bhupen-g
भुपेन

सम्झिन सकिने सम्झना छैनन् मसँग, जो म तपार्इंबारे लेख्न सकूँ ।
मध्यरातको यो मौन समयमा आज तपाईंसँग कुरा गर्न गइरहेको छु । केही समयअघि मात्र म झल्याँस्स निद्राबाट ब्युँझिएँ । निकै डरलाग्दो सपनाबाट सम्हालिएर म ब्युँझिएको थिएँ । त्यसपछि जति प्रयास गर्दा पनि निदाउन सकेको छैन ।

एकान्त रातमा ब्युँझिदिनु निकै कष्टकर भइदिन्छ मलाई । यसरी ब्युँझिएपछि सधैँझैँ भर्खर छतमा पुगेर आकाशमा मौन भई सजिएको चन्द्रमालाई हेर्ने गर्छु ९जुन नभए त्यो कष्ट झनै थपिन्थ्यो० । त्यही समय सिरसिर आएको चिसो बतासको एक झोक्का मलाई मीठो स्पर्शको स्पर्श गरेर बेपत्ता भयो ।

स्पर्श रु शब्द जतिकै मीठो अनुभूति छ स्पर्शमा । किसानले आफ्नो बारीमा पाउने माटोको स्पर्श । संगीतकारले आफ्नो संगीतमा पाउने स्पर्श । लेखकले आफ्ना लेखनीमा पाउने शब्दहरूको स्पर्श । निकै आनन्ददायी हुने गर्छ ।

एउटी आमाले आफ्नो बच्चाको तोतेबोलीमा पाउने स्पर्श । यसैयसै यी स्पर्शको सञ्जालबारे सोच्दै गर्दा मैले तपाईंको स्पर्शलाई जबरदस्ती सम्झन खोजिरहेको छु । तर, पाइला मेटाउँदै हिँडेको मेरो जिन्दगीको अतीतमा ती सम्झनाका डोबलाई जति खोतल्न खोजे पनि म असफल भइदिन्छु । त्यति मात्र नभई खासमा मैले धेरै कुरा बिर्सिसकेको छु । जस्तै तपाईंको हातको खाना, बिरामी पर्दाको तपार्इंको न्यानो स्नेह, बाबाको खप्की खाँदा आमाले देखाउने आत्मीयता, दसैँमा तपाईंले टीका लगाइदिँदा चम्किएको मेरो निधार ‘ । तर, मलाई लाग्छ तपार्इंले अझै पनि नौ महिना पेटमा मलाई राख्दाको स्पर्श बिर्सनुभएको छैन होला । र, तिनै स्पर्शको सहारामा आज म जतिसुकै निष्ठुरी भए पनि तपाईं बाँच्न सक्नुभएको छ ।

‘तपार्इंलाई आफ्नो जिन्दगी कस्तो लाग्छ रु’
किन सोधेको थियो त्यो चिकित्सकले त्यस्तो प्रश्न रु शारीरिक र मानसिक उपचारसँग सम्बन्धित कैयन् प्रश्न सुनेको छु मैले । तर, यो त हृदयसँग सम्बन्धित प्रश्न थियो । निकै ठूला दार्शनिकबाट पनि जवाफ पाउन गाह्रो लाग्ने यस्तो प्रश्नले तपाईंलाई मौन बनाइदिनु स्वाभाविक थियो । साँच्चै आमा, त्यो जवाफ दिन लायकको प्रश्न नै थिएन ।
तर, तपाईंका मौन आँसुका एक–एक ढिक्काले त्यो समय मलाई निरन्तर जवाफ दिइरहे । भित्रभित्रै कतै मनको कुना–कुना आराले ताछ्न थाल्यो भने । हथौडाजस्तै कुनै कठोर वस्तुको प्रहारले अहंकार नामक मभित्रको पर्खाल भत्किन थाल्यो ।
आमा १ हर्मन हेस्सेको पात्र सिद्धार्थले जीवनको अनन्तकालमा बगिरहेको नदीमा जीवनका कैयन् रूपरेखा भेटाउँछ । मैले तपार्इंका ती प्रत्येक आँसुका ढिक्कामा आफ्नो आधुनिक जीवनको तपतपाइलो मरुभूमि पाएको छु ।

तपाईं यो भ्रमबाट मुक्त हुनुहोला कि म ठूलो मानिस हुँ, या त भविष्यमा हुनेछु । खासमा ठूलो मानिस हुने इच्छाशक्ति मबाट हराएको छ । ठूलो मानिस हुनका लागि चढ्नुपर्ने भर्‍याङ निकै खिया लागेको पाउँछु । बाबाको सपनाजस्तै शिक्षक, हाम्रो समाजले अपेक्षा गर्ने डाक्टर–इन्जिनियर । म केही हुनेछैन ।

खासमा तपाईंलाई मेरो दैनिकी सुनाऊँ । तपाईं हाँस्नुहोला । जस्तै बिहान सूर्यका किरणसँगै म बालकजस्तो भइदिन्छु । बताससँग कुरा गर्नु, हावा चल्दा एक्लै नाच्नु । सुनसान रातमा घरबाहिर घुम्न निस्कनु र प्रतिस्पर्धाको दुनियाँबाट म टाढा छु भन्ने कुरामा आफैँलाई विश्वस्त पार्नु ।

