दिपक बोहरा / दाङ १६ कात्तिक । तिहार सुरु भएपछि घरघरमा पुग्थ्यौँ । अनि सुरु हुन्थ्यो देउसी भैलो । टोली नेताले भट्याउन सुरु गरेपछि उनैको लयमा देउसी भैलो गाउँथ्यौँ त केही नाच्थ्यौँ । तुलसीपुर ५ का ८९ बर्षिय राम बहादुर रेग्मील आफ्नो युवावस्थामा खेलेको देउसी र भैलोलाई यसरी सम्झिए ।
नाचगानपछि घरधनीलाई नाङ्ग्लोमा धान, चामल, सेलरोटी र दान स्वरुप नगद दिएपछि आर्शिवाद दिएर आउने गरेको रेग्मीले सुनाए ।
यो वर्षको तिहार सुरु भएसँगै शहर बजारदेखि गाउँसम्म देउसी भैलो खेल्न सुरु भएको छ । पछिल्लो समय तिहारको अवसरमा खेलिने देउसी भैलोमा भएको मौलिक संस्कृतिमाथिको अतिक्रमण भने बुढापाकालाई मन परेको छैन । रेग्मीले थपे – “हामी आफैं गाउने, बजाउने र नाच्ने गथ्र्यौँ । उतिबेलाको देउसी भैलोमा आफ्नै मौलिकता थियो । आजभोलि त क्यासेटका गीत बजाएर नाच देखाउँछन् । पहिलेको जस्तो देउसी भैलो आजभोलि देखिँदैन ।”
रेग्मीले भनेजस्तै परम्परागत रुपमा खेलिने देउसी भैलो आजभोलि केही परिष्कृत भएको पाइन्छ । हरेक क्षेत्रमा आधुनिकीकरणको प्रभाव परिरहेको अवस्थामा देउसी भैलो पुरानौ शैलीमा खेल्नुपर्छ भन्ने तर्क ठीक नहुन पनि सक्छ । यद्यपि देउसी भैलोको खास महत्व र मर्म नै हराउने गरी देउसी भैलोलाई आधुनिकीकरण गर्न नहुने आवाज उठिरहेको छ । सहरदेखि गाउँसम्म देउसी भैलो खेलिरहेको अधिकाँश समूहले रेकर्ड गरिएका गीतहरुमा नृत्य देखाउने र केही औपचारिकताको लागि मात्रै देउसी भैलो गाउने गरेको अग्रज कलाकारहरु बताउँछन् ।
आधुनिकताको प्रभाव बढेसँगै देउसी भैलोको उद्देश्यहरु पनि फेरिएका छन् । परम्परागत रुपमा मनोरञ्जनका लागि मात्रै खेलिने देउसी भैलो पछिल्लो समय कला संस्कृतिको जगेर्नासँगै सामाजिक कामका लागि आर्थिक सङ्कलन गर्न समेत प्रभावकारी माध्यम बनेको छ । मनोरञ्जनका लागि मात्रै खेलिने देउसी भैलोमा सङ्कलन हुने दान दक्षिणाले मङ्सिर महिनामा वनभोज खाने चलन रहेपनि अहिले भने सामाजिक कामका लागि आर्थिक सङ्कलनले ठूलो टेवा पु¥याएको देखिन्छ ।
आर्थिक अवस्था कमजोर रहेका बिरामीको उपचारार्थ, सामुदायिक विद्यालय सञ्चालनार्थ, विभिन्न अक्षयकोष स्थापनार्थ, सामाजिक तथा सार्वजनिक महत्वका सङ्घ संस्थाको संस्थागत विकास लगायतको उद्देश्य राखेर देउसी भैलो खेल्ने परिपाटीको विकास भएको छ ।
विशेष गरी घरघरमा पुगेर बालबालिकादेखि किशोर किशोरी, युवायुवती सामूहिक रुपमा देउसी भैलो गाउँदै नाच्दै आशीष दिने र घरधनीले दिने दान रकम लिने चलन छ । धार्मिक ग्रन्थहरुका अनुसार भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा देउसी भैलो खेल्ने चलनको सुरुवात भएको पाइन्छ ।
पछिल्लो समय रेकर्ड भएका गीत तथा पाश्चात्य संस्कृति पनि देउसी भैलोमा समावेश गर्न थालिएपछि देउसी भैलोको मौलिकता हराउने खतरा बढेको चिन्ता प्रकट हुन थालेको छ । देउसी भैलोलाई मनोरञ्जनसँगै सामाजिक काममा सहयोग जुटाउनुलाई सकारात्मक पक्ष मानिए पनि कहीँ कतै जबर्जस्ती चन्दा उठाउने गरेको गुनासाहरु पनि बढ्न थालेको छ । त्यसैले परम्परागत चाडपर्वलाई आफ्नो मौलिकता नहराउने गरी मनाउने परिपाटी बसाल्न सकेमात्रै यसको ऐतिहासिक मर्म र महत्वले जीवन्तता पाउनेछ ।