रुकुम- सरकारले स्वास्थ्य संस्थाहरूको क्षमता वृद्धिसँगै दुर्गमका जनताहरूलाई जतिसक्दो बढी सेवा दिने उद्देश्यले केही नयाँ नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेको भए पनि दुर्गममा पूर्ण रूपमा कार्यन्यवयन भएको देखिएको छैन । तर, विगतको स्वास्थ्य सेवा भन्दा केही सुधारोन्मुख दिशामा गएको भने पक्कै देख्न सकिन्छ ।
स्वास्थ्य संस्थाहरू बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरेर सेवा दिन सरकारले पछिल्लो पटक निर्देशन जारी गरेको भए पनि जिल्ला सदरमुकामबाहेक दुर्गमका स्वास्थ्य संस्थाहरूमा भने प्रभावकारी हुन सकेको छैन ।
पछिल्लो सरकारी निर्देशनपछि जिल्ला स्वास्थ्य कार्यालय रुकुममा पुग्दा ओपीडीको एउटा कोठामा चिकित्सक बिरामी चेकजाँच गरिरहेका थिए, तर प्रभावकारी रूपमा काम भइरहेको भने थिएन । यसअघि ज्येष्ठ नागरिक, महिला, बालबालिकालगायत क्षेत्र छुट्याएर तीन÷चार वटा कोठाबाट चेकजाँच गर्ने गरेको भए पनि हिजोआज ती अन्य कक्षहरूमा खाली कुर्सीमात्र थिए भने सबै प्रकारका बिरामीहरूलाई एउटै कक्षमा चेकजाँच भइरहेको थियो, जसका कारण बिरामीहरू हातमा टिकट समाएर पालो कुरेर बसिरहेका थिए ।
छोराको उपचारका लागि अस्पताल पुगेका रुकुम स्यालापाखाका खड्कबहादुर बिक सरकारले स्वास्थ्य क्षेत्रमा प्रदान गर्ने भनेर प्रचार गरेजस्तो दुर्गम गाउँका जनताले नपाइरहेको बताउँछन् । “निर्देशन दिएको एक÷दुई हप्ता त सेवामा केही फरक देखिन्छ, तर पछि फेरि उस्तै । बिहानैदेखि छोराको उपचारका लागि लाइनमा बसेको छु, खै कतिखेर पालो आउँछ,” उनले भने ।
जिल्ला स्वास्थ्य कार्यालय रुकुममा केही महिना अघिदेखि २४ घण्टे आकस्मिक सेवा पनि सुरु गरेका कारण मन्त्रालयले निर्देशन गरेअनुसारको बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समयमा सेवा दिने कुरामा त समस्या छैन । तर, ७० प्रकारका औषधिहरू निःशुल्क रूपमा सर्वसाधारणले पाउने भने कहिलै पूरा हुने देखिएको छैन ।
जिल्ला अस्पतालमा नै सरकारले घोषणा गरेअनुसारको औषधि नहुँदा गाउँका स्वास्थ्य संस्थाहरूको अवस्था कस्तो होला, सहजै अनुमान लगाउन सकिन्छ । जिल्ला स्वास्थ्य कार्यालय रुकुमका प्रमुख डा। क्षितिज सापकोटालाई सरकारले घोषणा गरेअनुसारको औषधि तथा अन्य सेवा रुकुम अस्पतालमा सेवाग्राहीहरूले पाइरहेका छन् त रु भनेर प्रश्न गर्दा भनेजतिको सेवा नभए पनि आफूहरूले सक्दो सेवा दिइरहेको प्रतिक्रिया दिए ।
“यहाँ सरकारले भनेजस्तै ७० प्रकारकै औषधि त पक्कै पनि आउँदैन, गाउँतिर पनि त्यस्तै हो । तर, विभागलाई भनेर आवश्यक औषधिहरू भने हामीले उपलब्ध गराइरहेका छौं,” प्रमुख डा। सापकोटाले भने, “रुकुम अस्पतालको सन्दर्भमा सरकारले भनेअनुसारको समयमा १० देखि ५ को विषयमा भने समस्या छैन, हामीले केही समय अघिदेखि आकस्मिक सेवा सुरु गरेका कारण २४ सै घण्टा जटिलदेखि सामान्य बिरामीहरूको चेकजाँच तथा उपचार गर्न सक्छौं ।”
जिल्ला अस्पतालमा निःशुल्क भनिएका औषधि सबै नपाइए पनि अस्पतालले नै केही समय अघिदेखि सशुल्क बिक्री गर्न आफ्नै फार्मेसी सञ्चालन गर्दा भने केही सजिलो भएको छ, जसबाट बिरामीहरूले औषधि किन्दा अन्य पसलहरूको भन्दा ५ प्रतिशत सस्तो पाउँछन् । कारोवारमा खवर छ । गाउँका स्वास्थ्य संस्थाहरूमा भने कार्यालय समयमा पनि सेवा नदिएको भनेर केही स्वास्थ्य संस्थाहरूबाट गुनासो आएको र तत्काल तोकिएको समयभित्र सेवा दिन निर्देशन दिएको समेत उनले बताए ।
गाउँका स्वास्थ्य संस्थाहरूले बिहान पनि अबेर ११ बजे कार्यालय खोल्ने र २ बजे नै कार्यालय बन्द गर्ने गरेको गुनासो आएको थियो । सरकारले बेला बेला विभिन्न निर्देशन दिएको भए पनि जिल्लाका दुर्गम गाविसदेखि जिल्ला अस्पतालमा समेत आवश्यक दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा र भएका पनि कार्यक्षेत्रमा नबस्दा समस्या हँुदै आएको छ ।
रुकुममा पनि करिब चार दर्जन स्वास्थ्यकर्मी दरबन्दी अनुसार अपुग रहेको बताइएको छ । स्वास्थ्यकर्मी गाउँमा नबस्ने, समयमा कार्यालय नखोल्ने देखि भौगोलिक समस्याका कारण सरकारले घोषणा गरेअनुसारको सेवा पाउन कठिन हुने रुकुमको दुर्गम गाविस स्यालाखलीका हरि परियार बताउँछन् ।