धनिराम शर्मा (ऋतुविचार)
एकताका गुमनाम जस्तै बनेको ऐतिहासिक भित्रिकोट दरबार पछिल्लोपटक ग्रामीण पर्यटनको आधार बन्दै गएको छ । ऐतिहासिक र साहसीक पर्यटनको उचित गन्तव्यको संभावना रहेको भित्रिकोट सरकारी संरक्षणमा ध्यान पुग्न थालेपछि क्रमश पर्यटनको आधार क्षेत्र बन्न थालेको हो, भित्रिकोटको पर्यटकीय संभाव्यता र संरक्षणको विषयमा पहल हुन थालेपछि स्थानीय निकाय नगरपालिका, जिविस, पर्यटन बोर्ड र पुरातात्विक विभागको ध्यान पुगेको स्थानीयले बताएका छन् ।
बिसं २०६८ मा प्याराग्लाइडिङको सफल परिक्षणपछि ऐतिहासीक भित्रीकोट दरबार पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने प्रयत्न भएका हुन् । पर्यटन प्रवद्र्धन गर्न थालिएपछि पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् । प्यूठान जिल्लाको सदरमुकामबाट ९ किलोमिटर उत्तरी पश्चिममा अवस्थित भित्रिकोट दरबार क्षेत्र पर्दछ, हाल प्यूठान नगरपालिका ७ नम्बर वडामा पर्दछ । विसं १९९० को भुकम्पले भत्किएको भित्रिकोट दरबार अहिले भग्नावेशमा बदलिएको छ, माटो तोरीको पीना, मासको दाल मिसाएर बनाइएका इट्टाका भग्नावेश दरबार क्षेत्रमा भेटिन्छ, ९० साल भन्दा पहिले दरबार सुरक्षित रहेको भएपनि भूकम्पले ढलेको स्थानीय दालबहादुर थापाले बताए । भूकम्पले भत्क्यो, हातहतियार चोरी हुन थाले, सरकारले वास्ता गरेन उनले भने, शक्तिको पीठ पनि भएकोले आफूहरुले पूजापाठ गर्ने र हतियारहरुको संरक्षण गरेको ८२ वर्षिय थापाले सुनाए, पछिल्लो समय धेरै प्रचार हल्ला खल्ला भो अनि काठमाण्डौबाट मान्छे आएर यहाँ खनखोर्सन नगर्नु भनेर गएका छन् , पर्खाल लगाइएपछि मान्छे आउने गरेका छन् उनले भने ।
भित्रिकोटको संरक्षणका लागि प्यूठान नगरपालिका, जिविस प्यूठान, पर्यटन कार्यालय भैरहवा, सडक डिभिजन कार्यालय प्यूठानले लगानी गरेका छन् । ऐतिहासिक दरबार क्षेत्रको प्रवद्र्धनका लागि सरकारी निकायको ध्यान पुग्न थालेपछि सुधार हुदै गएको प्यूठान नगरपालिकाका कार्यकारी अधिकृत नेबबहादुलु वलीले बताए । उनका अनुसार हालसम्म नगरपालिकाले १२ लाख पर्यटन सडकका लागि खर्च गरेको छ, त्यसै गरि दरबार क्षेत्रका जिर्णाेद्धार, पर्खाल निर्माण इत्यादी गर्न पर्यटन कार्यालय भैरहवाले करिब ३० लाख रुपैया खर्च गरेको तथ्याँक छ ।
तत्कालीन चौबिसे राज्य अन्तरगत पर्ने भित्रिकोटमा चन्दवंशी राजाहरुले राज्य गरको डा. गितु गिरीले लेखेको इतिहासमा उल्लेख छ । तत्कालिन समयमा दामोदर पाण्डेको नेतृत्वमा आएको गोर्खाली फौजले आक्रमण गरेर नेपाल राज्यमा गाभेको थियो । युद्धबाट पराजित भएपछि तत्कालीन चन्द राजाका फौजहरु भित्रीकोट छोडी रोल्पाको क्यूरीमा सुरक्षित ठाउँमा गएको इतिहास पाइन्छ । तत्कालिन चौबिसे राज्य अन्तरगत पर्ने भित्रिकोटमा १४ राजाहरुले राज गरेको डाक्टर गितु गिरीको प्यूठान राज्यको इतिहास नामक पुस्तकमा उल्लेख छ । भित्रिकोटका प्रथम राजा लटराज हुन् भने १४ औ राजा रुद्रप्रताप चन्दराज हुन् । विसं १७६० को ताम्रपत्र अनुसार पृथ्वीपति नवाँे पुस्ताका हुन् उनी अघि ८ राजाहरुले राज गरेको डक्टर गिरीले आफ्नो पुस्तकमा उल्लेख गरेकाछन् । ऐतिहासिक महत्वको क्षेत्र भित्रिकोटमा पूर्वाधारमा केही सुधार भएपछि पर्यटकको रोजाईमा पर्न थालेको छ ।
