रुकुम, २१ मंसिर । रुकुमको पूर्वी गाविस मैकोटकी मदी बुढाले १५ वर्षअघि सदरमुकाम खलंगा आउँदा पहिलोपल्ट बिजुली बलेको देखिन् । त्यसको केही वर्षपछि आफ्नै गाउँमा बिजुली बल्यो तर उनका लागि त्यो नयाँ भएन ।
पछिल्लोपटक मंसिर पहिलो साता सदरमुकाम आउँदा उनले बिजुली देखिनन् । १५ वर्षअघि नै झिलिमिली बनेको सदरमुकाम उनलाई आफ्नो गाउँभन्दा अँध्यारो लाग्यो । रुकुमका गाउँगाउँमा बनेका लघु जलविद्युत् आयोजनाले सबैतिर उज्यालो प्रदान गरिरहेका बेला सदरमुकाम खलंगा र आसपासका बासिन्दा भने घन्टौं लोडसेडिङको मार खेपिरहेका छन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा लघु जलविद्युत् आयोजना बनेका छन् । केही ठाउँमा निर्माण जारी छ ।
२०६९ साल जेठमा पहिलोपल्ट जाङ गाविसमा रुकुम उज्यालो कार्यक्रमअन्तर्गत १७ किलोवाट विद्युत् उत्पादन भएसँगै सरकारी तहबाट जिल्लामा विद्युत् उत्पादन अभियान सुरु भएको हो । यो क्रम जारी रहेको र अबको पाँच वर्षभित्र जिल्लालाई अँध्यारोमुक्त बनाउने लक्ष्यमा अघि बढिरहेको रुकुमका स्थानीय विकास अधिकारी नरेन्द्रकुमार राणा बताउँछन् ।
उज्यालो रुकुम बनाउने लक्ष्यसाथ सुरु गरिएको ‘रुकुम उज्यालोु कार्यक्रम सुरु भएपछि चार वर्षयता मात्रै विभिन्न स्थानमा बनेका आयोजनामार्फत सरकारी तहबाट ९३५ किलोवाट विद्युत् उत्पादन भएको छ । अन्नपूर्णमा खवर छ । यसबाट १० हजार घरधुरी लाभान्वित भएको जिल्ला विकास समिति वातावरणीय ऊर्जा तथा जलवायु परिवर्तन शाखाका अधिकृत धनसिंह केसीले बताए । उनका अनुसार जिल्लाका ७० प्रतिशत बासिन्दा अहिले विद्युतीय उज्यालोमा छन् ।
हालसम्म १० किलोवाटभन्दा कमका आयोजना १३ ठाउँमा र त्यसभन्दा बढीका २९ स्थानमा गरी ४२ वटा आयोजना बनिसकेका छन् भने एक दर्जनभन्दा बढी निर्माणाधीन रहेको सरकारी आँकडाले देखाउँछ । निर्माण चरणमा रहेका आयोजना पूरा हुँदा चालू आर्थिक वर्षभित्रै थप ५५७ किलोवाट विद्युत् उत्पादन हुने र यसले कम्तीमा ५१५० घरधुरी लाभान्वित हुने अपेक्षाका साथ काम भइरहेको छ ।
