सन्ध्या बहिनी,
न्यानो माया
शनिवार मन्त्रीज्यूलाई कोरेको तिम्रो पत्र पढें। सारा ३ करोड नेपाली लाईझै मेरो मन पनि सारै निसास्सियो। तिम्रो उमेरको आफ्नो बेलालाई सम्झें। कलकलाउँदो तिम्रो जीवनकाल उपर प्रकृतिले गरेको निर्मम प्रहारले मेरो मन पनि छिया–छिया भयो।
आफ्नो अवस्थाका बारे तिमीलाई राम्रो ज्ञान रहेछ। बडो बहादुरी देखाएर कठिन घडिको सामना गर्दै अरुका निमित्त केही गर्ने आट देखाएछौ। म अति नै गौरवान्वित भएँ , तिम्रो सानो अभियान देखेर, अनि समुन्नत र स्वस्थ नेपालको तिम्रो सपना देखेर।
पत्रमा हातको क्यानसरका लागि अपरेसन गरेको, पेटसम्म क्यान्सर पुगिसकेको चौथो स्टेजको क्यान्सर रहेको र किमोथेरापिमा रहेको कुरा उल्लेख गरेकी रहेछौ।
रोग र मृत्यु शाश्वत सत्य हो, ढिलो चाडो यो धर्तीको माया हामी सबैले त्याग्नै पर्दछ, जतिसुकै धनी होस् वा जतिसुकै गरिब। प्रारब्धले लेखेको मिति सायद स्वीकार्नु पर्ने नै रहेछ यो धर्ती मा जोसुकैले पनि। तिम्रो यहाँनिरको विचारले मलाई छोयो।
प्रारब्धले तोकेको मितिमा त सबै एक दिन मर्नु नै छ, तर यहाँ बेथिति र अव्यवस्थाका कारण पनि मृत्युवरण गर्नुपर्ने कटुसत्यता हामी समक्ष छ। सायद हामी सबै समक्ष यो प्रश्न छ, र दिगो उत्तर र सामाधानको आशा पनि। र यही क्षेत्रको बागडोर सम्हालेका नाताले तिमीले हाम्रा मन्त्री ज्यूसँग जवाफ माग्यौ। म पनि यही क्षेत्रसँग आवद्ध भएकाले तिम्रो अपेक्षा उपर आफ्ना केही विचार पोख्दै छु।
कुनै पनि क्षेत्रमा अव्यवस्थाको शुरूवात निति र नियमनकारी निकायबाट हुन्छ। नेपालमा आमजनताको स्वास्थको जिम्मेवारी कसको भन्ने विषयमा धेरै वकालत भए पनि व्यवहारिक रुपमा यो कुरा अस्पष्ट छ।
संविधानमा जनताको स्वस्थ रहने कुरा अक्षरसः उल्लेख भए पनि त्यो कसरी हुने भन्ने कुरा स्पष्ट छैन। रोगको प्रकृति हेरेर कुनै रोग सहज रुपमा र थोरै स्रोतसाधनले निको हुन्छ भने कुनै रोगका लागि विशेष स्रोतसाधन र ठूलो धनराशिको जरुरत पर्दछ भने कुनै रोग चाहिँ विज्ञानको पहुँच भन्दा अझै पर छन्।
अमेरिका जस्तो सम्मुन्न्त राष्ट्रले पनि आफ्नो जनतालाई निस्शुल्क सबै रोगको उपचार गराउन सक्दैन भने नेपालका लागि त्यो अझ धेरै टाढाको विषय हो। सरकारले विभिन्न तवरले स्वास्थ सेवा गाउँगाउँसम्म पुर्याउने आट गरेको छ। विपन्नवर्गलाई टेवा पुग्ने गरेर विभिन्न निति ल्याएको छ। ती नीतिले गरिब रोगिको कति राहत भयो, त्यो समीक्षाको विषय हो। तिम्रा हातमा देखिएका खटिराको पूर्व अनुसन्धान हुँदो हो त सायद क्यान्सर अलि चाँडो पत्ता लागेर पहिला नै उपचार शुरु हुँदो हो भन्ने तिम्रो सन्देह बिल्कुलै जायज छ। कुनै पनि रोग जति पहिला पत्ता लाग्यो, त्यति नै उपचारको सम्भावना राम्रो हुन्छ।
कर्णालीको विकटतामा त्यो सुविधा तिमिले किन पाइनौ भनेर तिम्रो प्रश्न छ, बिल्कुल जायज प्रश्न हो, र संविधान प्रदत्त तिम्रो अधिकार पनि हो।
