laxmi-bardeba

लक्ष्मी बर्देवा
मेरो पनि प्रश्न छ, ‘किन मान्छेहरु रंगमञ्चको कामलाई उमेर, बैंस र रुपसँग लगेर दाँज्छन् र सुझाव दिन्छन् ?’ यस्ता सुझावको मेरो जीवनमा कुनै महत्व छैन । म यहाँ कला बेच्न आएकी हुँ , शरीर बेच्न होइन । र, मलाई राम्ररी थाहा छ कि अनुहार चाउरी पर्दैमा मस्तिष्क खुम्चिँदैन ।

नाटक गरेर फर्किंदै थियौँ । रंगमञ्चमा लागेको २ बर्ष मात्रै भएको थियो । त्यसैले टोलीका सबैजसो मभन्दा ‘सिनियर’ नै हुनुहुन्थ्यो । गाडीमा नाटक टोलीकै ‘सिनियर’ दाइ मसँगै पर्नुभयो । त्यसअघि धेरै कुराकानी भएको थिएन । कुराकानी गर्न हच्किन्थेँ पनि । किनकि उहाँलाई निकै सम्मान गर्थें ।

उहाँले मलाई घर, पारिवारिक स्थिति, कामप्रति गर्ने सहयोगबारे सोध्नुभयो । मैले ‘बिए तेस्रो बर्ष सकेर बसेकी छु’ मात्र के भनेको थिएँ, उहाँले मैले नसोचेको कुरा भन्नुभयो ।

‘लौ, पढ्या रै’छ त । के गरिरा’को नाटकमा ? यहाँ केही छैन ।’उहाँको कुरा सुनेर मलाई अचम्म लाग्यो । जसले यस क्षेत्रमा काम गरेर बर्षौं बिताइसक्नुभएको थियो, उहाँले मलाई साहस दिनुको साटो त्यस्तो प्रश्न गर्दै हुनुहन्थ्यो । उहाँले आफ्नो कुरा जारी राख्नुभयो, ‘न पैसा हुन्छ न केही । किन लाग्छौ ? बुद्धि पुग्छ भने छाडिदेऊ ।’

म उहाँको कुराले खङ्रङ्ग त भएकी थिएँ तैपनि जिस्किएझैं भनेँ, ‘पैसै कमाउने हो भने त जागीर खाइहालिन्थ्यो नि दाइ । म नाटककै लागि जन्मिएकी हुँ । नाटक नगरी बस्न सक्दिनँ र यो भन्दा अरु काम पनि आउँदैन ।’मैले यसो भनिरहँदा उहाँको अनुहारमा मेरो कुरा मन नपरेको भाव आइसकेको थियो । उहाँले भन्नुभयो, ‘छोडिदेऊ नानी यस्ता कुरा । मलाई पनि उमेरमा त्यस्तै लागेको हो । खै के भयो त ?’
त्यसपछि प्रश्न गर्ने पालो मेरो थियो, ‘तपाईंले चाहिँ किन नछोड्या त ?’

उहाँले सानका साथ भन्नुभयो, ‘म त अन्त पनि काम गछुँ । यो सोख हो मेरो त ।’
‘तपाईं सोखमा काम गर्नेले त काम पाइरहनु भा’छ भने मैले पनि त पाउँला नि ।’ मैले हाँसी¬–हाँसी जवाफ भनेँ ।
‘उमेर, बैंस हुन्जेल मात्रै हो, पछि थाहा पाउछ्यौ ।’, उनको कुराले मलाई झनक्क रिस उठ्यो । तर मैले उहाँको सोचसँग प्रतिवाद गर्नुको कुनै अर्थ देखिनँ । त्यसैले चुप बसेँ ।

