dengu

दिपक बोहरा / तुलसीपुर २० कात्तिक ।  लामखुट्टेको टोकाईबाट मानिशमा सर्ने डेङ्गु रोग दाङमा पनि भित्रिएको छ । तराईका बिभिन्न जिल्लामा महामारीको रुप लिएको डेङ्गु केही दिन देखी दाङ भित्रिएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ । अहिले सम्म दाङका चार जनामा डेङ्गु रोगको संक्रमण देखिएको  दाङका जनस्वास्थ्य अधिकृत जनार्दन गौतमले जानकरी दिए ।

अहिले सम्म दाङको तुलसीपुरका दुई जना र लमहीका दुई जनामा डेङ्गु रोगको संक्रमण देखिएको अधिकृत गौतमले जानकारी दिए । संक्रमित मध्य एक जना   भेरी अञ्चल अस्पताल नेपालगंजमा उपचार पछि घर फर्किएका छन् भने अन्य तीन जनाको उपचार भईरहेको छ ।

अधिकृत गौतमले दिएको जानकरी अनुसार  लमही ९ का ४५ बर्षीय जगतराम चौधरी निको भएपछि घर फर्किएका छन् । अहिले तुलसीपुर ९ का ४१ बर्षीय अमर बहादुर डिसी, तुलसीपुर ८ का भागवता पाखे्रेल र लमही १० का ४५ बर्षीय सीता खनालको नेपालगंज उपचार पछि थप उपचारका लागि बाहिर रेफर गरिएको छ ।  यहि कात्तिक ११ देखी दाङमा डेङ्गुको संक्रमण देखिएको अधिकृत गौतमले बताए ।

आत्तिनु पर्ने अबस्था छ्रैन : चन्द 
एडिज जातको लामखुट्टेको टोकाईबाट डेङ्गु रोग मानिशमा सर्ने जिल्ला जनस्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले बताए  । चन्दका अनुसार दाङमा  डेङ्गु भित्रिएपनि आत्तिनु पर्ने अबस्था नरहेको बताए । उनले भने ‘ लामखुट्टे सक्रिय हुने समय भनेको बर्षा र गर्मी हो ; जाडो समय लामखुट्टेको लागि  उर्पयुक्त हुदैन् ; त्यस्लै अत्तिनु पर्ने अबस्था छैन । ’ शहर बजारमा लमखुट्टेको बिगबिगी बढि हुने पनि उनले बताएका छन् । उनले भने ‘ शहर बजार क्षेत्रमा लामखुट्टेले फुल पार्नका लागि उर्पयुक्त वातावरण हुने भएकाले बढि लामखुट्टेको बिकास हुन्छ र शहरमै लामखुट्टेको टोकाईबाट सर्ने रोगका बिरामीहरु हुने गर्छन् । ’

सचेतना अभियान संचालन हुने 
डेङ्गु रोग लाग्न नदिन दाङको तुलसीपुर र लमहीमा ‘सर्च एण्ड किल’ अभियान संचालन गरिने भएको छ । डेङ्गुले महामारीको रुप लिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालय दाङले उक्त अभियान संचालन गर्न लागेको हो । जनस्वास्थ्य अधिकृत गौतमका अनुसार २० र २१ गते लमहीका ९ र १० नंबर वडाका प्रत्यक घरमा गएर उक्त सचेतना जगाउने कार्यक्रम रहेको छ । त्यस्तै २४ र  २५ गते तलसीपुरका ४ , ५ , ६ ,  ८ र ९ वडामा सचेतना अभियान संचालन गरिने भएको छ ।

जसका लागि त्यहाँका स्वायंसेवीकाहरुलाई प्रत्यक घरमा परिचालन गरिने छ । उनीहरुले लामखुट्टेको टोकाईबाट लाग्ने डेङ्गु रोग लाग्न नदिन सचेत गराउने छन् । त्यस्तै  लामखुट्टेले लार्भा पार्न सक्ने सम्भाबित ठाउलाई नष्ट गरिने फोकल पर्सन चन्दले जानकारी दिए ।   जिल्ला जनस्वास्थ्य कार्यालय दाङले ‘सर्च एण्ड किल’ अभियानका लागि एक लाख रुपैया बजेट पनि छुट्याएको छ ।