नेपाल एक विकासोन्मुख राष्ट्र हो। विभिन्न राजनीतिक कालखण्डमा देशका अन्य क्षेत्र झै स्वास्थ्य पनि ओझेलमा पर्यो। विगतको नेपालको दाँजोमा स्वास्थ क्षेत्रले धेरै उल्लेखनीय प्रगती गरेको छ। तर गर्न बाँकी अझै धेरै छन्। धामीझाँक्री र कुसंस्कारका बिच रुमल्लिएको नेपाली चिकित्सा प्रणाली विगत भन्दा अलि परिवर्तित छ। तर, नेपालका अझै धेरै भुभाग त्यही पुरानै अवस्थामा छन्, जहाँ स्वास्थ्यको उपलब्धता शून्यप्रायः छ, वा कागजमा मात्र छ, वा भएपनी सबैको पहुँचमा छैन।
स्वास्थ्य क्षेत्र कस्तो हुने बहस नेपालमा शुरु भइसकेको छ। विभिन्न परिस्थितिले स्वास्थ धेरै नेताहरुको बहसको विषय कम मात्र बन्ने गर्दछ। श्रद्धेय डा गोबिन्द केसिले तिम्रा यस्तै प्रश्नको अनुभुती धेरै अघि नै गरेर स्वास्थ्य सुधारका लागि अभियान शुरु गर्नु भएको तिमिलाई अवगत गराउँदछु जसमा तिमिले प्रश्न तेर्साएका मन्त्रीज्यू ले पनि राम्रो सहभागीता र सुधारका कदम चाल्नुभएको छ।
स्वास्थ्य क्षेत्र व्यवसाय हो कि सेवा, नेपालमा यो कुरा नीतिमा ओझेलमा परेको देखिन्छ। बाच्न पाउनुपर्ने नैसर्गिक हकसँग जोडिएको यो सवालको स्पष्ट अवधारणा आउनु अत्यन्त जरुरी छ। सरकारले पनि कुन जटिलतासम्म जनताको जाँचको ग्यारेन्टी लिन सकिन्छ, त्यो कुरा स्पष्ट पार्न गर्न सक्नु पर्दछ।
बिमाबाट पनि सरकारले यो अभियान अघि बढाउदै छ। दुई छाक खान नपाउने व्यक्तिले उपचारको जोहो कसरी गर्ने भन्ने प्रश्न छ तिम्रो, अवश्य पनि कसरी गर्लान् त। यो जिम्मेवारी राष्ट्रको काधमा आउँछ। कतिसम्म नाफामूलक रहन दिने यो क्षेत्र लाई भन्ने कुरा स्पष्ट पार्न जरुरी छ। स्वास्थ क्षेत्र विकेन्द्रीत हुनुपर्दछ। सबै कुरा राजधानीमा खादेर हुँदैन। यो नीति बमोजिम सरकारले मेडिकल कलेज लाई हरेक प्रदेशमा पुर्याउने ध्येय राखेर राष्ट्रिय चिकित्सा शिक्षा निति समेत निर्माण गरेको छ।
अवश्य धेरै बेथिति छन्, नराम्रो संस्कार छ, लोभलालच छ, अरुको दुस्ख कतिका निमित्त व्यापार छ यहाँ। तर सपना मरेका छैनन्। देश र जनताका लागि पाखुरा चलाउने र समुन्नत राष्ट्रको आश राख्ने को जमात अझै ठूलै छ। तिमीले मनमा बोकेको बोझ हामी सबैको अभिभारा हो। हामी यो अभियान जारी राख्ने छौं। बिस्तारै चिकित्सकहरु गाउँगाउँ पुग्न थालेका छन्, बिस्तारै विशेषज्ञ पनि पुग्नेछन्, अनि त्यसैगरि स्रोत तथा साधन पनि। अनि सहजै तिमी झै कुनै अर्कि नानीको खटिरा यत्तिकै छुट्ने सम्भावना कम हुनेछ। आशावादी रहौं।
संघर्ष पनि यो मानव जीवनको नियतिमा पर्दछ। राजा देखि रंकसम्म, सबैले संघर्ष गर्न पर्छ, कुनै न कुनै आवरणमा। तिम्रा दुस्ख हरण गर्न शायद यो राष्ट्र अनि हामी चिकित्सक र नेपालको स्वास्थ्य क्षेत्र सफल भएनन् होला, तर तिम्रो साहसले अवश्य पनि सुधारका लागि हामीलाई घचघच्याएको छ ।
जीवनको आशा मारिसकेकी तिमीले अन्य जीवनको रक्षाका लागि जे जस्तो कदम चाल्यौं, त्यो सह्रानीय छ ।
डा सुजित कुमार झा
स्वास्थ्य खबर बाट