15401317_1281987241824153_1372129470_n

दिपक बोहरा , तुलसीपुर २३ मंसिर ।  तुलसीपुरमा डेँगु तथा चिकनगुनया सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ  । जिल्ला जनस्वास्थ्य कार्यालय दाङको आयोजनामा बिहिबार कार्यक्रम भएको हो । दाङमा पनि डेँगु भित्रिएको र यस बाट सजक हुन कार्यक्रमको आयोजना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका  डेँगु तथा चिकनगुनया फोकल पर्सन कमल चन्दले बताए ।

कार्यक्रममा चन्दले डेँगु रोग कसरी लाग्छ, यसका लक्षण, बच्ने उपायका बारेमा जानकारी गराएका थिए । एडिज एजप्टाई नामक लामखुट्टेको टोकाईबाट डेँगु तथा चिकनगुनया रोग सर्ने भन्दै यसबाट सजक हुन सबैलाई आग्रह पनि गरेका थिए ।  अहिले सम्म दाङका ८ जनामा डेँगु संक्रमण भएको तर चिकनगुनयाको संक्रमण भने अझै नभेटिएको उनले बताए । तर चिकनगुनया र डेँगु एउटै लामखुट्टेको टोकाई बाट सर्ने भएकाले सजक हुने हो भने आत्तिनु पर्ने अबस्था  नरहेको उनको भनाई थियो ।

डेँगु तथा चिकनगुनया  रोग सार्ने लामखुट्टेले सफा पानीमा लार्भा पार्ने र बढि दिउसोको समयमा आक्रमण गर्ने उनले बताए । यस्ता लामखुट्टले प्राय टायरमा जमेको पानी, हिलट्याङ्की, कुलर , गमला, फालेका गिलासलगायतमा जमेको पानीमा लार्भा पार्ने गरेकाले त्यस्ता भाँडामा पानी जम्मा हुन नदिन उनले सबैलाई आग्रह पनि गरेका थिए ।

उक्त रोगबाट बच्न  लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हुने उनले बताएका छन् । सोही लामखुट्टेले एकै पटकमा १० जनालाई टोक्न सक्ने तथा न्युनतम १४ देखी १८ र अधिकतम ३५ देखी ४० डिग्रि सेल्सीयस तापक्रम उपयुक्त हुने चन्दले बताए । साथै डेँगु परिक्षणका लागि दाङ ल्याईएका ३० वटा किट मध्य जनस्वास्थ्यले दुई वटा र राप्ती उपक्षेत्री अस्पताल घोराहीले ९ वटा प्रयोगमा ल्याएको जनाएको छ । किट दाङ भित्र्याएसंगै अब दाङमै डेँगु रोगको परिक्षण गर्न सकिने फोकल पर्सन चन्दले बताए ।

दाङमा डेँगु भित्रिएसंगै जनस्वास्थ्य दाङले तुलसीपुर र लमही क्षेत्रमा खोज्ने अनी नष्ट गर्ने  अभियान संचालन गरी महिला स्वास्थ्य स्वायंसेवीका मार्फत सचेतना फैलाएको जनाएको छ ।  कार्यक्रममा राप्ती अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.पदमराज अधिकारी, तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसी,शाखा अधिकृत काजु शर्मा, जिल्ला जनस्वास्थ्य कार्यालय दाङका देबिलाल डाँगीलगायतको सहभागीता रहेको थियो ।