साहित्यकार, पत्रकार एवं चलचित्रकर्मीको रुपमा स्थापित केएल पीडित पछिल्लो समय कमलरी कथामा चलचित्र लावाजुनीको निर्माणमा जुट्नु भएको छ । गीतसंगीत, नाटक हुदै चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएका पीडितसंग लावा जुनीबारे कुराकानी यहाँ प्रस्तुत गरिएको छ – सम्पादक
कहाँ पुग्यो लावाजुनी ?
निर्मांणकै क्रममा छ ।
सुटिङ कहिलेदेखि हो नि ?
माघ २२ देखि ।
लावाजुनीको चर्चा त पोहरदेखि होइन र ? किन ढिला भयो ?
लावाजुनीको शुरुवात पोहरबाट भएको हो । पोहर केही काम भयो । तर नाकाबन्दी र केही कारणले छायांंकन शुरु हुन सकेको थिएन । यो वर्ष पूरा गर्दैछौं ।
लावाजुनी कस्तो चलचित्र हो ?
यो एक सामाजिक चलचित्र हो । यो कमलरीहरुको कथा व्यथा हो । यसमा पूर्व कमलरीहरुले भोगेको शोषण उत्पीडन, मुक्तिका लागि उनीहरुले गरेको संघर्ष र मुक्ति पछि उनीहरुले बाँचेको नयाँ जीवनको चित्रण गरिनेछ ।
चलचित्रमा मूल सन्देश के छ ?
यसले छोरीहरुको शिक्षा, स्वतन्त्रता र समानताको पक्षमा वकालत गरेको छ । शिक्षा र अवसर पाएमा छोरीहरुले पनि समाजको नेतृत्व गर्न सक्छन् भन्ने चलचित्र लावाजुनीको मूल सन्देश हो ।
कलाकार को को छन् नि ?
लावाजुनीमा लगभग सबै नयाँ कलाकारहरु छन् । नाम लिनु पर्दा, प्रकाश शाही, ज्वाला खतिवडा, डा. लोकराज पराजुली, लक्ष्मीमान चौधरी, अनिता महतारा, गौरब भट्ट, वर्षा लम्साल, सुप्रिया देवकोटा, विक्रम यादव, लक्ष्मी चौधरी, प्रेम कुमारी चौधरी, अनिता चौधरी, नारायणी चौधरी, सुन्तली चौधरी लगायत छन् । स्थानीय कलाकारहरुलाई अवसर दिएका छौं । यसमा केही पूर्व कमलरीहरुको पनि विशेष भूमिका रहनेछ ।
नया कलाकारहरुसंग काम गर्न त गाह्रो पो होला त ?
अवश्य गाह्रो हुनेछ । मैले यो चुनौती स्वीकार गरेको छु । यसका लागि केही पूर्व तयारीहरु पनि भइरहेको छ । नयाँ भए पनि यसमा अनुबन्धित सबै कलाकारहरु अत्यन्त प्रतिभाशाली छन् । उनीहरुले राम्रो काम गर्नेमा म विश्वस्त छु ।
चलचित्रको बजेट कति छ नि ?
५०/६० लाखको प्रारम्भिक बजेट अनुमान गरेका छौं । काम गर्दै जाँदा बजेट बढ्न सक्छ ।
चलचित्रमा संगीत कसको छ ?
संतोष श्रेष्ठको ।
लावाजुनी कहिलेसम्म तयार भइसक्छ ?
बैसाखसम्म चलचित्र तयार गरिसक्छौं । शुरुमा देश÷विदेशमा विशेष प्रदर्शन गर्ने सोंच छ । हलहरुमा भने आउँदो वर्षको माघदेखि प्रदर्शनमा ल्याउनेछौं ।
तपाईं एकाएक कसरी चलचित्र क्षेत्रमा आउनु भयो ?
म चलचित्र क्षेत्रमा एकाएक आएको होइन । किशोर अवस्थादेखि नै म कलाक्षेत्रमा छु । गीतसंगीत, नृत्य, ओपेरा, नाटक हुँदै म चलचित्र क्षेत्रमा आएको हुँ ।
तपाईंको नजरमा चलचित्र के हो ?
चलचित्र भनेको कला, विचार र प्रविधिको संयोजन हो । चलचित्र एक वौद्धिक एवं सिर्जनात्मक कार्य हो । शिक्षा, सूचना र मनोरञ्जन दिने सर्वाधिक प्रभावकारी माध्यम हो चलचित्र ।
भावी योजना ?
अहिलेसम्म त लावाजुनी नै हो । पछि सोचौंला ।