काठमाडौँ, १२ असोज । केही ट्याङ्कर व्यवसायीले ट्याङ्करमार्फत गुणस्तरहीन पानी बिक्री वितरण गर्दै आएको फेला परे पनि अहिलेसम्म तिनीहरूलाई कुनै कारबाही भएको छैन ।
ट्याङ्कर व्यवसायीले बिक्री गर्ने पानी गुणस्तरीय भए वा नभएको अनुगमन गर्ने र अनुगमनका क्रममा गुणस्तरहीन पाइए कारबाही गर्ने जिम्मेवारी पाएको निकाय कानुनको अभाव देखाएर उम्किने गरेको छ ।
उपत्यका खानेपानी व्यवस्थापन बोर्डले केही ट्याङ्कर व्यवसायीले ट्याङ्करमार्फत गुणस्तरहीन पानी बिक्री गरे पनि कानुन नभएका कारण कारबाही गर्न नसकेको स्वीकार गरेको छ । गत चैतमा उपत्यकामा विभिन्न बहानामा ट्याङ्कर व्यवसायीहरूले ट्याङ्करबाट वितरण गर्ने पानी गुणस्तर र मूल्यमा समस्या भएको भन्ने गुनासो बढेपछि बोर्डको नेतृत्वमा ट्याङ्कर व्यवसायीले विक्री गर्ने पानीको अनुगमन गर्न समिति गठन गरिएको थियो ।
ट्याङ्करको पानी अनुगमन संयोजक तथा बोर्डका प्राविधि इञ्जिनियर बोधराज दाहालले उपत्यकामा खानेपानी ट्याङ्करको अनुगमन गर्दा केही ट्याङ्कर व्यवसायीले वदमासी गरेको प्रमाण फेला पारे पनि कानुन नभएका कारण कारबाही गर्न नसकेको स्वीकार गर्नुभयो । यसैबीच राससका अनुसार ‘जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क सम्झेर नपिउनुहोला, जारमा भरिएका अधिकांश पानी पिउन योग्य छैनन् । पिउन अयोग्य मात्र होइन, ती कतिपय जार र बोतलका पानीमा हैजा र झाडापखालाका किटाणुसमेत भेटिएका छन् ।
बोतल तथा जार एसोसिएसनका अध्यक्ष सुवास भण्डारीका अनुसार अहिले काठमाडौँ उपत्यकाभित्र एक लाख २० हजार जार र दुई लाख बोतलका पानी दैनिक रूपमा खपत भइरहेका छन् । हैजा नियन्त्रणबारे गुठी संस्थाद्वारा यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका उपनिर्देशक डा। गुणनिधि शर्माले यस पटक उपत्यकामा देखिएका अधिकांश हैजा असुरक्षित पानीका कारण भएको बताउनुभयो ।
