
हालै नेपाल बुद्धिजीवी संगठन दाङको अध्यक्षमा निर्वाचित हुन भएको छ, कस्तो अनुभूति भइरहेको छ ?
हामीले भर्खरै नेपाल बुद्धिजीवी संगठन दाङको तेस्रो जिल्ला सम्मेलन यही बैशाख १० गते ऐतिहासिक रुपले भव्यताका साथ सम्पन्न गरेका छौं । उक्त सम्मेलनको उद्घाटन एकीकृत नेकपा माओवादीका अध्यक्ष कमरेड प्रचण्डले गर्नुभएको थियो भने पार्टीका थुप्रै महत्वपूर्ण व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सो सम्मेलनले बुद्धिजीवी संगठनको नयाँ जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । जसले अध्यक्षको जिम्मेवारी मलाई प्रदान गरेको छ। नेपाल बृद्धिजीवी संगठनको जिल्ला अध्यक्षको रुपमा निर्वाचित हुँदा मलाई गर्वानुभूति हुनुका साथै जिम्मेवारीबोध पनि भएको छ ।
अहिलेको अवस्थामा वुद्धिजीवीहरुको भूमिका के हुन्छ ?
देशको हरेक अवस्था र कालखण्डमा वुद्धिजीवीहरुको महत्वपूर्ण भूमिका रहिआएको छ । चाहे त्यो जनयुद्धको समयको कुरा होस् या शान्ति प्रकृया हुँदै संविधान निर्माणको क्रमसम्म आइपुग्दाको अवस्था हेरौं, वुद्धिजीवी नै त्यो वर्ग हो– जसले विचारको विश्लेषण र प्रवाह गर्ने कार्य गर्दै आइरहेको छ । संविधानसभाद्वारा निर्माण गरिएको संविधानको कार्यान्वयन र विकास अहिले प्रमुख समस्या हो । यसमा सुनियोजित रुपले अतिवादी दृष्टिकोण र भ्रमहरु सिर्जना गर्न खोजिदैछ भने समाजलाई विज्ञान विरुद्ध उल्टो दिशामा हिडाउन खोजिएको छ । यस्तो अवस्थामा सही विचार र प्रकृयालाई समाजका हरेक तह र तप्कामा सम्प्रेषण गर्ने कार्य आम प्रगतिशील र क्रान्तिकारी वुद्धिजीवीहरुको जिम्मेवारी हो ।
वुद्धिजीवीहरु खाली तर्कमात्र गर्न सिपालु हुन्छन्, व्यावहारिक हुँदैनन् भन्ने आरोप छ नि ?
यहाँले भनेको ठीकै हो । वुद्धिजीवीहरुलाई प्रायः त्यस्तो आरोप लाग्ने गरेको पाइन्छ तर वास्तविकता निकै फरक छ । स्वाभाविक रुपले वुद्धिजीवीहरु भनेको मुलतः बौद्धिक अभ्यास गर्ने वर्ग हो । हामी मालेमावादमा आवद्ध वुद्धिजीवीहरु वस्तुगत र व्यावहारिक हुन्छौं । हामीले समाज विकासको क्रम, अवस्था र आवश्यकतालाई वैज्ञानिक ढंगले प्रस्तुत गर्दछौं । तर द्वन्द्वात्मक भौतिकवाद र वैज्ञानिक समाजवादमा आधारभूत सिद्धान्तहरु नबुझेका वा न्यायिक समतामुलक समाजको निर्माण हुँदा वर्गीय स्वार्थमा खतरा देख्नेहरुले अव्यवहारिक र कुतर्क गर्ने गरेको पाइन्छ ।
नेपालका वुद्धिजीवीहरुले मुलुकका लागि के–के गरे भनेर तपाई भन्न सक्नुहुन्छ ?
हेर्नुस्, नेपालका क्रान्तिकारी वुद्धिजीवीहरुले परिर्वतनका लागि गरिएका विभिन्न आन्दोलनहरुमा खेलेको भूमिकाको चर्चा गर्दा लामो फेहरिस्त बन्ला । हरेक परिवर्तनका आन्दोलनलाई गति दिने सन्दर्भमा राजनीतिक दलहरुको नेतृत्वमा वुद्धिजीवीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमात्र नभई देश र जनताका लागि सहादत प्राप्त गरेको सत्य हाम्रा अगाडि छर्लङ्ग छ ।
वुद्धिजीवीहरु आफ्नो विवेकभन्दा पार्टीको झोले भएर दृष्टिकोण दिन्छन् भन्ने आरोप छ नि ?
