काठमाडौँ, २२ फागुन । संविधान संशोधन र स्थानीय चुनावलाई लिएर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच केही दूरी बढे पनि सहमति हुने सम्भावना अझै टरेको छैन । सरकारले संविधान संशोधन गर्ला भन्ने आशामा मधेशी मोर्चा अझै बसेको देखिन्छ ।
त्यस्तो सम्भावना माओवादी केन्द्रले देखाएको छ ।
माओवादी केन्द्रको शनिबार बसेको हेडक्वाटर बैठकले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको सन्दर्भमा संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गराई निर्वाचनको सहज वातावरण बनाउन प्रमुख प्रतिपक्षी दल एमाले, मधेशी मोर्चा, राप्रपा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक लगायतका दलसँग संवाद जारी राख्ने निर्णय गरेको छ ।
सरकारको नेतृत्वसमेत गरेको माओवादी केन्द्रको यस्तो निर्णयले दलहरूबीचमा सहमति हुने आशा जगाएको हो । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले चुनाव अगावै संशोधन विधेयक पारित गराउन सरकारले पहल गर्नुपर्छ र त्यसका लागि राप्रपा, एमाले, फोरम लोकतान्त्रिकलगायतका दलसँग छलफल गर्ने निर्णय भएको जानकारी गराउनुभयो । चुनाव अगावै दलहरूबीचमा गम्भीर छलफल भयो भने सहमति हुनेमा आफू आशावादी रहको पनि उहाँले बताउनुभयो ।
यता सरकार पनि एकपटक मधेशी मोर्चासँग निर्णायक वार्ता गर्ने पक्षमा रहेको छ । मधेशी मोर्चासँग सहमतिका लागि नै सरकारले पटक पटक संसद् बैठक स्थगित गर्दै आएको छ भने मधेशी मोर्चाले पनि तत्कालै कुनै आन्दोलनको कार्यक्रम घोषणा गरिएको छैन । मधेशी मोर्चासँग सहमति हुने सम्भावनालाई लिएर फागुन २७ गतेसम्मका लागि संसद् स्थगित गरिएको छ भने मोर्चा पनि होलीसम्म सरकारलाई कुरेर बस्ने भएको छ ।
फागुन १८ गते सरकार र मधेशी मोर्चाबीच वार्ता हुँदा सत्तारूढ दल माओवादी केन्द्र र काँग्रेसले संविधान संशोधन विधेयक पारित गराउने प्रतिबद्धता जनाएको थियो तर मधेशी मोर्चालाई चुनावका लागि तयार हुन आग्रह पनि गरेको थियो ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले शनिबार आयोजित एक कार्यक्रममा भन्नुभयो, “हामी अझै कुरेर बसेका छौँ, सरकारले संविधान संशोधन विधेयक संशोधनसहित पारित गराउँछ भनेर तर संविधान संशोधन भएन भने मधेशी मोर्चाको बैठक बसेर आगामी दिनको रणनीति बनाउँनेछौँ । ” फागुन १८ गते बसेका बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दल एमालेसँग छलफल गरेर मोर्चाका नेताहरूसँग एकपटक पुनः छलफल गर्ने भन्नुभएको थियो । मोर्चाका एक नेताले भन्नुभयो, “प्रचण्डजीले वार्ताका लागि बोलाउँछु भन्नुभएको छ, हेरौँ कहिले बोलाउनुहुन्छ ”
बालुवाटार बैठकपछि मधेशी मोर्चाका नेताहरू निस्किँदा प्रधानमन्त्री प्रचण्डले भन्नुभएको थियो, “यो बैठक अन्तिम होइन, बैठक जारी छ, तपाईंहरूलाई चाँडै वार्ताका लागि बोलाउँछौँ । ”
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशी मोर्चाले फागुन २६ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको र त्यसयता केही होला जस्तो नलागेको बताउनुभयो । उहाँले भन्नुभयो, “मोर्चाको बैठक बसेको छैन, बसेपछि मात्र केही निर्णय लिन सकिन्छ, अहिले केही भन्ने अवस्था छैन । ” फागुन १९ गते सद्भावना पार्टीको आकस्मिक बैठक बसेको थियो ।
प्रधानमन्त्री प्रचण्डले वार्ताका लागि बोलाउँछु भन्नुभएको कुरा बैठकमा चर्चा भएको थियो । पार्टीका अध्यक्ष राजेन्द्र महतोले सत्तारूढ दलका नेताहरूको कुरा सुन्दा अब संविधान संशोधन हुँदैन जस्तो लागेको छ तर प्रधानमन्त्री प्रचण्डले अझै वार्ता गर्ने भन्नुभएको छ हेरौँ के हुन्छ भन्नुभएको बैठकमा सहभागी एक नेताले गोरखापत्रलाई बताउनुभयो ।
सोही दिन तराई मधेश लोकतान्त्रिक पार्टीको बैठक पनि बसेको थियो । बैठकमा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले वार्ताको सम्भावनामाथि छलफल गर्नुभएको थियो ।
सो पार्टीका सहमहामन्त्री राकेश मिश्रले वार्ताको सम्भावना टरिसकेको छैन, पार्टीका अध्यक्ष ठाकुरले पनि सरकार अझै वार्ता गर्न तयार रहेको कुरा बैठकमा राख्नुभएको जानकारी गराउनुभयो ।
यद्यपि अध्यक्ष ठाकुरले विधेयक पारित हुने सम्भावना कम भएकाले नेता तथा कार्यकर्ताहरू काठमाडौँ छाडेर मधेश जानुपर्ने निर्देशन दिएको बताउनुभयो । यदि सरकारले वार्ताका लागि बोलायो भने एक÷दुई जना मात्र काठमाडौँमा बस्ने अरू सबै मधेश जानुपर्ने भन्नुभएको नेता मिश्रले बताउनुभयो । गोरखापत्रबाट
