काठमाण्डौ, ३१ बैशाख
सरकारले मिर्गौलाका रोगीहरुको डायलाइसिस आजीवन पूर्णरुपमा निःशुल्क गर्ने लोकप्रिय निर्णय गरेको छ । विहिवारको मन्त्रिपरिषद्ले गरेको यो निर्णयबाट १२ सय बिरामीहरु तत्काल लाभान्वित हुनेछन् । सरकारले यसअघि २ वर्षसम्म मिर्गौला रोगीलाई लागि निःशुल्क डायलाइसिस सेवा दिने गरेको थियो ।mm

नयाँ निर्णयअनुसार भने अब रोगीले बाँचुञ्जेलसम्म डायलाइसिस गर्न लाग्ने सबै खर्च सरकारले बेहोर्नेछ । यसबाट बिरामीहरु प्रत्यारोपण गर्नतिर नलागेर डायलाइसिस गरेरै जीवन धान्नेमा केन्द्रित हुन सक्ने र सरकारको व्ययभार निरन्तर बढ्नेछ ।

सरकारले यसअघि मिर्गौलाका बिरामीलाई वर्षमा १ सय ४ पटक डायलाइसिस गर्न २ लाख ७० हजार रुपैयाँसम्म दिने गरेको थियो । बिरामीले २ वर्षसम्म सरकारबाट डायलाइसिसको सुविधा निःशुल्क रुपमा उपयोग गर्न सक्थे । यसअघि सरकारले एउटा बिरामीलाई ५ लाखभन्दा बढी रकम खर्च गर्ने गरेकोमा अब भने बिरामीको जीवनपर्यन्त डायलाइसिसका लागि खर्च दिइनेछ ।

सरकारको अहिलेको निर्णयले सरकारको खर्च धेरै हुने तर, बिरामीले खास पाउनुपर्ने सुविधा पनि नपाउने देखिएको विज्ञहरुको टिप्पणी छ । ४ लाख रुपैयाँ खर्च गर्दा मिर्गौला प्रत्यारोपण गर्न सकिने भएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ ।

नेपालमा अहिले झण्डै १२ सय मिर्गौला रोगीले डायलाइसिस गरिरहेका छन् । यसमध्ये काठमाडौंमा रहेको मानव अंगप्रत्यारोण केन्द्रमा ३ सय र आरोग्य प्रतिष्ठानमा १ सय भन्दा बढीले नियमित यो सेवा लिइरहेका छन् । हालको लागत अनुसार एक जनालाई १० वर्षसम्म डायलाइसिस गर्न करिब २६ लाख रुपैयाँ खर्च हुन्छ ।।