हुन त त्यो उदाहारण थियो । उहाँले भनेको अन्तिम वाक्य मैले धेरै ठाउँमा अरुको मुखबाट पनि सुनेकी छु । उनीहरुको भनाइबाट म के बुझूँ ? रुप, उमेर वा बैंसले मात्रै हो केटी मानिसले काम पाउने ? अझै पनि कति नीच सोच बोकेर पृथ्वीमा बसेका छन् है मान्छे ?
ती दाइले पनि उही वाक्य दोहोर्याउँदा त उहाँलाई रंगकर्मी हो भनेर सोच्न पनि घिन लागेर आयो मलाई । उहाँले ‘यो ठाउँमा केही छैन, काम नगर’ भनेर के अर्थमा भन्न सक्नु भयो, मैले थाहा पाउन सकेकी छैन । जबकि उहाँ आफैं रंगकर्मी हुनुहुन्छ । आफूचाहिँ बस स्टपमा बस कुर्ने, अनि अरु कोही आयो भनेचाहिँ ‘यहाँ बस आउँदैन कुर्नु बेकार हो’ भनेर भनिदिनु कत्तिको जायज होला ?
त्यो दिन मैले उहाँसँग खासै विवाद गर्न जरुरी ठानिनँ । रन्थनिँदै घर पुगेँ । घर पुगेर एकछिन आराम गर्दै थिएँ । ममीको साथी आउनुभयो । उहाँहरु गफ गर्दै हुनुहुन्थ्यो । मलाई उहाँहरुको कुरामा कुनै लगाव थिएन । दिउँसो दाइले भनेको कुराले दिमागमा विचलन ल्याइरहेको थियो । यत्तिकैमा ममीको साथीले मेरो पढाइ सोध्नुभयो ।