मलाई भिड मनपर्छ तर भिड्न मन पर्दैन । भिडसँगै हिँडन पनि चाहन्छु तर मिसिन चाहन्नँ । एकान्त मजस्ता मनमौजीका लागि सर्वाधिक प्रिय स्थान हो । तर, परिस्थितिका मौन हल्लाले मलाई त्यहाँ पनि अल्झिरहन दिँदैन । जीवनको एउटा यस्तो कालखण्ड, जहाँ कैयन् सपना बुनिन्छन् । ती सपना पूरा गर्न एउटा लामो रेसका लागि आफ्ना मस्तिष्कलाई तयार पारिन्छ । यस्तो उमेरमा मचाहिँ थाके जस्तो भएको छु । त्यो आकांक्षा बिसाएको छु जिन्दगीकोे, यो मौन चौतारीमा । केही मान्छे आइपुग्छन् थकाइ मेट्न । थकाइ मेटी दौडिन्छन् र ओझेल पर्छन् । हो म समय–समयमा ती मान्छेलाई टोलाएर बिदा गर्ने गर्छु । फरक यति हो । समय चुपचाप बिदा भएर जान्छ, समयका उत्पादन मान्छे हृदय हल्लाएर जान्छन् । साँच्चै समय निर्जीव हो या सजीव रु

कहिलेकाहीँ लाग्दोरहेछ जीवन बाध्यताहरूको संग्रह हो ।
रहर त फगत बाध्यता छोप्न आइपुग्ने समयका नमीठा प्रतीक रहेछन् । समयको कुनै मोडमा रहर बनी तिर्खाएको सपना समयसँगै बाध्यता भइदिँदो रहेछ निभाउनका लागि । यद्यपि यी बाध्यताबाट फुत्किएर हामी पुनः अर्को बाध्यतालाई रहर ठानिदिँदा रहेछौँ । र, त्यो रहरको पर्दा च्यातिएर पोखिँदो रहेछ फगत हाँसोहरूमा, फगत आँसुहरूमा ।

तपाईंसँग एउटा कुरा सेयर गर्न मन लाग्यो । सम्बन्धको आवरण स्वरूपमा हैन, भावनामा हुँदो रहेछ । जस्तै कि मैले तपार्इंको स्वरूप कैयन् मान्छेसँग साटिने भावनामा देखेको छु । सजिलो गरी भनूँ त मैले कुनै सम्बन्धमा आमा भेट्टाएको छु । बा भेट्टाएको छु । तर, समयले जोडिदिएका यी सजीव सम्बन्धलाई समयले नै निर्जीव बनाइदिँदो रहेछ सदाका लागि ।

के उसो भए म जीवनप्रति निराश भइसकेँ रु
त्यसो त पक्कै पनि हैन । फरक यति हो । अपेक्षाहरूको गठबन्धनबाट बिस्तारै टाढा हुँदै छु । अपेक्षाहरूबाट जोगिन सके आफ्नो संसारको आकार पनि फराकिलो हुँदै जाँदो रहेछ । उज्यालोको सुखै नभए अँध्यारोले पनि दुःख नदिँदो रहेछ । फूललाई कोमल देख्न छाडिदिए काँडाले नि नघोच्दो रहेछ ।
के उसो भए म पागल भइसकेँ रु
बस यति हो कहिलेकाहीँ पागल शब्द प्रिय लाग्छ ।
मैले पागलहरूलाई नै देखेको छु निष्फिक्री हाँस्न सकेको । रुन सकेको । विनाकुनै अपेक्षा यात्रारत रहन सकेको । र स्वान्तसुखायको बाटोमा जिन्दगी डोर्‍याउन सकेको । हैन भने सद्दे समाज त सुखको आश गरी अल्झिएको छ, आफैँले निर्माण गरेका बन्धनमा । शब्दहरूको । भावनाहरूको । अपेक्षाहरूको । धर्महरूको । अदृश्य भगवान्हरूको । र अल्झिँदा–अल्झिँदै बिर्सिसकेको छ कि सर्वप्रथम त म मान्छे पो हुँ । र यो संसारमा मजस्तै गरी बाँच्न मन पराउने अर्को मान्छे नि छ।
बिहान हुने वेला भयो ।
तर खै किन–किन रात नै प्रिय लाग्छ । रातमा मानिसले आफ्नो अस्तित्व भेटाउँदो रहेछ । र, केलाउन सक्दो रहेछ । आफ्नो जीवनका बाङ्गाटिङ्गा धर्साहरू । सुखदुःखका छापहरू सुमसुम्याउने समय पनि रात नै रहेछ । हिजोआज आनन्द छ । जवाफ दिनुपर्दैन कसैलाई रातिमा निद्रा कस्तो पर्‍यो भनेर । दिन कसरी बित्यो भनेर । आखिर जीवन बिताउने कुरा न रहेछ । अन्त्यमा उपेन्द्र सुब्बाको कविताको एउटा अंश राख्दै कुराकानीलाई बिट मार्छु –‘जित्ने उत्साह हराएपछि हार्न त झन् सजिलो पो रहेछ ।’ नयाँ पत्रिकाबाट साभार