तत्कालीन समयमा दरबारको सुरक्षाका लागि चारै तिर लगाइएको पर्खाल र झण्डै डेढ सय मीटर लामो सिढी भ¥याङ छ , दरबारको भग्नावेष , भत्कीएका पुराना पर्खाल, दरबारको नजिकै राजाले पानी पिउनका लागि बनाएको पोखरी, चाँदी लेपन गरिएका हातहतियार र अहिले अवेशेषका रुपमा छ । हाल संरक्षित क्षेत्रमा नेपाली सेनाले तत्कालीन हातहतियारको संरक्षण गर्नका लागि सानो भवन निर्माण गरिदिएको छ, संरक्षित घर टहरा बनेपछि हातहतियार सुरक्षित भएको स्थानीयले बताएका छन् ।
भित्रिकोट पुग्न बाग्दुलाहुदै जान कच्ची सडक निर्माण भएको छ, भित्रिकोट दरबार पुग्नु अघि गुरुङ गाँउ रहेको छ,जहाँ गुरुङ सस्कृति र परिकारको मजा लिन सकिन्छ। भित्रिकोटको अवलोकन गर्न पर्यटन आउन थालेपछि गुरुङगाँउमा होमस्टे संचालनमा ल्याउन लागेको स्थानीय रुमबहादुर गुरुङले बताए । गुरुङ समुदायको घाटु नाँच स्थानीय परिकार र नाँचगानको स्वाद लिन पाइने उनले बताए । पाँच घरमा होमस्टे संचालन गर्ने तयारी भैरहेको उनले बताए, भित्रिकोटको ऐतिहासिक महत्वको अध्ययन अवलोकन गर्न तथा मनोरम दृष्यको अवलोकन गरि मनोरन्जन लिन पनि मानिसहरु पुग्ने गरेको गरुुङले बताए ।
ऐतिहासिक र साहासिक पर्यटनको गतिलो गन्तव्य भित्रिकोट पुग्ने जो कोहीलाई आनन्द मिल्ने गर्दछ, पूर्वउत्तरका अग्ला अग्ला हिमशिखर अनि होचा पहाड बेसीमा झिम्रुक नदीको फाँट मनोमरम दृष्यले पाहुनालाई लोभ्याउने गर्दछ । नेपाल एकिकरण पूर्वको ऐतिहासिक कालखण्डसंग जोडिएको भित्रिकोटमा तत्कालीन चन्दवंशी राजाहरुले राज्य गरेका थिए , हालको प्यूठानका १८ गाविस प्यूठान राज्यमा पर्दथ्यो । यसको पछिल्लो ऐतिहासिक पृष्ठभुमि हेर्दा राजा लटराजले १६ हजार घरधुरी भएको प्यूठान राज्यको राज्य संचालन गरेका थिए, अन्तिम राजाको रुपमा वि. स. १८४३ मा दामोदर पाण्डेको कमाण्डको गोर्खाली फौजले विजय हासिल गरि नेपाल राज्यमा गाभेका थिए ।
भित्रीकोटबाट प्यूठानका अधिकांश ठाँउहरुको अवलोकन मात्र होइन पूर्वउत्तरतिर धवलागिरी र पश्चिममा सिस्ने हिमालको अवलोकन गर्न सकिन्छ । ऐतिहासिक साहसीक तथा सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्न सरकारी प्रयत्नहरु जारी छन्, तर प्याराग्लाडीङ संचालन गर्न परिक्षण भैसकेको भएपनि हालसम्म कुनै व्यवसायीले हात हाल्न नहालेको स्थानीय व्यवसायीहरु बताँउछन् ग्रामीण पर्यटन प्रवद्र्धनको लागि पछिल्लो समयमा केही पहल भएपछि भित्रिकोटको परिचय खुल्दै गएको उनीहरुले बताए । ग्रामीण पर्यटनलाई व्यवसायीकरण गर्न सरक्षण र प्याराग्लाइडिङ संचालनको लागि पहल आवस्यक भएको उनीहरुको धारणा छ । भित्रिकोटको चर्चा हुन थालेपछि पाहुनाको रोजाईमा परेको भएपनि कति पर्यटक आए त्यसको कुनै अभिलेखीकरण नभएको उनीहरुले बताए ।
( लेखक नेपाल पर्यटन पत्रकार संघ केन्द्रीय अध्यक्ष हुनुहुन्छ । )