नवीन विभास

खरानी रङको खाली पाना फिँजाएजस्तो लाग्ने काठका फल्याकले छाएका थबाङका घर थवाङको चिनारी थियो । तर, एकाएक नीला रंगका जस्ता छाना र कंक्रिट घर भित्रिन थालेपछि थबाङ भर्खरै डण्डीफोरे यामको तन्नेरीको अनुहारजस्तो देखिन थालेको छ ।

‘पुल हाउस छ । सातु र खाजाको ठाउँमा मम, चाउमिन पाक्न थालेको छ भने ढिडोको बदलामा भात । खेतीपाती गर्न छाडेका छन्,’ अजयले भने, ‘पूरै वैदेशिक रोजगारमा निर्भर हुन थालेको छ ।’

thabangगाउँ पस्ने मूलबाटोमै भित्तामा पेन्ट गरिएको माक्र्सदेखि माओका फोटोमार्फत् थबाङले स्वागत् गर्छ । र, तिनका सिरानको अर्को भित्तामा हँसिया हथौडाअंकित झण्डा पोतिएको छ । थबाङमै घरबार बसाएका रुकुमकोटे शिक्षक रेशमकुमार शाहले बनाएका कम्युनिष्ट चिन्तक र नेताका पेन्टिङको चमक उस्ताको उस्तै देखिए नि गाउँमा सडक पुगेपछि थबाङको अनुहार भने फेरिन थालेको छ ।

विद्रोहको पर्याया मानिने थबाङले मोहनबिक्रम सिंहलाई छाडेर प्रचण्डलाई पछ्याएको थियो । त्यसपछि प्रचण्डलाई छाडेर मोहन बैद्य किरणलाई समायो । अहिले बैद्यलाई छाडेपछि थबाङ नेत्रबिक्रम चन्द विप्लव माओवादीमा लागेको छ । २०३६ को जनमत संग्रहमा पंचायतबिरुद्ध खनिएपछि सैनिक मेजर अपरेसन बेहोरेको थबाङले पछिल्लो संविधानसभा चुनावमा रित्ता बाकस फर्काएको थियो ।

कम्युनिष्टका लागि तीर्थस्थल मानिने थबाङबारे दर्जनौं विदेशी अनुसन्धाताले खोजबिन गरेका छन् । र, अहिले पनि अमेरिकी, भारतीय, बेलरुसी लगायतले अनुसन्धान गरिरहेको स्थानीय नेता बताउँछन् ।

गाउँमा मोटर पुगेपछि फेरिँदो अनुहारले ‘जान्नेभान्ने’ थबाङी अगुवालाई पिरोलेको छ । थबाङको रैथाने अनुहार बचाउन नसकेकाले चुकचुकाउँदै अझै पनि केही उपाय निक्लिहाल्छ कि भनी उनीहरुले मन्थन गर्न भने छाडेका छैनन् । ‘ठूलो गाउँका मात्रै भए पनि परम्परागत घरहरू संरक्षण गर्ने सोंच हो । सकिएन । यहाँका सबै घर फल्याकले छाएका थिए । अवशेष मात्र भए पनि बचाउन पाए हुन्थ्यो भन्ने पनि सोचियो,’ थबाङका अघिल्लो पुस्ताका नेता पूर्णबहादुर रोका मगर उर्फ कमरेड गोरेले भने, ‘जस्ताको तस्तै राख्न नसके पनि नयाँ तर एकैनासे बनाउने भन्नेतिर पनि सोचियो । जनवादी क्रान्ति नै पूरा नभएपछि हाम्रो त्यो योजना पनि पुरा भएन ।’

विप्लव माओवादीका स्थानीय युवा नेता अजय घर्ती मगरका अनुसार बाटो नजिकै पुगेपछि कंक्रिट घर बन्न थालेका हुन् । मोटरबाटो थबाङ पुगेपछि भने धेरै थपिए । ‘पर्यटकलाई तान्न पनि थबाङको पुरानो संरचना जोगाउनु पर्ने हो । तर पछिल्लो चरणमा त मोटर बाटो पुगेकाले मात्र होइन, भुइँचालो जोखिमले पनि कंक्रिट घर बने,’ अजयले भने, ‘अहिले त गाउँमा आठ दश वटा कंक्रिटका घर बनिसके ।’माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धकालमा थबाङलाई नेपालको राजधानी बनाउने आश्वासन दिएको थबाङीले भुलेका छैनन् । त्यसपछि नेपालको भन्न छाडेर मगरात राज्यको राजधानी बनाउने आश्वासन दिए । उनले थबाङलाई राजधानी बनाउन नसके पनि आफू प्रधानमन्त्री भएको बेलामा भने नमूना गाउँ बनाउन एउटा योजना दिए । थबाङको शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन गरी समग्र विकासको लागि रकम आएपछि बाटोमा ढुंगा बिछ्याइएको छ ।

