garvapatan

दिपक बोहरा ,   दाङ २२ पुस ।  दाङमा उमेर नपुगेका धेरैले गर्भपतन गराउने गरेको पाइएको छ ।

जिल्लामा गर्भपतन गर्नेहरुको तथ्याकमा उमेर नपुगेका किशोरीहरुको डरलाग्दो तथ्याङक देखिएको छ ।

२० बर्ष भन्दा कम उमेरका  किशोरिहरुले बढि बर्गपतन गराएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङको तथ्याङ्कमा छ । २० बर्ष भन्दा कम उमेरले गर्वपतन गराउनु भनेको स्वास्थ्यका दृष्टिले खतरनाक रहेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोखरेले बताए । ‘२० बर्ष भन्दा कम उमेरमा गर्भपतन गराउनेहरुको संख्या कहालि लाग्दो छ ।’

उनले भन सानै उमेरमा बिबाह गर्नु  तथा प्रेमीप्रमीका बिच हुने अबैद्य सम्पर्कले गर्दा गर्भपतनमा यो अवस्था देखिएको हो । सानै उमेरमा गर्भपतन गर्दा  शारिरीक रुपमा कम्जोर हुने , भबिष्यमा बच्चा नरहने जस्ता समस्या पनि देखिने प्रमुख पोख्रेलले बताए ।  यो तथ्याङ्कले समाज कता जादैंछ भन्ने प्रश्न उब्जाईदिएको उनको तर्क छ ।

योे उमेर भनेको प्लस टु पढ्ने उमेर हो । हुन त नेपालमा १५ बर्ष अघि गर्भपतनले कानुनी मान्यता पाएको थियो । त्यो बेलादेखि नै नेपालमा गर्भपतन गर्नेको सङ्ख्या उकालो लाग्दै गईरहेको देखिएको छ । त्यही अनुपातमा दाङमा पनि गर्भपतन गराउनेको संख्या बढिरहेको जिल्ला जनस्वास्थ्य कार्याल दाङले जनाएको छ ।  बढ्दै गईरहेको समाजको आधुनिकता, घरपरिवारको बेवास्ता, प्रमीप्रेमीका बिच हुने अबैद्य सम्पर्कका कारण नचाहँदा नचाहँदै किशोरीहरुले गर्भ बोक्ने र पछि त्यसलाई पतन गराउने गरेका छन ।

२०५८ सालसम्म नेपालमा गर्भपतनलाई अपराधका रुपमा मानिन्थ्यो । यसमा संलग्नलाई कडा कारवाही गर्ने कानुनी व्यवस्था थियो । तर बलात्कार जस्तो घटनाले समाजमा धेरै समस्या ल्याएपछि गर्भपतनलाई मान्यता दिईयो । महिला अधिकारकर्मीहरुले समेत यसलाई कानुनी मान्यता दिनुपर्ने आवाज उठाए ।

 आर्थिक बर्ष २०७१/०७२ मा दुई हजार सात सय ५५ जनाले गर्भपतन गराएकोमा २० वर्ष मुनिका एक हजार तीन ३८ जना र २० वर्ष माथीका १ हजार ५ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका तथ्याङक अधिकृत मदन पोखरेलले जानकारी दिए । उनले दिएको जानकारी अुनसार आर्थिक वर्ष २०७२/७३ मा दुई हजार तीन सय ४४ जनाले गर्भपतन गराएकोमा २० वर्ष भन्दा कम उमेरका एक हजार ६ सय २९ र २० वर्ष माथीका १ हजार तीन सय ९२ जना रहेका छन्  । त्यस्तै  आर्थिक बर्षको पहिलो चौमासिक सम्म पाँच सय ९१ जनाले गर्भपतन गराएकोमा  २० वर्ष भन्दा कम उमेरका चार सय १५ र २० वर्ष माथीका १ सय ७६ जना रहेका छन् ।

यो तथ्याङ्क बैद्यानिक रुपमा गर्भपतन गराउने महिलाहरुको हो, तर अबैद्यानिक रुपमा गर्भपतन गराउने महिलाहरुको एकिन छैन् ।  गर्भपतन गराउन औषधि खुवाएर वा अपरेशन मार्फत गर्ने गरिएको चिकित्सकहरु बताउछन् । जसमध्ये ९ हप्तासम्मको औषधीले काम गर्ने भएपनि त्यसपछि अपरेशन मार्फत गर्भपतन गर्नुपर्ने हुन्छ । नेपालको कानुनले अहिले १२ हप्तासम्मको गर्भपतन गराउन छुट दिएको छ ।

