यतिखेर भुमरी उपन्यासको समीक्षक नभएर पाठकीय दृष्टिले मेरो मनमा तरंगित भावनालाई शब्दरुपी माला उन्ने प्रयत्नमा छु । यो माला पाठकसामु शोभायमान बन्ला नबन्ला त्यो त पुनः पाठकलाई नै मूल्यांकन गर्नुपर्ला तर म कलमको टुप्पाले प्रियासनको भुमरी खोतल्दै छु यानेकी एउटा पुस्तकको समीक्षक बनेर भुमरीको समीक्षा गर्ने अधिकार मलाई छैन ।
प्रथमतः मलाई प्रियासनको लेखन कार्यका बारेमा केही मन्थन गर्न मन लाग्यो । साथीभाई भन्दा हुरुक्कै हुने प्रियासन साँच्चिकै सबैका प्रिय पात्र बन्न सफल भएका छन् । कोमल, मृदुभाषी र विनोदप्रिय व्यवहार उनका चरित्रगत विशेषता हुन् । मित्रजनप्रति जति नरमछन् प्रियासन त्यो भन्दा बढ्ता गरम छन् उनी सामाजिक विकृतिप्रति यो उनका साहित्यिक कृतिहरुमा जगजाहेर छ । साहित्य सृजनाबाट पत्रकारितातर्फ कलम नपत्याउँदा नवयुवा जसले विभिन्न मिडियामा लेखरचना प्रकाशित गर्ने गर्थे त्यतिबेला देखिनै म उनको पाठक बनेको थिए ।
सानोमा पत्रकारितातर्फ मेरो रहर म त्यतिखेर विभिन्न छापा मिडियामा अमिल्दा शब्दले लेखेका समाचार पकडेर दैनिक धाउँथे । त्यतिनै बेला गाउँघर साप्ताहिकमा प्रियासनसंग मेरो पहिलो भेट भएको थियो । उनलाई याद होला नहोला तर म उनलाई स्मरण गर्दछु उनीनै मेरा पत्रकारिताका गुरु हुन् । यसमा वरिष्ठ पत्रकार नारायण विवश पनि मेरो आदरणीय गुरु हुन् तथापी मैले पत्रकारितातर्फ आफूलाई सिद्धहस्त गर्न त सकेन ।
अहिले प्रियासनलाई साहित्य र पत्रकारिताका क्षेत्रमा सफल सर्जकको रुपमा मैले चिन्दछु । साहित्य सृजनाबाट पत्रकारितामा प्रवेश गरेका प्रियासन अहिले पश्चिम नेपालका चर्चित पत्रकारका रुपमा उभिएको मैले देखेको छु । हाल उनी विभिन्न छापा तथा विद्युतीय मिडियाको प्रमुख पदमा आसिन छन् । यद्यपि उनले साहित्य सृजनाको पाटोलाई चटक्कै छाडेका भने होइनन् । पहिले जति साहित्य सृजनामा जागरुक थिए उनी अहिले त्यति नै सक्रियता पत्रकारिता क्षेत्रमा छ ।
राज्यको चौथो अंगका रुपमा रहेका पत्रकारिता जस्तो गरिमामय स्थानमा रहेर समाज सापेक्ष साहित्य सृजना गर्ने प्रियासन अहिले सफल सञ्चार उद्यमीका रुपमा पनि हामी सामु देखिन्छन् ।
आफै युवा भएर युवावर्गमा उत्पन्न हुने संवेगात्मक विचलन र कुलतीय व्यवहारको दुष्परिणामलाई आफ्नो उपन्यासको मुख्य विषयवस्तु बनाएर निरंकुश शाही शासनकालको कालो पर्दालाई संघीनरुपी कलमले चिर्दै तानाशाही प्रवृत्तिको भण्डाफोर गर्नु प्रियासनको साहित्यिक खुबी हो । एकातिर समाजमा कुलतमा लागेका युवाहरुलाई प्रतिनिधि मूलक पात्र बनाएर युवावर्गमा कुलतिय प्रवृत्तिले पार्न सक्ने गम्भीर नकारात्मक असरलाई छरपष्ट पार्दै किशोर अवस्थाको अन्धोप्रेम र कामुक तथा यौन संवेशले युवा युवतीलाई पार्ने गम्भीर नकारात्मक प्रभावप्रति नजर विचरण गरिएको छ भने अर्कातिर जहाँनिया निरंकुश राणा शासन र त्यसपछिको तानाशाही शाहवंशीय क्रुर तथा निन्दनीय व्यवहारप्रति साहित्यिक व्यंग्यप्रहार उनको भुमरी उपन्यासमा गरिएको छ ।
