काठमाडौँ, १४ मंसिर । नेपालमा किशोरीभन्दा किशोर बढी कुपोषणको सिकार भएको पाइएको छ । एक अध्ययन अनुसार ७१ प्रतिशत किशोर तथा ५९ प्रतिशत किशोरी कुपोषणको सिकार भएको पाइएको छ । कुपोषित हुनेमा सहर र ग्रामीण क्षेत्रमा बस्नेबीच दुई प्रतिशतको मात्रै अन्तर रहेको छ भने अन्य जातिको तुलनामा मुस्लिम र तराईका जनजातिका किशोर–किशोरीमा कुपोषणको जोखिम बढी रहेको पाइएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गत वर्ष गरेको अध्ययनले नेपालमा किशोर–किशोरी नराम्रोसँग कुपोषणको सिकार भएको देखाएको हो । परिषद्ले १३ जिल्लाबाट तीन हजार ७ सय ७३ जना किशोर–किशोरीमा गरेको अध्ययनले सहरमा बस्ने ६३ प्रतिशत र ग्रामीण भेगमा बस्ने ६५ प्रतिशत किशोर–किशोरीमा कुपोषण देखिएको छ । अध्ययन अनुसार उनीहरूको रगतमा रहेको लौहतìवको मात्रा पनि मापन गरिएको थियो ।
परिषद्का सदस्य सचिव डा. खेमबहादुर कार्कीका अनुसार परिषद्ले गरेको अध्ययनमा कुपोषणको जोखिम हिमाल र पहाडमा भन्दा तराईमा बढी देखिएको छ । डा. कार्कीले अन्य जातिको तुलनामा मुस्लिम र तराईका जनजातिका किशोर–किशोरीमा कुपोषणको जोखिम बढी मात्रामा रहेको बताए ।
“सरसफाइको पूर्वाधार, चर्पीको पहुँच नभएका किशोर–किशोरीमा कुपोषणको जोखिम बढिरहेको देखाएको छ,” कार्कीले भने, “जसअनुसार फलफूल र तरकारीको नियमित रूपमा सेवन गर्ने किशोर–किशोरीमा भने कुपोषणको जोखिम कम छ । ”
अध्ययनले ३५ प्रतिशत किशोर–किशोरीमा रक्तअल्पता देखिएको छ । तीमध्ये २७ प्रतिशत किशोर र ४२ प्रतिशत किशोरी रक्तअल्पताको सिकार भएको पाइएको छ । मुस्लिम र तराईका जनजातिका किशोर–किशोरीमा धेरै कुपोषण भएको अध्ययनले देखाएको छ ।
परिषद्ले एक वर्ष लगाएर गरेको अनुसन्धान अनुसार धेरै कुपोषण र रक्तअल्पता जस्ता पोषणसम्बन्धी समस्या देखिएको क्षेत्रमा रोकथाम गर्नका लागि किशोरकिशोरीको व्यक्तिगत सरसफाइ, स्वच्छ र सन्तुलित खानपान गर्नुपर्ने खालका स्वास्थ्य कार्यक्रम गर्नुपर्ने आवश्यक रहेको देखाएको छ ।
परिषद्ले लामो समय अनुसन्धान गरी निकालेको निष्कर्ष अनुसार सन्तुलित खानपान र व्यक्तिगत सरसफाइका कारण धेरै किशोरकिशोरीमा कुपोषण देखिएको
हो । एक वर्ष लगाएर देशको विभिन्न ठाउँमा गरिएको अध्ययन अनुसार सन्तुलित खानपान नगर्ने र व्यक्तिगत सरसफाइमा ध्यान नदिने किशोरकिशोरीमा कुपोषण भएको पाइएको डा। कार्कीले बताए ।
यसैगरी परिषद्ले धादिङ, सिन्धुपाल्चोक र भोजपुर जिल्लामा गरिएको सर्वेक्षण अनुसार नवजात शिशु मृत्युदर क्रमशः प्रति एक हजार जीवित जन्ममा १२.६, १४.४ र २२.२ प्रतिशत रहेको छ ।
कार्कीका अनुसार एक वर्षमुनिका बच्चाको मृत्युदर प्रति एक हजार जीवित जन्ममा धादिङमा १७.४, सिन्धुपाल्चोकमा २१.१ र भोजपुरमा २९.३ रहेको थियो । सर्वेक्षणले नवजात शिशु तथा एक वर्षमुनिका बच्चाको मृत्युको मुख्य कारण बच्चा जन्मँदा हुने सास फेर्न कठिनाइ २४.९, सङ्क्रमण २२.२, निमोनिया १०.३ र कम तौल ४.५ रहेको छ ।