कस्तो ठाउबाट सक्रिय हुन्छ लामखुट्टे  ?  
जिल्ला जनस्वास्थ्य कार्यालय दाङका फोकल पर्सन चन्दका अनुसार लामखुट्टेले  दिउसोको समयमा टोक्छ ।  एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने उक्त लामखुट्टे अन्य लामखुट्टेभन्दा अलि ठूलो आकारको र कालो–सेतो छिर्केमिर्के रङको हुन्छ । सहर तथा नगरोन्मुख बस्तीहरूमा पाइने यस्ता लामखुट्टे बस्ने स्थान नष्ट गर्नु नै रोगबाट बच्ने प्रमुख उपाय हो ।

त्यसैले खुला स्थानमा राखिएका मोटरगाडीका टायर, प्लास्टिकका बोतल, चिया खाएर फालेका प्लाष्टिकका गिलास , प्लेटसहितको गमला, फुटेका भाँडाकुँडा तथा खपटा, सिमेन्ट पोतिएका पानी जम्ने साना स्थान र विविध प्रयोजनका लागि जम्मा गरेर राखिएका पानीका भाँडाहरू नष्ट गर्नुपर्छ । त्यस्तै, यस जातका लामखुट्टेले आफ्नो वृद्धिविकास पानी जम्ने स्थानमा गर्ने भएकाले घरवरपर पानी जम्ने खाल्डो भएमा पुर्नुपर्छ ।

डेंगुका लक्षण
फोकल पर्सन चन्दका अनुसार डेंगु अति तीव्र खाले विषाणुजन्य रोग हो । यो रोग लागेमा एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, मांसपेशी तथा जोर्नीहरू दुख्ने, आँखाको गेडी दुख्ने, अरुचि हुने, पेट तथा आन्द्रामा गडबडी हुने र डाबर आउने हुन्छ । केही बिरामीको शरीरमा सुरुमै रातो बिमिरा आउँछन् । त्यस्तै, शरीरमा डन्डिफोरजस्ता डाबर देखिन्छन् । ज्वरो आइरहेका अवस्थामा नाक तथा गिजाबाट रगत बग्ने र छालामुनि रक्तश्राव हुन्छ । तर, डेंगु हिमोराजिक फिभरबाहेक अन्य ज्वरोमा मृत्युदर ज्यादै न्यून छ । यस्ता बिरामीलाई विशेष हेरचाह गर्न अस्पताल भर्ना गर्नुपर्छ । यो रोगका बिरामी सामान्यतया वैशाखदेखि मंसिर महिनासम्म देखिने गरेका छन् ।

 बच्ने उपायहरू
डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने भएकाले यसको टोकाइबाट बच्नु नै मुख्य उपाय हो । त्यसैले पूरा शरीर छोपिने लुगा लगाउने र दिउँसो सुत्दा पनि झुलको प्रयोग गर्नुपर्छ । हातखुट्टामा लामखुट्टे भगाउने क्रिम लगाउनाले पनि लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।

डेंगु सार्ने एडिज लामखुट्टेले मानिसको बस्तीवरिपरि प्राकृतिक वा कृत्रिम रूपले जमेको पानीमा फुल पार्छ । त्यसैले बाटा, बाल्टिन , प्लेटसहितको गमला, एयरकन्डिसनर, लोटा, गिलास, कतारो, खुला बोतलहरू, थोरै भन्दा थोरै पनि पानी जम्ने भाँडाहरू (जस्तै– सिसीको बिर्काे ), खुला पानीको ट्यांकी वा खुला पानीका भाँडाहरू नष्ट गर्नुपर्छ । पानी जम्ने स्थान राख्नु हुँदैन ।
डेंगु ज्वरोको शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्नुपर्छ । यो रोग चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष निगरानीमा उपचार गरे निको हुन्छ ।