‘ब्याचलर सकियो । अब मास्टर्स गर्ने तयारी गर्दैछे,’ ममीले सानको साथ भन्नुभयो ।
‘अनि जागिर नि ?’, अर्को प्रश्नले ममीलाई अन्कनाउने बनाइदियो ।
‘अँ… काम पनि गर्छे ।’, उहाँले अन्कनाउँदै उत्तर दिनुभयो ।
‘केमा ? बैँकमा होे ?’
‘होइन, थिएटर हो ।’
मलाई बोल्न पनि मन लागिरहेको थिएन । ममीले भनिदिँदा ठिकै लाग्यो । तर उहाँको साथीलाई थिएटर भनेको थाहा रहेनछ ।
‘के गर्नपर्छ नि त्यहाँ ?’
‘नाटक गर्छे ।’, ममीको जवाफ ।
‘नाटक…! ए … फिल्म खेल्ने हो ?’
‘अँ, त्यस्तै¬–त्यस्तै,’ ममीलाई थप प्रश्न नआओस् भन्ने लागेको अनुहारबाट प्रष्टै देखिन्थ्यो ।
तर उहाँको साथीको जिज्ञासा मेटिएको थिएन । र, सोधिरहनुभएको थियो, ‘अनि विवाह भैसकेको मान्छे, सुटिङमा कहाँ–कहाँ पुग्नु पर्छ होला ! घर बिग्रिदैन ?’
यो प्रश्नले चाहिँ मेरो पारो ततायो ।
भनें, ‘मेरो काम नै त्यही हो अन्टी । के घर बिग्रनु र ?’
‘त्यही पनि, नानी केटी मान्छे । अहिले पो रुप छ, पैसा छ । काम हुन्छ । भोलिपर्सि बुढेसकाल लाग्छ । उमेर ढल्केपछि काम पनि नपाइएला’, उहाँले व्याख्यान दिन थाल्नुभयो ।
मैले बीचमै भनेँ, ‘अनि के त, पछि काम नपाइएला भनेर अहिलेदेखि नै काम गर्न छोडनु त मैले ?’
उहाँले हाँस्दै भन्नुभयो, ‘हैन काम त गर्नुपर्छ । तर यस्तो काम त के गर्नु र हो ! यसो जागीर खानु नि हो ।’
मलाई अब धेरै संवाद गर्न मन लागेन र भनिदिएँ, ‘हस् ।’
त्यो त म भएको बेलाको कुरा भयो, ममीलाई यस्तो सुझाव दिने र सुनाउनेको कमी छैन । तर मैले भने आफ्नो दृढता डग्मगाउन नदिने कसम आफैँसँग खाएकी छु । मेरो कामलाई कसरी बुझिरहेछन् मान्छेहरु, अझै थाहा पाउन सकेकी छैन । सबैलाई बुझाउँदै हिँड्न पनि सकिँदैन ।
मैले ममीको साथीको कुरामा त मन दुखाउनु पर्ने कारण नै भेटिनँ । किनकि दिउँसो सँगै काम गर्ने दाइको कुराले नै सोचको अवस्था प्रस्ट्याइसकेको थियो ।
त्यो दिनको कुराकानीपछि मलाइ ती दाइसँग पटक्कै कुरा गर्न मन हुँदैनथ्यो । तर एउटै क्षेत्रमा काम गर्ने भएकाले बेला¬–बेला उहाँको दर्शन गर्न बाध्य त हुन्थे नै । एकदिन चिया गफकै क्रममा उहाँ साथीहरुसँग आफैंले गरिरहेको कामको अपमान गर्दै गर्न थाल्नुभयो । मलाई त्यस्ता कुरा पटक्कै परिरहेको थिएँ । लागिरहेको थियो, ‘आफैंले गर्ने कामलाई पनि कसरी अपमान गर्न सकेको होला मान्छेले ?’ अझ उहाँकै कुरामा सही थापेर ‘हो दाइ, पढ्या¬–लेख्या भए त जागीर खाइहालिन्थ्यो नि’ भनेर हाँस्नेहरु देख्दा झनै नरमाइलो लागिरहेको थियो । त्यसै क्रममा फेरि मलाई नै सुझाव आयो, ‘सुन नानी, यो ठाँउमा केही छैन । खै यत्रो बर्ष लागियो । के भयो त ?’
मैले जिस्काएजसरी सोधेँ, ‘भएछ नि दाइ । ९–१० वटा देश नै घुमिसक्नु भएछ ।’
‘घुम्न त घुमियो नि । तर केही नहुने रै’छ ।’
‘आत्मसन्तुष्टि भए भैहाल्यो नि’, मैले सम्झाएजसरी भनेँ ।
‘हुँदैन आत्मसन्तुष्टि पनि । यो सबै भन्ने कुरा मात्रै हो । झन् केटीमान्छेलाई त गाह्रो छ । हेर बहिनी, बालबच्चा भएपछि काम पाइन पनि छोड्छ । अनि न यता न उताको भइन्छ । उमेर छँदै सोच्ने हो के भविष्यको कुरा । यसो बाहिर जान प्रयास गरे पनि भैहाल्यो नि । बूढाबूढी नै पढेलेखेका रै’छौ ।’, लामै सुझाव मलाई पो आयो ।
‘मलाइ विदेश जाने मन छैन । जानै परे पनि आफ्नै कामबाट जाउँला नि दाइ ।’
‘एउटै देश पनि नघुम्ने ? देशविदेश त गर्नुपर्छ नि ।’, दाइको कुरा सुन्दा लागिरहेको थियो कि यिनले मलाई रङ्गमञ्च छुटाउने कसम नै खा’का छन् कि क्या हो ?
उहाँको कुरा रोकिएको थिएन । ‘लौ नानीले बुढेसकालमा दुःख पाउने सुर कसेकी रैछन् । भोलिपर्सि याद आउला हामीले भनेको कुरा । उमेर गएपछि न काम हुन्छ न दाम हुन्छ ।’
उहाँको कुराले मेरो धैर्यताको सीमा नाघ्यो ।
‘कति उमेर हुन्जेल, उमेर हुन्जेल भनिरहनु भा’को दाइ ! मेरो चिन्ता नलिनुस्, आफ्नो काम गर्नुस् ।’ झन्किँदै भनेर त्यहाँबाट निस्किएँ ।
त्यहाँबाट निस्किए पनि यस्ता प्रश्नबाट अझै मुक्ति पाउन सकेको भने छैन । न मैले बुझाउन सकेकी छु, न कसैले मलाई बुझाउन नै । मेरो पनि प्रश्न छ, ‘किन मान्छेहरु रंगमञ्चको कामलाई उमेर, बंैस र रुपसँग लगेर दाँज्छन् र सुझाव दिन्छन् ?’ यस्ता सुझावको मेरो जीवनमा कुनै महत्व छैन । म यहाँ कला बेच्न आएकी हँु, शरीर बेच्न होइन । र, मलाई राम्ररी थाहा छ कि अनुहार चाउरी पर्दैमा मस्तिष्क खुम्चिँदैन ।

रातो पाटीबाट