डा. शेरबहादुर पुन 

होलीमा रमाइलो गरेर रंग, अबिर खेल्दा यसबाट स्वास्थमा पर्न सक्ने नकारात्मक प्रभाव बारेमा धेरैलाई थाहा नहुन सक्छ । यसबाट खासगरी छाला तथा आँखामा प्रत्यक्ष असर पर्ने गरेपनि शरीरका अरु अंगहरुमा पनि उत्तिकै नकारात्मक प्रभाव पर्ने गर्छ । खासगरी रंग बनाउँदा प्रयोग हुने विभिन्न रसायनले गर्दा स्वास्थ्यमा असर पुर्‍याउँछ ।

छाला
रंगको प्रत्यक्ष असर छालालाई पर्ने गर्छ । एलर्जी, चिलाउने, इरिटेसन हुने, सुन्निने जस्ता समस्या हुने बढि सम्भावना हुन्छ । सुख्खा छालामा त अझ रंग छिटो सोसिने गर्छ । निलो रंगको लागि प्रयोग हुने रसायनले छालालाई बढी प्रभाव पार्ने गरेको छ । त्यस्तै कालो र पर्पल रंगमा प्रयोग हुने रंगले पनि छालालाई असर गर्छ । रातो रंगले क्यान्सरसम्म गराउन सक्ने भएकाले सचेत हुनु बुद्धिमानी हुन्छ ।

आँखा
रंग खेल्दा प्रत्यक्ष रुपमा प्रभावित हुने शरीरको अर्को महत्वपूर्ण अंग आँखा हो । रंगले गर्दा आँखा रातो हुने, चिलाउने, सुन्निने, आँखा कमजोर हुने तथा अस्थाई वा दीर्घकालिन रुपमा अन्धो हुने सम्भावना हुन्छ । होलीमा प्रयोग हुने हरियो र रातो रंगले खासगरी आँखालाई बढी प्रभाव पर्ने गर्छ ।

फोक्सो
रंगको धुलो हाम्रो फोक्सोसम्म सहजै पुग्छ । पर्पल रंग बनाउन प्रयोग हुने रसायनले खासगरी स्वासप्रश्वासमा अवरोध ल्याउन सक्छ । त्यस्तै रंग बनाउन प्रयोग हुने अरु रसायनले क्यान्सर गराउने, कलेजो, हड्डी, मिर्गौला जस्ता अंगलाई पनि दीर्घकालीन असर पर्न सक्छ । हाल देखिएको स्वाईनफ्लु, सक्रिय क्षयरोगका किटाणु लगायत हावाबाट सर्न सक्ने विभिन्न रोगहरु पनि सहजै सर्न सक्छ । नजिक बसेर होली खेलिने हुँदा रोग सर्ने सम्भावना बढि हुन्छ ।

बजारमा यस्ता रंगहरु खुलमखुला बिक्री हुने गरेका छन् । रंगहरुबाट हुनसक्ने स्वास्थ्य जटिलता कम गर्न हर्बलबाट बनेको वा उत्पादकले निर्देशन गरे अनुसार प्रयोग गर्नु राम्रो हुन्छ । होली खेल्दै गर्दा आँखा वा छालामा कुनै असहजता महसुस भए तुरुन्त स्वास्थ्यकर्मीको सरसल्लाह लिनुपर्छ ।
(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत हुनुहुन्छ)

उज्यालो अनलाइनबाट