दुर्गा लामिछाने
काठमाडौं, २५ कार्तिक। नेपाल विद्युत् प्राधिकरणले बिहीवारदेखि उद्योगलाई साँझ चार घण्टा बिजुली नदिने भएको छ । आम उपभोक्तामा सबैभन्दा बढी माग हुने समय साँझ साढे ४ बजेदेखि साढे ८ बजेसम्म उद्योगमा बिजुली नदिइने प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख विष्णुप्रसाद श्रेष्ठले बताए । ‘निर्धारित फिडरबाट उद्योगलाई विद्युत् दिइरहेका क्षेत्रमा सबस्टेशनबाटै सो समयमा काटिन्छ,’ उनले भने, ‘सबस्टेशन बाहिरबाट लगिएका उद्योगको हकमा निगरानी गरिन्छ ।’

ghorahi-ciment_dangतिहारयता काठमाडौंलाई लोडशेडिङमुक्त राखेको प्राधिकरणले यी दिनहरूमा लोडशेडिङ व्यवस्थापनमा प्रमुखताका साथ काम गरिरहेको छ । अहिले काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोकको बनेपा हुँदै पाँचखालसम्म नै लोडशेडिङ छैन । यी क्षेत्रलाई लोडशेडिङमुक्त बनाउँदा देशका अन्य क्षेत्रका बासिन्दालाई मारमा पारियो कि भन्ने प्रश्नमा, त्यसो नगरिएको भार प्रेषण केन्द्रका निर्देशक श्रेष्ठ बताउँछन् ।

‘भारतबाट कात्तिक १६ गतेबाट ल्याइएको थप ७५ मेगावाट, कात्तिक १९ गतेबाट नियमित सञ्चालन भएको २५ मेगावाटको माथिल्लो मस्र्याङ्दी ए र साँझ १ घण्टाको हाराहारीमा सञ्चालनमा ल्याइएको कुलेखानीको पहिलो र दोस्रोको गरी ९२ मेगावाट गरेर हालको काठमाडौंको माग धान्न सकिएको हो,’ श्रेष्ठ भन्छन्, ‘उद्योगको लाइन काटिएको भन्ने कुरा माथिल्लो निकायबाटै भएको भए भन्न सकिन्न, तर हाम्रो जानकारीमा छैन ।’

उद्योग र गार्हस्थ्य ९आम० उपभोक्तालाई फरक मात्रामा बिजुली दिने नीतिमा नभएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन् । ‘त्यसैले एक क्षेत्रको लाइन काटिँदा त्यहाँका उपभोक्ता र उद्योग सबैको एकैपटक काटिन्छ,’ उनी भन्छन्, ‘उद्योगलाई अलग्गै फिडरबाट लाइन दिइएका स्थानमा पनि लोडशेडिङ तालिकाअनुसार काट्नै पर्छ ।’

प्राधिकरणले उद्योगलाई कि त सबस्टेशनबाट एउटा निर्धारित फिडरमार्फत कि प्रसारण लाइन सबस्टेशनमा नजोडिँदै बीचैबाट दिएको छ । पछिल्लो केसमा लाइन काट्ने व्यवस्था सम्बन्धित उद्योगभित्रै गरिएको प्रवक्ता अधिकारी बताउँछन् । गार्हस्थ्य क्षेत्रमा माग कम रहेको समयमा उद्योग क्षेत्रले उपभोग गर्ने र गार्हस्थ्य क्षेत्रमा माग बढिरहेको बेलामा उद्योग बन्द गर्ने समझदारी २०५४ सालमै भएको प्रवक्ता अधिकारी बताउँछन् । ‘सो समयमा हामी विराटनगर क्षेत्रका अटेर गर्ने उद्योग बन्द गराउँदै पनि हिँडेका थियौं,’ उनले सम्झिए ।

सबैभन्दा बढी विद्युत् उपभोग हुने काठमाडौंमा अधिक माग रहेको समय बेलुका करीब ३ सय र बिहान करीब २ सय ७० मेगावाट भए पुग्ने अवस्था रहेको प्राधिकरणका प्रवक्ता अधिकारी बताउँछन् । त्यसैगरी रातको समयमा सबैभन्दा कम १ सयदेखि १ सय २५ मेगावाट मात्र माग छ ।