काठमाडौं, कात्तिक १९ । बिहिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजना गरेको रात्री भोजका अवसरमा इतिहासका दुईपात्रबीच भेटको संयोग जुर्यो । ती पात्रहरु हुन् पूर्व प्रधानमन्त्री केपी शर्मा अोली र नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीबीच । त्यसो त उक्त भेटअघि पनि सोल्टी होटलको रात्री भोज र एकलरुपमा समेत यी दुई पात्रबीच भेट नभएको होइन । तर ती भेटका तस्वीरहरु त्यति चर्चामा आएनन् ।

prsedent-of-indianभारतीय राष्ट्रपति प्रणव मुखर्जीले तस्वीर सार्वजनिक गरेपछि इतिहासमा यी दुई पात्रको भूमिकाको स्मरण गरे कतिपयले । यो इतिहासको घटना थियो– राष्ट्रघाती महाकाली सन्धी । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको राष्ट्रघाती टनकपुर सम्झौताकै कडीमा रुपमा भएको महाकाली सन्धी पारित गराउन मुखर्जी र ओलीको अहम् भूमिका थियो ।
२०५१ को मध्यावधि निर्वाचनपछि गठित नेकपा एमालेको अल्पमतको सरकार नौ महिनामै विघटन भयो । एमाले सरकार विघटनसँगै शेरबहादुर देउवाको नेतृत्वमा नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल सद्भावना पार्टीको गठबन्धन सरकार बन्यो । प्रधानमन्त्री देउवाको पालामा नेपाल–भारतबीच ‘शारदा बाँध, टनकपुर बाँध तथा पञ्चेश्वर परियोजनासमेत महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धि’मा हस्ताक्षर भयो ।

२०५२ माघ १५ (१९९६ जनवरी २९) गते परराष्ट्रमन्त्रीस्तरमा हस्ताक्षरित सन्धिमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनी तथा भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले हस्ताक्षर गरे । त्यतिखेर पनि ओली महाकाली सन्धीको पक्षमा खुलेरै वकालत गरिरहेका हुन्थे । वामदेव गौतमहरु भने यसको पुरै विपक्षमा थिए । पछि यही कारण गौतमले पार्टी फुटाएर नेकपा (माले) समेत गठन गरे ।
मुखर्जीले परराष्ट्रस्तरमा गरेको हस्ताक्षरको सन्धी पछि गएर २०५२ माघ २९ (१९९६ फेब्रुअरी १२)का दिन नयाँ दिल्लीमा महाकाली सन्धिमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पी।भी। नरसिंह रावले हस्ताक्षर गरे । नेपालको हितविपरीतको महाकाली सन्धि सत्तारुढ नेपाली काँग्रेस तथा प्रतिपक्षी एमालेको पूर्ण समर्थनमा २०५३ असोज ४ गते तत्कालीन संसद्को दुईतिहाइ बहुमतबाट पारित भयो ।

द्वारिका होटलमा भेटिएका यी दुई पात्र अहिले भने बिल्कुल फरक भूमिकामा छन् । मुखर्जी भारतको राष्ट्रपति बनेका छन् । ओली भने अहिले एमालेका अध्यक्ष । अचम्म के छ भने ओली अहिले पक्का राष्ट्रवादी बनेका छन् । तर इतिहास निर्मम हुन्छ र कटु पनि । यो कुरा महाकाली सन्धीको इतिहासले झनै स्मरण गराउँछ ।