kesharman bcहाम्रो समाजमा बालबालिका हरुलाई अधिनमा राख्नलाई कहिले काही भुत प्रेतको हाउगुजी देखाउने नराम्रो चलन छ  । बालमनोविज्ञानको भाषामा भन्ने हो भने  बालबालिकाको कोमल मस्तिस्क लाइ कुनै पनि नकारात्मक कुरा भनेर वा भुत प्रेत को हाउगुजी देखाएर अधिनमा राख्नु राम्रो होइन । यसको परिणाम कहिले काही नकारात्मक पनि हुन सक्छ । हाम्रो समाजमा एसएलसी परीक्षा लाइ पनि ठुलो हाउगुजिको रुपमा हेरिने चलन छ यो सरासर गलत हो । यो परीक्षा विद्यार्थी जीवनको एउटा नियमित परीक्षा हो। विद्यार्थी जीवनमा यस्ता अनगिन्ती परीक्षाहरुको सामना गर्नुपर्दछ, एउटा विद्यार्थीले। हामीले त्यही एउटा नियमित जाँचलाई हाउगुजी बनाइदिएका छौँ, समाजका सबैजना विद्यार्थीका अविभावक, शिक्षक, संचारकर्मीलगायत मिलेर।

एसएलसी परीक्षालाई छोडेर कक्षा १ देखिको कुरा गर्ने हो भने स्नातकोत्तरसम्मको पढाइ सक्दा एउटा विद्यार्थीले करिव १९ वटा जति अरु परीक्षामा सामेल हुनुपर्दछ। तर, सबै परीक्षाहरुका जम्मै समाचारलाई जोड्दा जति संख्या हुन्छ, त्यसको पचासौँगुना बढी एसएलसीको मात्र समाचार संचारमाध्यमहरुमा आउने गर्छ। एसएलसी परीक्षा सुरु हुनु एक महिना पहिलेदेखि एसएलसीको नतिजा प्रकाशित भएको एक महिनापछिसम्म कुनै न कुनै रुपमा एसएलसीसँग जोडिएका समाचारहरु आइरहन्छन् हाम्रा माझमा। मानौ जिन्दगीको यो नै सबैभन्दा ठूलो कुरा हो र यसलाइ जसरी पनि पास गर्नुपर्छ भनेजस्तो। रमाइलो त के भने एसएलसीको मात्र यति धेरै समाचारले विभिन्न संचारमाध्यममा स्थान पाइरहँँदा एसएलसीपूर्व तथा एसएलसी पछिका विभिन्न परीक्षा कहिले संचालन हुन्छन्, कहिले त्यसको नतिजा प्रकाशित हुन्छ भन्ने नियमित कक्षामा जाने विद्यार्थीबाहेक अन्यलाई थाहा नै हुँदैन। यसरी हामीले नै एसएलसीलाई सगरमाथाभन्दा अग्लो पहाड बनाइदिएका छौँ जसलाई जसरी पनि वारपार गर्नुपर्ने।

एसएलसी भनेको लामो स्कुले जीवनबाट पार पाउने एउटा तह हो। नामैले पनि यो स्कूल छाड्ने सर्टिफिकेट मात्रै हो। तर एसएलसीलाई पछिल्लो समयमा ठूलो हाउगुजी बनाइएको छ। समाजका प्रायःः सबैजसोले यसलाई फलामेढोका भन्दिए। एसएलसी पास गरिएन भने संसारै डुब्छ भनेर सिकाउदै आइएको छ। यस्तै सिकाइका कारणले नै एसएलसी परीक्षा दिनानुदिन अमर्यादित बन्दै गएको छ। यही कारणले प्रत्येकवर्ष एसएलसी परीक्षामा नक्कली परीक्षार्थी भेटिने, निरीक्षकले नै परीक्षार्थीलाई सिकाउने लगायतका विभिन्न अमर्यादित कार्य यसैको परिणाम हो। हुन पनि यति ठूलो हाउगुजीको सामना गर्न त सबै प्रकारकाले तयार हुनैपर्यो‍ नि, अनि किन नभेटिउन् बोराका बोरा चिट परीक्षाहलमा।

साँच्चिनै हामीले यो परीक्षालाई यति ठूलो कुरा हो भन्ने भान विद्यार्थीहरुमा पारिदिएका छौँ कि परीक्षामा सामेल भएका आधाजतिले उच्च शिक्षाको बाटोतिर अघि बढ्दै गर्दा आधाजति अनुत्तीर्णको बिल्ला भिरेर गन्तव्यविहीन हुन्छन्। यी गन्तव्यहीनमध्ये केहीले आत्महत्या गरेका विगतको अनुभव हामीमाझ छन्।

विद्यार्र्थीलाई जसरी पनि एसएलसीमा उत्कृट नतिजा ल्याउन बाध्य पारिनु हँुदैन। हुन त स्कूलबाट धेरै विद्यार्थी पास भएर विद्यार्थीले उत्कृष्ट नतिजा ल्याए सबैका लागि राम्रो हुन्छ। तर एसएलसीलाई ठूलो हाउगुजी बनाएर इज्जत र प्रतिष्ठा नै एसएलसीको परिणाममा नाप्नुचाहिँ गलत हो। एसएलसीलाई जति ठूलो हाउगुजी बनाएर प्रचार गरिन्छ, उति नै यसको परिणाम पनि ओरालो लाग्छ।

एसएलसी परीक्षा, अध्ययनको एउटा तह मात्र हो, मानव जीवनको अन्तिम परीक्षा होइन। अनुत्तीर्ण हुँदैमा पुनः परीक्षा दिन नपाइने पनि होइन। अर्को कुरा एसएलसी बिग्रँदैमा उच्च शिक्षा पनि बिग्रन्छ भन्ने पनि छैन। कतिपय विश्वप्रसिद्ध व्यक्तिहरू पनि अध्ययनमा अनुत्तीर्ण भएका उदाहरणहरु हामी सामु छन्। यसको अर्थ अध्ययनमा अनुत्तीर्ण भए पनि हुन्छ भन्ने चाहिँ होइन। अर्थ के मात्र हो भने एसएलसीको अंकले मात्र जीवन सफल वा असफल भन्ने हुँदैन। विलियम सेक्सपियर ५ कक्षामा दुईपटक फेल भएका, रवीन्द्र ठाकुर एसएलसीमा सातपटक फेल भएका, महात्मा गान्धी तेस्रो डिभिजनमा एसएलसी पास भएकाजस्ता थुप्रै उदाहरण हाम्रा सामु छन्।

त्यसैले आम अभिभावक, शिक्षक, विद्यार्थीहरुले एसएलसी विद्यार्थीहरुमा मनोवैज्ञानिक असर पर्ने गरी यो परीक्षा नै जीवनको सवैभन्दा ठूलो कुरा हो भन्ने भ्रमको पैदा गर्ने खालका कुरा गर्न आजैबाट छाड्नु पर्दछ। संचारमाध्यमहरुले पनि एलएलसीकोमात्र समाचार प्रकाशन प्रशारण गर्नुभन्दा शिक्षाका अन्य विभिन्न पाटा केलाएर खोजमूलक शैलीका समाचार पस्कने प्रयास गर्नुपर्छ। यो कार्यले एसएलसी परीक्षा मर्यादित मात्र बनाउदैन, एसएलसी परीक्षामा अनुत्तीर्ण भएमा गलत कार्य गर्नपुग्ने र आत्महत्या समेत गर्न पछि नपर्ने विद्यार्थीहरुलाई त्यसबाट रोक्न समेत मद्दत गर्छ।