काठमाडौं, २५ कार्तिक । नेपाली बैंकबाट एटिएम प्रयोग गरेर रकम चोरीको विगविगी भइरहेको वेला आज एटीएमबाट चोरी गरेको लाखौं नगदसहित प्रहरीले दुई जना टर्किस नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौंका ठमेल र दरबारमार्ग क्षेत्रका विभिन्न बैंकका एटीएमबाट चोरिएको २६ लाख ७५ हजार रुपैयाँ, १७ सय युरो र १६६० अमेरिकन डलरसहित दुई टर्किस नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
कान्तिपथस्थित नबिल बैंको एटीएम बुथबाट रकम झिकेपछि पक्राउ पर्नेहरुमा टर्किस नागरिक ५२ वर्षीय मुहारीम उजुन र ३२ वर्षीय सेल्हात्तिन याबर रहेका छन् । उनीहरुले नेपालस्थित नेपाली तथा विदेशी बैंकका एटीएममा स्किमिङ डिभाइस र हिडने क्यामेरा प्रणालीको प्रयोग गरी रकम चोरेको केन्द्री प्रहरी अनुसन्धान व्यूरोका एसपी दिवेश लोहनीले दिए ।
दुबैजनालाई प्रहरीले कान्तिपथको यलो प्यागोडा होटलबाट नगद, एटीएमबाट रकम चोर्न प्रयोग उपकरण र सयौं थान एटीएमकार्डसहित पक्राउ गरेको हो । पक्राउ परेका टर्किस अभियुक्तहरुसँग यसअघि ब्यूरोले नै पक्राउ गरी अनुसन्धानमा रहेका बुल्गेरियन र रोमानियन नागरिकबीच सम्बन्ध रहे(नरहेको पनि अनुसन्धान भइरहेको व्युरोले उल्लेख गरेको छ।
उनीहरु मे २६ देखि नोभेम्बर ७ सम्म पटक(पटक पर्यटक भिषामा तीन पटक नेपाल आएर एटीएमबाट रकम चोरीमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरु एटीएमबाट रकम चोरी गरेर आगामी नोभेम्बर १२ मा टर्की फिर्ने तयारीमा थिए ।