गिरिराज नेपाली / दिपक बोहरा । घोराही ९ पुस । पछिल्लो समय दाङमा लगानी थपिदै गएको छ । सुविधा सम्पन्न होटेलहरु खुल्ने क्रम जिल्लामा वढ्दै गएको देखिन्छ । एक दुई वर्षको अन्तरालमा जिल्लामा सुविधा सम्पन्न धेरै होटेलहरु खुलि सेकेका छन् र केही अझैं खुल्ने क्रममै छन् । यसअघि जिल्लामा साना तथा मझौला होटेलहरु मात्रै रहेपनि अब भने तुलनात्करुमामा ठूला र सुविधा सम्पन्न होटेलहरु धमाधम खुल्न थालेका छन् ।
जो दाङको सम्वृद्धि र विकासको सूचक पनि मान्न सकिन्छ । होटेको संख्या र क्षमता थपिदै जानु भनेको आन्तरिक तथा वाह्य पर्यटक जिल्लामा भित्रने क्रम बढ्दै छन् भन्ने एउटा सूचक पनि हो । विभिन्न कार्यक्रमहरु ल्याएर जिल्लामा आउने समाजिक संघ संस्थाहरु, एनजिओ आइएनजियोहरु र विभिन्न दलका केन्द्रीय नेता तथा मन्त्रीहरु यहाँ ढुक्क भएर बस्दै आएका छन् । भिआईपी र भिभि आईपीहरु आएपनि मज्जाले राख्न सक्ने क्षमता अब दाङका होटेलहरुमा बिकास भइसकोे छ ।
दाङ– देउखुरी होटेल व्यावसाय समिति अध्यक्ष रुद्रबहादुर डाँगीले घोराहीमा मात्रै होटेल क्षेत्रमा ६५ करोड ३६ लाख लगानी रहेको बताए । घोराहीमा ११ वटा ठूला होटेलहरु संचालना रहेको अध्यक्ष डाँगीले जानकारी दिए । तर जिल्लामा अmभैंपनि राजधानीका जस्ता पाँच तारे होटेलहरु भने खुल्न सकेका छैनन् । त्यसको मुख्य कारण दाङमा महंगोमा बस्ने पाहुना आउँदैनन् , दाङमा भरपर्दाै सुरक्षा व्यवस्था छैन भन्ने नै रहेको जानकारहरु बताउँछन् । उल्लेखित प्रवन्ध भएमा पाँच तारे होटेलका लागि जिल्लामै लगानी कर्ताको अभाव नहुने एकजना होटेल व्यवसायीले बताए ।
सरकारी तथा गैर सरकारी गतिविधि र वढ्दो शहरीकरणले गर्दा कारण जिल्लामा होटेल क्षेत्रमा लगानी वढ्दै गएको दाङ– देउखुरी होटेल व्यावसाय समिति अध्यक्ष रुद्रबहादुर डाँगीले बताए । जिल्लामा न्यूनतम २० लाखदेखि अधितम २० करोड लगानी सम्मका ११ वटा होटेलहरु सञ्चालनमा अध्यक्ष डाँगीले बताए । घोराहीको भिँग्रेली भिलेज २० करोेडको लगानीमा सञ्चालनमा रहेको उनले बताए । २० वेड क्षमतासहित स्विइमिङ पुलको सुविधा समेत उक्त भिलेजमा छ । भिँग्रेली भिलेजमा छ सय जना मानिस अटाउन सक्ने क्षमता रहेको सभाहल रहेको छ ।
यो होटेल करिव १ विगाह क्षेत्रफलमा फैलिएको छ । त्यस्तै घोराहीमा होटेल मलाईन १२ करोडको लगानीमा बन्दैछ । लिफ्टको समेत सुविधा रहेको यो होटेल ५८ वेड क्षमताको हुनेछ । यो होटेलमा चारवटा हलहरु रहने जानकारी दिइएको छ । घोराहीकै अर्काै चलेको होटेल सिटी प्लाजा हो । जहाँ २७ वेड छन् । तीन करोडको लगानीमा यो होटेल सञ्चालनरत छ । यो होटेलमा तीनवटा सभाहलहरु रहेका छन । घोराहीकै अर्काै चलेको होटेल न्यू सुपर लज पनि हो । १८ करोडको लागतमा यो निर्माण गरिएको हो । यो होटेल २२ वेड क्षमताको छ । यसमा तीन वटा सभाहल छन् । यहाँको अर्काै चर्चित होटेल माउन्ट एभेरेष्ट हो । यो तीन करोडको लगानीबाट निर्मित होटेल हो ।
