दीपबहादुर घर्ती
जाजरकोट, १९ असोज । यस वर्ष खाद्य संकट जिल्ला घोषणाको माग गरिएको जाजरकोटको वारेकोटमा वस्ने नागरिकहरुले खाद्ये डिपोवाट चामल नपाएपछि कसरी मान्छन होला यस वर्षको दशै । कल्पाना गर्न पनि निकै गाह्रो छ । राम्रो लगाउने, मिठो खाने, साथीसंगी र आफन्जन संगको भेटघाट गर्ने यस पालीको दशै कस्तो रहला खाद्ये डिपोवाट चामल नपाएर खाली हात घर फर्केका ति वारेकोटीहरुको ।
मान्छेको जीवनमै नयाँ स्फुर्ति ल्याउन नेपालीहरुका लागि महान् चाडपर्व मुख्य गरि दशै, तिहार र छट पर्व नै हुन् । गरिवी र भोकमारीका कारण भात, मासु खानालाई दशै र तिहारलाई कुरेर वसेका बारेकोटीहरुले नायकवाडाको खाद्ये डिपोवाट दशै मान्ने चामल नपाएर खाली हात घर फर्किनुको दोष वारेकोटी भएर जन्मनुमा नभएको विरेन्द्र ऐश्वर्य माध्यामिक विद्यालय लिम्साका प्राचार्य गोरख बहादुर सिंह वताउछन् । खाद्ये सम्प्रभुतालाई मौलिक हकको रुपमा परिभाषित गर्ने नेपालको संविधान २०७२ लाई कार्यन्वयन गर्ने सरकार र राज्यको दोष भएको प्राचार्य सिहंको ठम्याई रहेको छ ।
भौगलिक रुपमा विकट र जुम्लाको सिमानासंग जोडिएका नायकवाडाँ, रोकायगाउँ, रामीडाडाँ र सक्ला गाविसलाई लक्षित गरि स्थापना गरिएको नायकवाडा घाट खाद्ये डिपोवाट यस क्षेत्रका नागरिकलाई दशै मान्नलाई चामल पुर्यान नसक्नु भनेको राज्य निकै कम्जोर अवस्थामा छ भन्ने, कुराको पुष्टी भएको स्थानिय विष्णु पुनको भनाई रहेको छ । यस क्षेत्रको भोकमरी समस्यालाई सामाधान गर्न हरेक हप्ताको आईतवार खाद्ये डिपोवाट चामल वितरण गर्ने भनिएको भएता पनि त्यसो नभएको पुनले जानकारी दिए । उनले धेरै लामो समयपछि सोमवार मात्र खाद्ये डिपोवाट चामल वितरण गरिएको तर, चामल लिने भनेर दिनभर लाईनमा बसेका नागरिकहरु नै चामल नपाएर वेलुका आधा मान्छेहरु खाली हात घर फर्किनु परेको जानकारी दिए ।
दशैलाई लक्षित गरि गत आर्थिक बर्षको मौज्दात ८८ क्वीन्टल चामल सोमवार वितरण गर्दा गर्दै सकिएको खाद्य संस्थान नायकवाडा घाट डिपोका प्रमुख दीपक अर्यालले वताए । ८८ क्वीन्टल चामल वितरण गर्दा गर्दै सवैलाई पुर्याउन नसकिएको प्रमुख अर्यालको भनाई रहेको छ । चालु आर्थिक वर्षको ढुवानी अनुदानको स्वीकृत एक हजार क्वीन्टल चामल ढुवानीको जिम्मा लिएका लक्ष्मण निर्माण सेवा एण्ड सप्लायर्सका प्रोपराईटर भक्तबहादुर बस्नेतले समयमै चामल ढुवानी नगरि दिदा यस्तो समस्या आएको नेपाल खाद्य संस्थान जाजरकोट शाखाका निमित्त प्रमुख रामप्रसाद पौडेलले वताए । चालु आवको ढुवानी अनुदानको चामल घाटमा ढुवानी गर्ने सप्लार्यसले जिल्लाबाट ५० क्वीन्टल चामल यहि असोज १४ गते जिल्लावाट बुझेर लिएको तर, खाद्ये डिपो घाटमा हाल सम्म पुर्याउन नसकेको निमित्त प्रमुख पौडेलले जानकारी दिए । सप्लायर्सले ढुवानी गर्ने चामलको वाटो म्याद १७ दिन हुने र उक्त चामल दशै भन्दा पछाडी घाट डिपोमा पुग्ने पौडेलले वताए ।
१७ दिनको वाटो म्याद लाग्ने नायकवाडा स्थित घाट डिपोको लागि सदरमुकाम खलंगावाट गएको ५० क्वीन्टल चामलले आउदो तिहारमा पनि वारेकोटमा अहिले भएको चामलको मागलाई पुर्ति गर्न नसक्ने नागरिक समाजका संयोजक राजेन्द्र विक्रम शाहको भनाई रहेको छ । चाडपर्व मनाउनलाई सानो एक भेगका जनतालाई आवश्यक पर्ने चामल पुर्याउन नसक्ने राज्य र सरकारले सुत्केरी आमा तथा नवजात शिशुहरुका लागि चाहिने अत्यावश्क खाद्येवस्तु प्रत्येक नागरिकलाई पुग्ने गरि कहिले पुर्याउला, खेतवारीमा काम गर्ने सामान्य किसान, भारी बोक्ने भरिया, सुत्केरी महिला र नवजात शिशुलाई कति उर्जा क्यालोरीको खाना हुनु पर्छ भनि यस तर्फ राज्यले ध्यान कहिले देला, निकै चिन्ताको विषय बनेको छ ।
