nepal koriya सि पि पोख्रेल 

सोउल कोरियामा, १९ वैशाख – प्रवासी नेपालीको लोभलाग्दो फैलावटका कारण मुलुकबाहिर नेपाली कला, संस्कृति र साहित्य पनि फस्टाउँदो छ। पछिल्लो समय गीतसंगीत, फिल्म र साहित्यिक गतिविधिको त ओइरो नै लागेको छ। हरेक सप्ताहन्तमा मुलुकसित जोडिएको केही न केही गतिविधि भइरहेकै हुन्छन् । कोरियामा यसपटक भने पहिलोपटक पुस्तक प्रदर्शनी नै भयो। नेपाल कोरिया कल्चर सेन्टरले नेपाली भाषा साहित्यको प्रवद्र्धन ध्येयले पहिलोपटक कोरियामा साझा प्रकाशनका पुस्तकहरू प्रदर्शनी गरेको हो।

राजधानी सोलनजिकै रहेको खोयाङ सिटी हलमा अप्रिल १६ देखि २२ सम्म र आइतबार एक दिन नेपाल हाउसमा प्रदर्शनीमा भएको हो। प्रदर्शनीमा आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि भूपी शेरचनलगायत वरिष्ठ लेखक तथा साहित्यकारका कृतिहरू राखिएका थिए । नेपाली भाषा साहित्यको गौरवशाली इतिहास बोकेको साझा प्रकाशनका कृतिहरू कोरियामा प्रदर्शनी गर्न पाउँदा निकै खुसी लागेको केन्द्र अध्यक्ष मञ्जु गुरुङले बताइन्। प्रदर्शनीमा साहित्य, संस्कृति, समाज, राजनीति र इतिहाससम्बन्धी पुस्तकदेखि गुरुङ आदिकवि हर्कबहादुरको चित्र र गुरुङ शब्दकोशसमेत गरी ३ सयभन्दा बढी पुस्तक राखिएका मञ्जुले बताइन्।

पछिल्लो समय बिग्रिँदै गएको साझा प्रकाशनको अवसरमा सुधार ल्याउन पनि प्रदर्शनी गरिएको साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्र शर्माले बताए। प्रदर्शनीको अर्को महत्त्वपूर्ण पक्ष नेपाली चित्रकला रहेको थियो। चित्रकार नरबहादुर विकेको संयोजनमा भएको एक साता लामो चित्र प्रशर्दनीमा धनबहादुर याक्खा, दामोदर बराल, दोर्जे गुरुङ लामा, सञ्जु खड्गी र जेनी घलेका गरी २८ कलाकृति राखिएका थिए। एक्रेलिक, इचिङदेखि परम्परागत थाङ्का चित्रसमेत राखिएको प्रदर्शनीले नेपाली जनजीवन, प्रकृति र संस्कृतिको पाटोलाई केन्द्रमा राखेको थियो।

आइतबारको प्रदर्शनीमा भने कोरियन कवि किम ह्यङह्योको नयाँ कृति ‘खुसी मानिस’ को समेत लोकार्पण गरियो। सगरमाथा गुरुङको नाममा झन्डै आधा दर्जन नेपाली कृति प्रकाशित गरिसकेका किमको नयाँ कृति कोरियाका लागि नेपाली राजदूत, स्रष्टा प्रदीप नेपाल र साझाका अध्यक्ष शर्माले सार्वजनिक गरे। किम र नेपाल कोरिया सांस्कृतिक केन्द्रकै निम्तोमा नेपाल, शर्मा, चित्रकार विके लगायतको टोली अघिल्लो साता कोरिया आइपुगेको थियो।

टोलीले सोलस्थित नेसनल आर्ट म्युजियम, किम्पो र किम्जे सिटीलगायतको ऐतिहासिक र सांस्कृतिक क्षेत्रको भ्रमण गरेको र विभिन्न स्कुलहरूमा कोरियाली विद्यार्थीमाझ नेपाल र नेपाली साहित्यसम्बन्धी अन्तरक्रिया राखेको केन्द्रकी अध्यक्ष गुरुङले बताइन्। चर्चित कोरियन कवि किम फान योङले ढुगामा लेखेर राखेको कवितादेखि किम वंशावलीको दुई सय वर्षको इतिहास बोकेको स्टोन पार्कसम्मको अवलोकन गरेर टोली बिहीबार नेपाल फर्किंदै छ।