यो होटेल ३२ वेड क्षमता छ । त्यस्तै होटेल ग्रीन भ्याली चार करोड लगानीमा सञ्चालन भइरहेको छ । ग्रीन भ्यालीमा दुईवटा सभाहल छन् । घोराहीमा राम्रो व्यापार गर्दै आएको होटेल दाङ भ्यालि पनि हो । यो तीन करोड लगानीमा निर्मित होटेल हो । ३५ वेड क्षमताको यो होटेलमा दुईवटा सभाहरुहरु रहेका छन् । होटेल माछापुच्छ«े २६ लाखको लगानीमा सञ्चालन भइरहेको होटेल हो । यो होटेलमा ३१ वेड क्षमता छ । त्यस्तै होटेल मधुवन ६० लाखको लगानीमा सञ्चालनमा छ । यो होटेल संग दुईवटा सुविधा सम्पन्न सभाहल रहेका छन् । घोराहीको एकान्त होटेल तीन करोड ५० लाखको लगानीमा सञ्चालन भएको होटेल हो । यसमा ४१ वेड क्षमताछ । जिल्लामा पछिल्लो पाँच वर्ष भित्रमा घोेराही क्षेत्रमा १२ वटा स्तरिय होटेलहरु सञ्चालनमा आएको अध्यक्ष डाँगीले बताएका थिए । जिल्लाको सदरमुकाम घोराहीमा होटेलमा लगानी बढ्नुले यहाँ आउने सामान्य देखि उच्च तहका पाहुनाहरु ढुक्कभएर बस्न सक्ने व्यवस्था रहेको अध्यक्ष डाँगीले दाबी गरे ।
पछिल्लो समय होटेलहरु पनि राज्यकोे मुख्य आम्दानी स्रोत हुन । तर राज्यले होटेल व्यावस्थान र विकास सम्वन्धी कुनै निश्चित नीति ल्याउन नसक्दा होटेल व्यावसायीहरु मर्कामा परेको गुनासो पनि अध्यक्ष डाँगीले व्यक्त गरेका छन् । होटेललाई धितो राखेर राज्यले ऋण उपलव्ध गराउनुपर्ने उनको धारणा थियो । होटेलमा लगानी गर्नका लागि घरजग्गा नै धितोमा राख्नुपर्ने वाध्यता रहेको उनले गुनासो पोखे । होटेल क्षेत्रको विकासका लागि स्पष्ट राष्ट्रिय नीति बन्न नसक्दा होटेल सञ्चालकहरुलाई प्रहरी प्रशासनले समेत दुःख दिने गरेको उनको कथन थियो । स्तरिय ,साना तथा मझौला गरी जिल्लामा सयौं होटेलहरु सञ्चालनमा रहेको जानारी दिए । जिल्लामा पर्यटक भित्र्याउन तथा होटेलहरुका विकासका लागि दाङ र आसपासका पहाडी जिल्लाहरुमा पर्यटकिय क्षेत्रको विकास आवश्यक रहेको अध्यक्ष डाँगीले बताए । उनले आन्तरिक र वाह्य पर्यटनको विकासबाट मात्रै होटेल क्षेत्र फस्टाउने बताए ।
तुलसीपुरमा पनि थपिदै होटेलहरु
यसअघिको भौगौलिक विभाजन अनुसार राप्ती अञ्चलको सदरमुकाम तुलसीपुर हो । हाल विमान सेवा बन्द अवस्थामा रहेपनि दाङको एक मात्रै एयरपोट तुलसीपुरमा छ । तर यहाँ केही वर्ष अघि सम्म भिआईपी वा भिभिआईपी बस्न लायक एउटा होटेल पनि थिएन । हाल आएर भने त्यो अभावको पूर्ति भएको छ । तुलसीपुरमा एकान्त, वस्टर्न प्यालेस जस्ता होटेलहरुमा यसअघि थुप्रै मन्त्री देखि उपराष्ट्रपति सम्म आएर रात बसेका उदाहरणहरु छन् । तर अझैंपनि तुलसीपुरमा आधुनिक र ठूलो क्षमताको होटेल अनि सभाहल सहितका होटेलहरु नहुँदा यहाँ क्षेत्रीय स्तरका कुनैपनि कार्यक्रम हुन सकेका छैनन् ।
आधुनिक होटेल र सभाहलको क्षमता नहुँदा अहिले सम्म तुलसीपुरमा अञ्चल स्तरिय कार्यक्रम तथा खेलुकुद प्रतियोगिताहरु चाहेर पनि हुन सकिरहेका छैनन् । तुलसीपुरमा होटेल खुल्नेक्रम बढेपनि ठुलो सभाहल भएका होटेलहरु अझै खुल्न सकेका छैनन् । अहिले सम्म तुलसीपुरमा तीन सय जना व्यक्ति अटाउन सक्ने बढि क्षमता भएका होटेलका सभाहल निर्माण भएका छैनन् । जसले गर्दापनि यस्तो समस्या निम्तिएको जानकारहरु बताउँछन् । अहिले सम्म तुलसीपुरमा होटेल एकान्त, वस्टर्न प्यालेस, सत्कार पाहुन घर, माउन्ट भ्यू, बिएस पार्टी प्यालेस चलेका होटेलहरु हुन ।
