इन्द्रेणी संवाददाता
काठमाडौं, २० पुस । केही दिनदेखि तराईका जिल्लाहरुमा चिसो वढ्को छ । चिसोसँगै सितलहर भएपछि त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । काठमाडौंमा बुधबार यो वर्षको सबैभन्दा चिसो दिन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

sitlaharमहाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार काठमाडौंसहित मुलुकभर चिसो बढेको छ । पश्चिम नेपालमा चिसो बढेसँगै जनजीवन कष्टकर बनेको छ । पश्चिम क्षेत्रका कतिपय भूभागमा कुहिरो नहट्दा चिसो बढेको हो । पूर्वी क्षेत्रमा पनि चिसो बढेको छ ।

तराईका सबैजसो भागमा शीतलहरका कारण जनजीवन कष्टकर बनिरहेको छ । तराईका विभिन्न जिल्लामा शीतलहरका कारण शिक्षण संस्थाहरूसमेत बन्द गरिएका छन् । शीतलहरका कारण मृत्युसमेत भएको पाइएको छ । तराईमा अधिकतम तापक्रम घटेको छ भने हिमाल र पहाडमा न्यूनतम तापक्रम घटेको छ । एकदुई दिन मौसम यस्तै रहने महाशाखाले जनाएको छ ।

आकाशमा बादल नहुनु, उत्तर–पश्चिमी वायु वहनु, हिमाली चिसो आउनुले चिसो बढेको मौसमविद् पोखरेलले जनाए । एक सातादेखि चलेको शीतलहरका कारण सप्तरीको जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण तापक्रम घट्दै गएपछि सर्वसाधारणको चहलपहलसमेत घटेको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र बिरामी बढी प्रभावित भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार जिरी, जोमसोम र जुम्लाको तापक्रम माइनसमा झरेको छ । जुम्लामा माइनस ६ दशमलव ४, जोमसोममा माइनस ३ दशमलव २ र जिरीमा माइनस २ दशमलव ७ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ ।

त्यस्तै दीपायलको न्यूनतम तापक्रम १ दशमलव ४, डडेल्धुराको २ दशमलव ५, वीरेन्द्रनगरको २ दशमलव ९, ताप्लेजुङ र कास्की लुम्लेको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्रीसम्म झरेको छ । महाशाखाका अनुसार सिमराको ४, दाङको ४ दशमलव ८, पोखराको ५, भैरहवाको ५ दशमलव २ र ओखलढुंगाको ५ दशमलव ५ डिग्री सेल्सियस तापक्रम रहेको छ । चिसो अझै वढ्न सक्ने मौसम पूर्व अनसमान शाखाले जनाएको छ ।