भैरहवा । लुम्बिनीको विकास र प्रवद्र्धनको जिम्मा पाएको लुम्बिनी विकास कोषले अपनत्व नलिँदा लुम्बिनी गुरुयोजनाको काम कछुवा गतिमा भैरहेको सरोकारवालाहरुले बताएकाछन् ।
२५ सय ६१ औं बुद्धजयन्तिको अवसर पारेर नेपाल पत्रकार महासंघ रुपन्देहीले आयोजना गरेको लुम्बिनीको विकासमा राष्ट्रिय चासो विषयक अन्तक्र्रियामा बोल्ने वक्ताहरुले विकाष कोषका पदाधीकारीहरुको एक आपसको तिक्तताले गुरुयोजनाको कामलाई बाधा पारेको आरोप लगाए ।
प्रतिस्पर्धात्मक ढंगलले सक्षम व्याक्ति भन्दा पदाधिकारीहरुको राजनीतिक नियुक्ती हुनु, स्थानीयसँग समन्वय गर्न नसक्दा बेलाबेलामा काममा अवरोध हुँदा ४० वर्ष अघि बनेको लुम्बिनी गुरुयोजनाको काम अझै सम्पन्न हुन नसकेको उनीहरुले बताए ।
यो आर्थिक वर्ष गुरुयोजनाका लागि ६६ करोड रकम बिनियोजित भएको थियो । तर अहिलेसम्म जम्मा ४५ प्रतिशत काम भएको छ । आएको बजेट पनि खर्च गर्न नसक्दा गुरुयोजनाको अवधि झन लम्बिदै गएको छ ।
गुरुयोजनाको बाँकी रहेको २० प्रतिशत काम लुम्बिनी विकास कोषले आगामी ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको कोषका सदस्य सचिव अजितमान तामाङ्गले बताउनुभयो ।
१५ वर्षमा सक्ने गरी सन् १९७८ बाट शुरु गरिएको लुम्बिनी गुरुयोजनाको काम रकम, प्रतिबद्धता र जिम्मेवारीबोधको अभावमा निर्माणले गति लिन नसकेको हो । गुरुयोजनाको काम लम्बिदा लुम्बिनीको विकास र संरक्षणमा समस्या देखिएको कोषका पूर्व सदस्य तथा समाजसेवी ओमकार गौचनले बताउनुभयो ।
लुम्बिनीमा पर्यटकसँगै पर्यटन व्यवसाय प्रवद्धन गर्न बौद्ध सर्किटको तत्काल विकास र व्यवस्थित पर्यटन योजना लागू गर्न आवश्यक रहेको छ । बुद्ध जन्मस्थल लुम्बिनीसँगै आसपासमा वुद्धले २९ वर्ष बिताएको तिलौराकोट, मावली देवदह, अष्टधातु रहेको रामग्राम जस्ता वौद्धदृष्टिले महत्वपूर्ण स्थल छन् । ती वुद्ध स्थलमा जान स्तरीय सडक, सवारी, आवास र भ्रमण प्याकेज छैन । यसले गर्दा लुम्बिनी आउने अधिकांश पर्यटकहरु लुम्बिनीमात्रै घुमेर उसै दिन फर्किने गरेका छन् ।
लुम्बिनीमा पर्यटकसंगै पर्यटन व्यवसाय प्रवद्धन गर्ने हो भने वौद्ध सर्किटको तत्काल विकास र व्यवस्थीत पर्यटन योजना लागू गर्न आवश्यक रहेको पर्यटन व्यवसायी सागर अधिकारीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले लुम्बिनी क्षेत्रको विकासका लागि गुरुयोजना संगसँगै समग्र लुम्बिनी नगरपालिकाको विकास आवस्यक रहेको बताउनुभयो । लुम्बिनीलाई बजारीकरणका रुपमा विकास गर्न भन्दा पनि धार्मिक स्थलका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
नेपालमा एउटामा सांस्कृतिक नगरपालिका लुम्बिनी सास्कृतिक नगरपालिका रहेको अवस्थामा नगरपालिकालाई धार्मिक रुपमा विकास गर्न लुम्बिनी विकास कोषले नगरपालिका तथा स्थानीयसँग समन्वय गर्न आवश्यक रहेको प्रजिअ सिंहले बताउनुभयो ।
कार्यक्रममा अंकुर नेपालका अध्यक्ष गम्भिर गुरुङ, सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपाने, पत्रकार माधव ढुङ्गाना, बालकृष्ण चापागाई, दिपक ज्ञवाली, शेरबहादुर बस्नेत, बनमाली निराकार, अजय कुमार गुप्ता, लक्ष्मी शर्मा, मनिष कुमार जोसी, उमेश चन्द्र रिजाल, विजय पाण्डे लगायतले सुझाब दिएका थिए ।
