बहराइन, २० असोज । बहराइनमा ज्यान गुमाएका पाँचजना नेपालीका परिवारले क्षतिपूर्ति पाएका छन् । गएको वर्ष ज्यान गुमाएका पाँचजनाको परिवारले क्षतिपूर्ति वापत दुई करोड ९९ लाख ७२ हजार दुई सय २७ रुपैयाँ पाएका हुन् ।
गएको वर्ष ज्यान गुमाएका मध्ये गएको पाँचजना नेपालीको परिवारले बहराइनका लागि नेपाली दूतावास मनामाको पहलमा मृतकका परिवारले यो क्षतिपूर्ति पाएका हुन् । त्यसरी क्षतिपूर्ति पाउनेमा कपिलवस्तुका सुरेन्द्रप्रसाद कोहार, स्याङ्जाका चित्रप्रसाद सुनुवार, धनुषाका विजय कुमार शाह, सुनसरीका विन्देश्वर मोची, र स्याङ्जाका भोजबहादुर थापाको परिवार रहनु भएको छ ।
कोहारको परिवारले ६ हजार दुई सय ५५, सुनुवारको परिवारले २२ हजार ९ सय ९३, शाहको परिवारले २६ हजार ६ सय ९७, मोईको परिवारले १४ हजार ९ सय ९० र थापाको परिवारले १७ हजार ९ सय ९० बहराइन दिनार पाएका हुन् । ब्लडमनी तथा स्थानीय रुपमा कम्पनीले गरिदिएको बिमा बापतको क्षतिपूर्ति पाएका हुन् । त्यसरी पाएको क्षतिपूर्ति रकम नेपाल पठाइसकिएको र परराष्ट्रले सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत मृतकका परिवारलाई उपलब्ध गराउने दूतावासका सहचारी अमृत लोप्चनले जानकारी दिनुभयो । बहराइनमा ज्यान गुमाएकामध्ये अहिले पाँचजनाको परिवारले क्षतिपूर्ति पाए पनि मृतक अन्य ७ जनाको बारे पनि दूतावासले पहल गरिरहेको लोप्चनले बताउनुभयो ।
दूतावासले अदालति प्रक्रिया तथा कम्पनीसँगको समन्वयमा मृतक नेपालीको परिवारलाई क्षतिपूर्ति दिलाएको कार्यवाहक राजदूत खगराज पाण्डेयले उज्यालोलाई जानकारी दिनुभयो । यो वर्ष अहिले सम्म बहराइनमा १२ जना नेपालीले ज्यान गुमाएका छन् । त्यसरी ज्यान गुमाउने धेरैको निधनको कारण हृदयघात उल्लेख छ । दुईजना महिलाले झुन्डिएर आत्महत्या गरेको दूतावासले जनाएको छ ।
यसरी ज्यान गुमाउनेहरुमा श्रमथली(६ रसुवाका सन्चबहादुर थिङ, ललितपुर(५ ललितपुरका रेनहेन लामा, जल्पा(२ खोटाङका मुगधन श्रेष्ठ, बुइपा(७ खोटाङका गोविन्द राई , ऐशेलुखर्क(४ खोटाङका बालकृष्ण राई, टिम्मा(९ खोटाङकै शुभराज राई, बक्लौरी(१ सुनसरीका खड्गबहादुर खड्का , देउराली(८ स्याङ्जाका टोपबहादुर मास्के, प्रिती(५ रामेछापका रत्नबहादुर सुनुवार, बेलबारी(३ मोरङकी रीता धिमाल र पुतलीबजार(११ स्याङ्जाकी नीता नेपाली हुनुहुन्छ ।
गोविन्द राई र बालकृष्ण राइको कार्यस्थलमा दुर्घटना हुँदा ज्यान गएको हो भने सुनसरीका खड्गबहादुर खड्काको मस्तिष्क पक्षघातका कारण ज्यान गएको हो । त्यस्तै ज्यान गुमाएका दुईजना महिलाले भनेर झुन्डिएर आत्महत्या गरेका हुन् । बाँकी सातजनाको हृदयघातका कारण ज्यान गएको हो ।
पछिल्लो केही वर्ष यता बहराइनमा नेपाली कामदार आउने क्रम बढेको र त्यहीअनुरुप नेपालीका समस्या पनि थपिँदै गएको अर्घाखाँची प्रवासी समाज बहराइनका अध्यक्ष युवराज केसीले बताउनुभयो । दूतावासको उपस्थितिपछि नेपालीहरुलाई धेरै राहत मिलेको केसीको भनाई छ । बहराइनमा सन् २०१३ को सेप्टेम्बर १ मा नेपाली दूतावास स्थापना भएको हो । झन्डै ४० हजार नेपाली कार्यरत रहेको त्यहा संगठित नेपाली संघसस्थाका अगुवाहरुले अनुमान गरे पनि दूतावासले भने झन्डै २० हजार नेपाली कार्यरत रहेको हुन सक्ने जनाएको छ ।