थवाङको अनुहार फेरिनुमा तीन कारण छन् । एक, गाउँमा मोटर बाटो पुग्यो । दुई, प्रत्येक घरबाट एक–एकजना त विदेशमा छन् । तिनका कमाइ प्रायः घर बनाउन प्रयोग गरिएको छ । तीन, गत बर्षको बैशाखको भुइँचालोले ल्याएको भुइँचालो जोखिमको चेतना ।
स्थानीय शिक्षक धनबहादुर रोका मगर नमूना गाउँ उपभोक्ता समितिले एउटा मापदण्ड बनाएमा अझै पनि थबाङको इण्डिजिनियस अनुहार बचाउन सकिने तर्क गर्छन् ।
‘इण्डिजिनियस सीप प्रयोग गरेका घर भत्कदै छन् । फेरि त्यस्तो बन्ने सम्भावना छैन । कसले बनाउने, त्यस्ता घर रु यसरी घर भत्कदै सकिनु सीप, कला र ज्ञान बिर्सदै जानु पनि हो,’ उनले भने ।

अजयका अनुसार थबाङको जीवनशैली पनि फेरिएको छ । सोच्ने तौरतरिका पनि फेरिएको छ ।
‘पुल हाउस छ । सातु र खाजाको ठाउँमा मम, चाउमिन पाक्न थालेको छ भने ढिडोको बदलामा भात । खेतीपाती गर्न छाडेका छन्,’ अजयले भने, ‘पूरै वैदेशिक रोजगारमा निर्भर हुन थालेको छ ।’ थबाङमा जम्मा ९५२ घरधुरी छन् । जसमध्ये एक घर ठकुरी, तीन घर खत्री, १२/१५ घर गुरुङ छन् भने १५० घर दलित ९जसमध्ये २० घर परियार०। बाँकी मगर । बजारजस्तो देखिने ठूलो गाउँमा मात्र २५० घरधुरी छन् ।

कमरेड गोरेका अनुसार थबाङको ‘मोटरबाटोमोह’ नयाँ होइन । पंचायतकालमै पटकपटक मोटरबाटोको माग गरेका थिए । जनयुद्धकालको २०६० मा माओवादीले रोल्पाको नुवागाउँदेखि थबाङसम्म ‘सहिद मार्ग’ खन्ने योजना ल्यायो । त्यसबेला तात्कालीन मगरात अन्तर्गतका ११ जिल्लाका स्थानीयले खनेका हुन् । तर, गाडीलाई आफ्नै आँगनमा स्वागत् गर्न थबाङीले गत वर्षसम्म कुर्नु पर्‍यो ।

थबाङको पहिचान र यसको रैथाने अनुहार बचाउन मन भए पनि परिवेस भने सोचेजस्तो छैन । बचाउन गाह्रो भएको थबाङी युवा तर्क गर्छन् ।
‘पुरानै संरचनामा राख्न धेरैको सुझाव छ । तर संभव छैन । काठको छानाभन्दा त जस्ता नै सस्तो पर्छ,’ विप्लव माओवादी युवा नेता मूलधन रोका मगर उर्फ अर्जुन साइँलाले भने ।

स्थानीयसित अझै पनि थबाङको पुरानो रुप बचाउनलाई के गर्ने भनी बैकल्पिक छलफल भने जारी नै छ । जसमा पूर्व सांसद् बरमन बुढा मगरदेखि पूर्व सभासद् सन्तोष बुढा मगरसम्म संलग्न छन् ।

‘टाउन प्लानिङ गरी छुट्टै बस्ती बसाल्ने योजनामा पनि छलफल हुँदैछ । ८/१० मिटरको घेराभित्र खोलालाई राखेर सबैलाई बगरमा बसाएर बजार बसाउने छलफल पनि चलेको छ,’ विप्लव माओवादी नेता जयप्रकाश रोका मगर उर्फ कमरेड प्रतापले भने ।