धनिराम शर्मा(ऋतुविचार)
सर्वहारा वर्गको अधिनायकत्वको सत्ता स्थापनाको लागि भन्दै २०५२ देखि जनयुद्धको भिषण संघर्षबाट जन्मेको माओवादी आन्दोलन टुटफुट पछि पुनः एकिकरणको अक्षमा जोडिएको छ । दश वर्षे लामो भिषण संघर्षको नयाँ अभ्यासबाट स्थापित माओवादी विभिन्न फुट, झुट, गाली ,गलौज इत्यादी खेलको घनचक्करबाट जेष्ठ ६ मा पुन एकिकरणको माला उनिएको हो । प्रचण्ड नेतृत्वको एमाओवादी, बादल नेतृत्वको क्रान्तिकारी माओवादी, मणिथापाको क्रान्तिकारी कम्युनिष्ट पार्टी, मात्रिका यादवको नेकपा माओवादी लगायतका घटकहरु एकिकरणमा आएका छन् । यद्यपी  माओवादी आन्दोलनका अभिभावकको रुपले चिनिने मोहन वैद्य किरण र विप्लव समूह एकिकरणमा आएका छैनन् ।   रुपमा एकिकरणपछिको माओवादी आन्दोलनको संरचनामा केही आश लाग्दो देखिएपनि सारमा कसरी विचार दर्शन चिन्तले पुनरसंगठित हुन सक्ला भन्ने आम प्रश्न भने उभिएको छ ।

patiakataसापेक्षमा फुटपछिको एकिकरणले केही सन्तोष मान्ने देखिएपनि भर पर्नै सक्ने अवस्था छैन ।  २०६३ को बिस्तुत शान्ति सम्झौतापछिका कालखण्डमा क्रान्ति र आन्दोलनको मनोगत व्याख्या, आलोचना, दोष र रोषको राप अलाप्दै  फूटमा जाकिएका माओवादी धाराहरु करिब ४ वर्षपछि एकथलो देखिएका छन् । जडसुत्रवादी, अतिभूतवादी, संशोधनवादी चिन्तन र प्रवृत्तीको अगेनामा जलिरहेका माओवादी धाराहरु, यतिबेला एकिकरणको जलले शितल बन्दै लामवद्ध हुँदा माओवादीप्रति विश्वास गर्नेहरुलाई केही सन्तोषको सास फेर्ने परिस्थिति त बनेको छ । तर कुण्ठा, निराशा, यान्त्रिक चिन्तन, नेतृत्वको जीवनशैली, जडप्रवृत्तीहरु आगामी दिनमा माओवादी आन्दोलनका मुख्य चुनौतिरुपी डर लाग्दा पहाड हुन्।

जनयुद्धको बलमा ऐतिहासिक जनआन्दोलपछि संविधानसभाबाट संविधान जारी भई कार्यान्वयन हुन नसकिरहेको परिस्थतिमा माओवादी धाराहरुबीचको एकिकरणले विशेष अर्थ राख्दछ, शासन प्रणाली बाहेक अन्य विषयमा नयाँ संविधान प्रगतिशिल समाजवादतर्फ उन्मुख  छ, आन्दोलनको मर्म र भावनापनि परिवर्तनकामी संविधान निर्माणको नै थियो, यद्यपी जनयुद्धको उदेश्यहरु अझै पुरा हुन सकेका छैनन्, तर ती उदेश्य विद्यमान राजनीतिक प्रणालीबाट प्राप्त गर्न सकिने राष्टिय अन्तराष्टिय परिस्थतिहरु बनेका छन्। बलद्वारा सत्ता प्राप्त गर्ने माओको विचार अबको परिस्थितिमा पुनः संश्लेषण गर्दै परिस्कृत र समय सुहाउँदो आन्दोलन र जनदवाबको निर्माण गरिनु आवस्यक छ ।

जसले शासन सत्तामा विद्यमान संविधानको संशोधनको माध्यमबाट उत्पीडित वर्ग र समुदायलाई राज्यका सबै निकायमा पुराउन सकिन्छ, यद्यपी अहिलेका परिस्थतिमा पनि समावेशी समानुपातिक व्यवस्थाले ठगीएका हेपिएका किचिएकाहरु राज्यको माथिल्लो निकायमा पुगेका छन् तर पर्याप्त भने हुन सकेको छैन । तर पूर्णरुपमा उत्पीडित वर्ग किसान र श्रमिकहरुलाई राज्यको शासन सत्ता उनीहरुको नेतृत्वलाई स्थापित गर्न अझै धेरै मेहनत गर्नु पर्ने देखिन्छ । त्यसका लागि नयाँ संविधानमै टेकेर  जनमतका आधारमा अझै प्रगतिशिल र वैज्ञानिक राज्य व्यवस्था निर्माण गर्न सकिने अवसर छन् एकिकरणमा जोडिएका माओवादीहरुको लागि अवसर गतिलो अवसर हो ।

ढिलै भएपनि जेष्ठ ६ ले माओवादीहरुलाई एकै थलोमा त  ल्याएको छ तर एकिकरण पछिको भविष्य पनि त्यत्तिकै जटिल छ, जटिलताका मुख्य कारण समय परिस्थिति अनुसार राजनैतिक कार्यदिशा, कार्यक्रम कार्यान्वयन बुझाईका समस्याहरु हुन सक्छन् । यीनै विषयसंगै   आधारभूत जनतासम्म ल्याउनु पनि सजिलो छैन । सैद्धान्तिक हिसाबले यी कार्यक्रम त बन्लान् तर कार्यान्वयनमा समस्या जटिल हुन सक्छ किन कि माओवादी आधार क्षेत्रहरु जनयुद्धकालीन अवस्थामा छैनन्, सबै गाँउ तहका सबै संगठन भत्किएका छन्, जनताले माओवादी नेतृत्वलाई नजिकैबाट देख्न नपाएको वर्षौ भैसक्यो, माओवादी नेतृत्वले गाँउ र दुर दराज नदेखेको धेरै भयो विभाजन र फूटको ४ वर्षे यात्रामा राप्तीको पानी धेरै बगिसकेको छ,  शान्ति प्रकृयापछि माओवादी नेतृत्वको जीवनशैली धेरै फेरिएका छन् ।

माओवादी आधारभूत वर्ग   किसान मजदुका गाँउ नेतृत्वको लागि क्षितिजपारी पुगेका छन्। अब के आधारभूत वर्गलाई पुनः पहिलेकै अवस्थामा ल्याउन सक्ला ? के  अब नेतृत्वले वर्गीय सुगन्धले आधार क्षेत्रका जनताको मन जित्न सक्ला यही यक्ष प्रश्नको जंजिरमा माओवादी एकिकरणपछि भविष्य अड्किएको छ । तसर्थ आधारभूत रुपमा नेतृत्वले शान्ति प्रकृयापछि गरेका धेरै कमजोरीहरुलाई सच्याउदै पुनः जनताका अगाडि आम समिक्षा गर्दै पार्टी संगठन निर्माण सशक्तीकरण  गर्न सके एकिकरणको सार्थकता रहनेमा कुनै दुइमत छैन । एकिकरणमा आउनेलाई शुभकामना र बधाइ ।