कुलतमा फसेर समाजमा कलंकित काम गर्न उद्दत यस उपन्यासको प्रमुख पात्र निरजलाई प्रतिनिधि बनाएर अन्धो प्रेम गर्ने किशोरी र नारी जातिको सौन्दर्यता तथा नारीत्वप्रति गिद्देदृष्टि लगाउने यौन पिपाशु तथा शाही सरकारको कालकोठरी रुपी झ्यालखानाको परिचर्चा गर्दै मानवीय अस्तित्व र नारी अस्मिताको बहुमूल्यलाई महत्व दिंदै पीडक वर्गप्रति सचेतनाको घण्टी बजाउन सफल सामाजिक उपन्यासको स्थान ओगट्न सफल भएको छ सामाजिक उपन्यास भुमरी
आत्मिक प्रेमको वास्ता नगरी शारीरिक प्रेमको आनन्द लिन खोज्ने प्रेमिकाले छोडेर गएपछि नशाको सुरमा आफ्नै सहोदर बहिनीलाई बलात्कार गरी आत्महत्या गर्न विवश बनाउने त्यसपछि झ्यालखानाको ग्याँस च्याम्बरमा छटपटाउँदा मात्र आफ्नो गल्तीको समीक्षा गर्ने र पश्चातापमा पिल्सिने कलंकित पात्रको स्थान ओगटेको छ यस उपन्यासका पात्र ‘निरज’ ।
एउटा यस्तो नरअपराधी जो कुलतीय प्रवृत्तिका कारण पशुतुल्य व्यहार गर्न उद्दत भयो उसलाई आफ्नो दानवीय प्रवृतिप्रति घृणित व्यवहार गर्दै जेलरहरुले समेत तुच्छ व्यवहार गरेको घटनालाई उपन्यासमा ल्याउनु र उसले फेरि अर्कै कसैलाई शारीरिक प्रेम गरी पापको पिण्ड बोकाउनु अनि पापको प्रायश्चित गर्न सिन्दुर हालेको प्रपन्च अपनाउनु कुलत तथा नशाकै कारणले उसको मृत्यु भएको घटनालाई लिपिबद्ध गर्नु उपन्यास भित्रका पठनीय कहालीलाग्दा घटनाहरु हुन् ।
यस उपन्यासको प्रमुख पात्र निरज जेलभित्र कुलत सेवन गर्न नपाए पछि उसले आफूले गरेका कुकार्यहरुको आलोचनात्माक समीक्षा गर्दै अस्तलिखित लिपी उतारी जेलभित्रै लोकार्पण गर्न सफल हुनु अन्धो प्रेम र प्रेममा धोका पछिको निरस जीवनमा उत्पन्न नकारात्मक संवेशलाई नियन्त्रण गर्न नसकेका कारणले उत्पन्न भयानक पारिवारिक तथा सामाजिक विचलनलाई देखाउनजु आजभोली कुलतको संघार कुल्चेका नवयुवाका लागि दरिलो खुराक बनेको छ भुमरी
अन्ततः समाजमा घट्ने विभिन्न खालका नकारात्मक घटना र त्यसपछि उत्पन्न हुने विकराल परिस्थितिलाई देखाएर सामाजिक, सचेतना प्रदान गर्ने सफल सामाजिक उपन्यास भएको छ ‘भुमरी’ यस्तै जो जीवन चक्रको नकारात्मक भुमरीमा रुमलिएको छ त्यसलाई सकारात्मकताको माग पहिल्याउने सफल पाठ्य सामग्री बनेको छ भुमरी समग्रमा पठनीय लोकप्रिय सामाजिक उपन्यास बनेको छ प्रियासनको भुमरी ।