काठमाडौँ, ७ कात्तिक । डेङ्गुले तराईका जिल्लामा प्रकोपको रूप लिन थालेको छ । एडिज जातको लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुबाट चितवन, पर्सा, कैलाली, कञ्चनपुर, झापा, सप्तरी, रुपन्देही, सुनसरी, नवलपरासीलगायत निक्कै प्रभावित भएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर सउन यता ३०४ जनामा डेङ्गु पुष्टि भएको छ । त्यसमध्ये चितवनमा सबैभन्दा बढी २७२ जनामा डेङ्गु पाइएको छ । महाशाखा प्रमुख डा। भीम आचार्यले चितवनको रत्ननगर नगरपालिकामा मात्र २२२ जनामा डेङ्गु देखिएको भन्दै नियन्त्रणका लागि प्रयास भइरहेको जानकारी दिनुभयो ।
डा. आचार्यले हालसम्म १३ जिल्ला डेङ्गुबाट अतिप्रभावित रहेको भन्दै सबभन्दा बढी चितवनमा प्रकोपको रूपमा देखापरेको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य स्वयंसेविका तथा अन्य स्वास्थ्यकर्मीलाई तालिम दिएर घरघरमा गई लामखुट्टेको लार्भा नष्ट गर्ने काम भइरहेको बताउनुभयो ।
हालसम्म डेङ्गु ज्वरोका कारण एक जनाको पनि मृत्यु भएको छैन, प्रमुख डा। आचार्यले भन्नुभयो, “डेङ्गुबाट बच्ने एक मात्र उपाय भनेको एडिज जातको लामखुट्टेलाई नियन्त्रण गर्नु हो । ” एडिज जातको लामखु«ट्टे अन्य लामखुट्टेभन्दा अलि ठूलो आकारको र कालोसेतो छिर्केमिर्के रङको हुन्छ, डा। आचार्यले भन्नुभयो– यो लामखुट्टे सहर तथा नगरोन्मुख गाविसमा बढी मात्रामा पाइन्छ । ”
डा. आचार्यले ती ठाउँका खुला स्थानमा राखिएका मोटर गाडीका टायर, प्लास्टिकको पानीका बोतल, प्लेटसहितको गमला, फुटेका भाँडाकँुडा तथा खपटाहरू, सिमेन्ट पोतिएका पानी जम्ने साना स्थान र विविध प्रयोजनका लागि जम्मा गरेर राखिएको पानीका भाँडामा एडिस जातका लामखुट्टेले आफ्नो विकास गर्ने गर्छन् । उहाँले त्यस्ता ठाउँमा पानी जम्ने अवस्था आउनै नदिन र पानी जमेको छ भन नष्ट गर्नु नै यस रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भएको बताउनुभयो ।
उहाँले एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, मांसपेसी तथा जोर्नीहरू दुख्ने, आँखाको गेडी दुख्ने, अरूचि हुने, पेट तथा आन्द्रामा गडबडी हुने र डाबरहरू आउने, केही बिरामीमा सुरुमै शरीरमा रातो बिमिरा आउने, शरीरमा डन्डीफोर जस्ता डाबरहरू आउनेजस्ता लक्षण देखापर्ने जानकारी दिनुभयो ।
उहाँले असोजदेखि नै चितवनको रत्ननगर नगरपालिकामा डेङ्गु सार्ने लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने कार्य भइरहेको जानकारी दिँदै विभिन्न जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको बताउनुभयो । डेङ्गु सार्ने लामखुट्टेले दिउँसो मात्र टोक्ने गर्दछ, आचार्यले भन्नुभयो, अन्य लामखुट्टेभन्दा ठूलो, सफा पानीमा पाइने भएकाले मानिसले त्यसतर्फ ध्यान दिनुपर्दछ । डा. आचार्यले डेङ्गुबाट बच्न पूरा शरीर छोपिने लुगा लगाउने र दिउँसो सुत्दा पनि झुलको प्रयोग गर्ने, हातखुट्टामा लामखुट्टे भगाउने क्रिम लगाउनाले पनि लामखुट्टेको टोकाइबाट बच्न सकिने बताउनुभयो ।
