padmodaya-public-namuna-higer-secondary

नारायण भण्डारी/ घोराही १० पुस ।  पद्यमोदय पव्लीक नमुना उच्च माविमा विद्यालयको ब्यवस्थापन समिति गठनमा विवाद उत्पन्न भएको छ । दाङ घोराहीको उक्त बिद्यालयमा शनिबार भएको अभिभावक भेलामा नयाँ समिति गठन गर्ने बिषयमा बिवाद हुँदा हात हालाहालको स्थिति शिर्जना भएको छ ।  अभिभावकले छनोट गर्नुपर्ने ब्यवस्थापन समितिका चारजना पदाधिकारीमा केही दलहरुले भागबण्डा मिलाएर नाम सार्वजनिक गरेपछि विवाद उत्पन्न भएको अभिभावकले बताएका छन् ।

चार जना छान्नुपर्नेमा १७ जना आकाङ्क्षी देखिएका थिए । सबैलाई मिलाएर जाने भन्दै चारजनाको नाम प्रस्ताव गरेपछि अभिभावकहरुले त्यसको बिरोध गरेका थिए । दिपेन्द्र घर्ती, एकराज खनाल, इमा पोख्रेल र सुशिला पौडेलको नाम प्रस्ताव भएकोमा त्यसमा अभिभावकहरुले असहमती जनाएको एक जना अभिभावक राम बहादुर जिएमले जानकारी दिए । ‘विद्यालय प्रशासन र केही दलहरुको योजनामा चार जनाको नाम आयो , त्यसमा हमीहरुले बिरोध ग¥यौं, उनले भने ‘कोठाभित्र बसेर जवरजस्ती माइन्युट लेख्न लागेका थिए, अभिभावकले बिरोध गरेपछि भनाभन र धकेला धकेल भयो ।’

अभिभावकको बिरोध पछि विद्यालयका प्राचार्य डा. कृष्णराज डिसी साँझ साढे ६ बजे तिर माइन्युट लिएर बाहिरिए । राती साढे ८ बजे सम्म पनि उनको मोवाईल (९८५७८३४३१२) मा फोन हान्दा स्वीच अफ गरिएको थियो भने उनको घरको फोन (०८२–५६०५८३) मा फोन गर्दा परिवारका सदस्यले घरमा नआएको जवाफ दिएका थिए । यस बिषयमा भेलामा सहभागी हुनु भएका जिल्ला शिक्षा कार्यालय दाङका विद्यालय निरिक्षक बेगम केसीले सहमतीको अन्तिम प्रयास गर्दापनि केही अभिभावकबाट विवाद आएकाले माइन्युट नलेखिएको बताए ।

‘ प्रस्तुत चार वटा नाम गत असोज ३० र मंसिर २९ गतेका भेलामा पनि प्रस्तुत गरिएको थियो । आज (शनिबार) पनि सहमतीको नजिक पुगेपनि केही विवादका स्वरहरु सुनिय, यस्तो भएपछि बिरोध गर्ने पक्षलाई समेटेर जानु पर्छ’ केसीले भने । यस्तै कार्यक्रममा सहभागी भएका श्रोत ब्यक्ति रामप्रसाद जैसीले भने चारजनाको नाममा सहमती भएको बताए । ‘छलफलमा सामान्य बिवाद भएको हो, तर पनि चार जनाको नाममा सहमती भएपछि म निस्कीएको हुँ’, श्रोत ब्यक्ति जैलीले बताए ।

विद्यालयलाई कस्तो बनाउने, कसरी अगाडी बढाउने, कसलाई नेतृत्वमा पठाउने भन्ने बिषय अभिभावकमा निहित हुनुपर्ने भएपनि पछिल्लो समय जिल्लाका सामुदायीक विद्यालयको ब्यवस्थापन समितिमा दलीय भागबण्डा हुने गरेको आरोप लाग्दै आएको छ । जसले गर्दा सामुदायीक विद्यालयको शैक्षिक उपलब्धी सुधार हुनुको सट्टा राजनीतिको अखडा बन्दै गएको जानकारहरु बताउँछन् ।