सर्लाही, १६ मंसिर । सर्लाहीको धनकौल गाविस(९ की ठेकनीदेवी पण्डितको पाठेघरको समस्या धेरै वर्ष पुरानो भइसकेको थियो । तर श्रीमान् रामुसँग उपचार गर्ने पैसा थिएन । किनकी रामुको एक छोरा र दुई छोरीसहितको परिवार मजदुरी गरेर चल्थ्यो ।

rajes-family-3त्यही मजदुरीबाट जम्मा गरेको पैसाले श्रीमतीको पाठेघरको अप्रेसन गर्नुभयो । अप्रेसन गरेपनि उपचार गराउने र औषधी खाइरहनुपर्ने । त्यसैले रामु श्रीमतीको उपचार खर्च अनि परिवारको अवस्था सुधार्ने सपना लिएर साउदी अरव जानुभयो । त्यति बेला छोरा राजेशको कमाउने उमेर भएकै थिएन ।

रामु एकपटक साउदी बसेर फर्किंदा पनि ठेकनीदेवीको रोग पुरै निको भएको थिएन । उपचार गराउन सदरमुकाम मलंगवा लगिरहनुपर्ने । केहीदिनका लागि घर आएका रामु फर्किनुपर्ने भयो । रामु साउदी जाने भएपछि उपचार गर्न मलंगवा लाने जिम्मा राजेशकै भयो । त्यतिबेलासम्म राजेशले नागरिकता पनि बनाउनुभएको थिएन । त्यसैले राजेशले बुवालाई नागरिकता बनाइदिए विदेशबाट पठाइदिएको पैसा निकाल्न अनि आमाको उपचार गर्न सजिलो हुने भन्दै नागरिकता बनाउन लगाए । रामुलाई पनि छोराको कुरा ठिकै लाग्यो । त्यसैले नागरिकता बनाइदिनुभयो अनि २०७१ चैत्र २५ गते साउदी उड्नुभयो ।

राजेशले नागरिकता बनाउन लगाउनुको उद्देश्य विदेश जानु थियो भन्ने कुरा न नागरिकता बनाइदिने बुवालाई थाहा भयो न त आमालाई नै । आमा त छोरो विदेश नजाओस् भन्ने चाहनुहुन्थ्यो । तर बुवा साउदी गएको केही महिनामै पासपोर्ट बनाएर राजेशले विदेश जाने तयारी सुरु गर्नुभयो । त्यति मात्रै होइन विदेश पुगेका बुवालाई पनि म विदेश गएँ भने हजुरलाई कमाइरहनुपर्ने दुःख हुँदैन भन्दै फकाउन थाल्नुभयो ।

बुवा गएको १५ महिनापछि २०७२ भदौ २५ गते राजेश दुवई उड्नुभयो । नेपालमा म्यानपावरले लेवरको काम भएपनि सजिलो हुन्छ भनेर पठाएको थियो । त्यहाँ पुगेपछि राजेशले गाडीको रेञ्च ओसार्ने काम पाउनुभयो । काम पाएपछि साउदीमा फोन गरेर राजेशले अब मैले काम पाइसकें तपाईं दुःख गर्नुपर्दैन घर फर्किंदा हुन्छ भनेको अहिले जस्तै लागिरहेको छ रामुलाई । छोराको कुरा सुनेर खुसी भएका रामु अहिले घर फर्किनुभएको छ तर छोराले कमाएर पठाउँछ भन्ने भएर होइन त्यही छोराको लास ल्याउन । राजेशको गएको मंसिर ५ गते काममा क्रममा करेण्ट लागेर ज्यान गयो।

सुरुमा रेञ्च ओसार्ने काम पाएका राजेशलाई त्यसको तीन चार महिनामा गाडीको सहयोगीका काम दियो । पहिले रेञ्च ओसारेका राजेशले केहीदिन गाडी अगाडि पछाडि साने अनि बनाउँदै गरेका बेला ब्रेक लगाउने अनि गियर घटाउने बढाउने काम गर्नुभयो तर त्यो काम धेरै दिन रहेन । त्यसको तीन चार पुग्न नपाउँदै महिनापछि उहाँलाई बिल्डिङ इलेक्ट्रिसियनको काम लगायो । एक कहिले नगरेको काम त्यहीमाथि रातीको ड्युटी । त्यसैले झुक्किएर फलामको पाइपमा छुँदा करेण्ट लागेर उहाँको ज्यान गयो ।

विदेश जान हतारिएका राजेश न त कुनै काम सिक्नुभयो न त विदेशका कुन काममा जाँदा के गर्नुपर्छ भन्ने नै बुझ्नुभयो । त्यसैले विदेश पुगेपछि कम्पनीले जे भन्छ त्यही काम गर्नै पर्ने बाध्यतामा पर्नुभयो उहाँ । दुवई पुगेर काम सुरु गर्दा खुसी भएर फोन गर्ने राजेशले काम परिवर्तन हुन थालेपछि भने फोन केही समस्यामा परेमा यसरी उद्धार गर्न थाल्नुभएको थियो ।

‘आमा एजेन्टलाई कागजपत्र पठाएको छु, सुरक्षित राख्नु होला मलाई कुनै समस्या पर्दा त्यही कागजले उद्धार गर्न सजिलो हुन्छ भन्थ्यो’ रुन्चे स्वरमा ठेकनीदेवीले भन्नुभयो ‘समस्यामा परेको भए त उद्धार गर्नुहुन्थ्यो अब त उ नै रहेन ।’ लेवरको काम भनेर लगेको व्यक्तिलाई इलेक्ट्रिसियन जस्तो प्राविधिक काम गर्न लगाउँदा ज्यान परिवारको गुनासो छ ।