यदि कुनै कारण भए चिकित्सकको सल्लाह अनुसार १८ हप्तासम्मको गर्भलाई पनि पतन गराउन पाइने कानुनी मान्यता छ । हाडनाता करणी तथा आमाको स्वास्थ्यमा गम्भीर असर पर्ने भएमा अन्य जुनसुकै अवस्थामा पनि गर्भपतन गराउन सकिने कानुन छ । यसबाहेक जोखिमपूर्ण अवस्थामा ९ हप्तासम्म पनि गर्भ रहेको थाहा नभएमा वा कुनै कारणवश ९ हप्तापछि पनि बच्चा जन्माउन नचाहेमा अपरेसन गरेर गर्भपतन गराउन सकिन्छ ।

 त्यो बाहेक अहिले पनि अनुमति नै नपाएका धेरै स्वास्थ्य संस्थामा गर्भपतन गराउने गरेको बताईन्छ । अनिच्छामा रहेको गर्भपतन गराउनु नराम्रो होईन तर पछिल्ला दिन अविवाहित, विवाहित र त्यसमा पनि २० बर्ष भन्दा सानो उमेरका किशोरीको सङख्या अस्वाभाविक बढ्नु राम्रोे नभएको स्वास्थ्यबिदहरुको भनाई छ ।

 बाध्यात्मक अवस्थामा गर्नै पर्ने भएपनि महिला स्वास्थ्यका दृष्टिकोणले गर्भपतन राम्रो होईन जसले महिला स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । महिला पुरुष तथा किशोर किशोरीहरुले यौन सम्पर्कका बेला अस्थायी साधन प्रयोग गर्ने बारेमा त्यति ध्यान नदिएका कारण पनि गर्भपतनको संख्या बढिरहेको चिकित्सकहरुको भनाई छ ।

महिलाले पटक–पटक गर्भपतन गराउँदा महिलाहरुमा गम्भीर असर पर्ने जनस्वास्थ्य कार्यालय दाङका प्रमुख पोख्रेलले बताए ।  गर्भ बसेको थाहा भए लगत्तै एक÷दुई महिनामै गर्भ पतन गराएमा कम जोखिम भए पनि आठ हप्तापछि गरिने गर्भपतनले महिलालाई गम्भीर असर गर्ने पोखरेलको भनाई छ ।

 नौ हप्तापछि औजार प्रयोग गरेर गर्भपतन गराउनुपर्ने भएकाले महिलाको पाठेघरमा घाउ हुने, भरुणका टुक्रा बाँकी बसे त्यसले इन्फेक्सन निम्त्याउने आदि समस्या हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । गर्भपतनपछि नियमित रजस्वाला नहुने र गर्भपतन लगत्तै तीनमहिने सुई लगाउने वा अन्य औषधि खानुपर्ने हुन्छ । जब कि पहिलो सन्तान अगावै संगिनी सुई लगाउनाले महिलाको डिम्ब निष्कासनलाई पूर्णत रोकिदिन सक्छ, जसकारण भविष्यमा गर्भ नै नरहन पनि सक्छ ।

त्यस्तै नियमित गर्भपतन गराउने हो भने पाठेघरमा बच्चा नबस्ने, बच्चा खेर जाने, गर्भवति आमाको शरिरबाट रक्त अल्पता हुन सक्ने, सामाजिक र मानसिक रुपमा असर पर्ने सक्ने  प्रमुख पोखरेलले बताए । गर्भपतनपछि प्रयोग गर्ने औषधि र शारीरिक अवस्थाका कारण महिलाको तौल बढ्न सक्ने पाखरेलको भनाई छ ।

यसरी महिला स्वास्थ्यको दृष्टिकोणले गर्भपतन राम्रो हुँदै होइन । यद्यपि सामाजिक, आर्थिक र मनोवैज्ञानिक कारणबाट यो खराब नै छ भन्नेचाहिँ होइन । तर, जुन रूपमा जसरी दाङमा गर्भपतनको संख्या बढिरहेको छ, त्यसले महिला स्वास्थ्यका बारेमा सोच्नैपर्ने बनाएको सरोकारवालाले बताएका छन् ।