र पछिल्लो पटक खोलिएको होटेल भ्यालि भ्यु ईन्टरनेश्नलको चर्चा पनि उत्तिकै छ । यो होटेलले सुविधा सम्पन्न र आधुनिक प्रविधिका कोठाहरु उपलब्ध रहेको बताउँछ । हाल यो होटेलले सभाहल निर्माण गरिरहेको छ । तुलसीपुरमा एकान्त होटेल र बिएस पार्टी प्यालेसमा तीन सय जना मानिस अटाउन सक्ने क्षमता भएको सभाहल छन् । वस्टर्न प्यालेसमा एक सय देखि डेढसय सम्म मानिस अटाउन सक्ने क्षमता रहेको होटेल व्यवस्थापनले जनाएको छ । यो होटेलले हाल ४० लाख लगानी थपेर आधुनिक प्रवृधिको खाजा घर पनि निर्माण गरेको छ । यो होटेल दाङमै पहिलो स्वीइमिङ पुल निर्माण गर्ने होटेल पनि हो । वस्टर्न प्यालेसमा पछिल्लो समय सिसी क्यामेरा समेत जडान गरिएको छ ।
यो बाहेक तुलसीपुर क्षेत्रमा सबै होटेलहरुका सभाहल एक सय भन्दा कम क्षमताका रहेको होटेल ब्यबसायी संघ तुलसीपुरका अध्यक्ष टेकबहादुर खड्काले बताए । उनले तुलसीपुरमा उल्लेख्य रुपमा होटेल क्षेत्रको बिकास हुन नसकेको स्वीकार गरे । उनले भने ‘ तुलसीपुरमा बिमान स्थल नियमति नहुँनु,पर्यटकीय स्थलको प्रचार प्रशार नहुनुले होटेलमा सोचेजस्तो लगानी र विकास हुन नसकेको हो । त्यस्तै तुलसीपुर क्षेत्र सुरक्षाको दृष्टिकोणले जोखिम युक्त स्थान रहेकोले पनि होटेलमा लगानीगर्न मानिसहरु डराएको उनले बताए ।
तुलसीपुरमा होटेल वस्टर्न प्यालेसले मात्रै स्वीमिङ पुलको ब्यबस्था भएको होटेल रहेको अध्यक्ष खड्काले जानकारी दिए । करिब साढे तीन करोड लगानीमा सञ्चालनमा आएको एकान्त होटेलको सभाहलको क्षमता तीन सय जनाको छ । यो होटेलसंग २६ वटा कोठा रहेका छन् । त्यस्तै बिएस पार्टी प्यालेसले सञ्चालन गरेको सभाहलमा पनि समान क्षमता छ । यो पार्टी प्यालेसमा करिब एक करोड बढि लगानी रहेको उनले बताए । त्यस्तै डेढ करोडमा सञ्चालन भएको होटेल वस्टर्न प्यालेसका दुई वटा सभाहल सञ्चालनमा ल्याएको छ । एउटा सभाहलको एक सय जना अट्ने क्षमता छ भने अर्को सभाहलको क्षमता ४० जनाको छ । यो होटेलमा १२ वटा कोठा रहेका छन् ।
त्यस्तै तुलसीपुरको राम्रो व्यपार गर्ने होटेल सत्कार होटेल एण्ड पाहुना घरपनि हो । एक सय जना मानिस अटाउने सक्ने सभाहल यो होटेलसंग छ । करिब दुई करोडको लगानीमा यो होटल सञ्चालनमा आएको छ । उक्त होटेलमा ११ वटा कोठा छन् । त्यस्तै तुलसीपुरको अर्काै चलेको होटेल माउन्ट भ्यूपनि हो । डेढ करोडको लगानीमा यो होटेल सञ्चालनमा ल्याइएकोछ । यो होटेलमा सभाहलको क्षमता ६० जनाको रहेको छ भने २६ वटा कोठा रहेका छन् । त्यस्तै होटेल मानसरोबर पनि तुलसीपुरमा चर्चाको होटेल हो । डेढ करोड बराबरको लगानीमा यो होटेल सञ्चालित छ । यो होटेलमा १२ वटा कोठा छन भने ४० जना अट्न सक्ने क्षमता भएको सभाहल छ ।
त्यस्तै ५० लाख लागतमा सञ्चालनमा आएको भ्याली भ्यू इन्टरनेशनल पार्टी प्यालेशले पनि ५० जना अट्न सक्ने क्षमताको सभाहल सञ्चालनमा ल्याएको छ । जसका पाँचवटा भिआईपी कोठा रहेको होटेलका प्रोप्राईटरले जानकारी दिए ।