वुर्जुवा पार्टीका वुद्धिजीवीहरुको सन्दर्भमा यो आरोप सत्य होला तर नेपाल वुद्धिजीवी संगठनले मालेमावादका आधारभूत सिद्धान्तहरु वर्गसंघर्ष र उत्पादन संघर्षका अनुभव माथि आधारित भएर आफ्ना विचारहरु प्रकट गर्ने गरेको छ । विशेषतः स्टालिनकालमा अति बढी देखा परेको एकमनावादी प्रवृत्ति अन्त्य गर्न एमाओवादीले एक्काइशौं शताब्दीमा जनवादको विकास नामक दस्तावेज अगाडि सारेपछि स्वतन्त्र रुपले आफ्ना विचारहरु प्रकट गर्ने काम निकै अगाडि बढेको छ । तर जनवादको अभ्यासका नाममा अराजकता र केन्द्रीयताको अभ्यास गर्ने नाममा नोकरशाही निरङ्कुशता दुवैलाई स्वीकार गर्दैनौं । त्यसकारण कतिपय संवेदनशील मामिलाहरुमा पार्टीले वा हाम्रो कमिटीले निर्णय नगर्दासम्म कमिटी प्रणालीअन्तर्गत नै हामीले विचारहरु उठाउने गरेका छौं । हामी छलफलमा स्वतन्त्रता र काम कारवाहीमा एकरुपताको सिद्धान्तलाई स्वीकार गर्छाैं । तर तपाईले भनेजस्तै झोले प्रवृत्ति भड्कावको रुपमा कहिलेकाँही हाम्रो संगठनका साथीहरुमा देखिने गरेको प्रवृत्तिलाई हामीले स्वीकार गर्छाैं ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई संविधान जारी हुँदाको अवस्थासम्म आइपुग्दा कसरी हेर्नुभएको छ ?
नेपालको कम्युनिष्ट आन्दोलनमा प्रारम्भदेखि नै दक्षिणपन्थी संशोधनवाद मुख्य समस्याका रुपमा रहिआएको छ । कुरा क्रान्तिकारी गर्ने तर व्यवहारमामा सिन्को नभाँच्ने वामपन्थी लफ्फाजी र जडसूत्रीय संशोधनवाद पनि अर्काे समस्याको रुपमा रहेको छ । तर नेपालका सबै परिर्वतनकारी आन्दोलन कम्युनिष्टहरुको मुख्य भूमिका रह्यो । पछिल्लो समयमा एमाओवादीले दुबैथरी अतिवादबाट पार्टीलाई मुक्त गर्दै सञ्चालन गरेको जनयुद्ध शान्ति प्रकृया र संविधान निर्माणको एजेन्डा र भूमिका दु्वै दृष्टिकोणले नेपालको कम्युनिष्ट आन्दोलन नेपाली राजनीतिको मूल प्रवाह बन्न सफल भएको छ ।
संविधान जारी भएको छ यसको कार्यान्वयनका लागि कस्ता चुनौतिहरु देख्नु भएको छ ?
संविधान कार्यान्वयनका लागि विभिन्न चुनौतीहरु रहेका छन् । संविधानका विरुद्धमा भारतले दिएको नकारात्मक प्रतिक्रिया, द्वन्द्वकालीन मुद्धालाई अन्तराष्ट्रियकरण गर्ने जुन प्रयत्न केही बाह्य चुनौती हुन् भने देशभित्रका राजनीतिक शक्तिहरुमा संविधान घोषणाको समयसम्म देखिएको अभुतपूर्व एकता खण्डित हुनुले अहिले चुनौतिहरु थपिएका छन् । तर राष्ट्रिय राजनीतिक शक्तिहरुका बीचमा एकता भयो भने चुनौतिहरुको सामना गर्न सकिन्छ जनस्तरबाट दबाब पनि उत्तिकै आवश्यकता छ ।
तपाईको दृष्टिकोणमा यो संविधान कुन चरित्रको हो ?
यो संविधान मुलतः पूँजीवादी जनवादी चरित्रको नै हो तर मौलिक अधिकार जसमा शिक्षा, स्वास्थ्य खाद्य सम्प्रभुताको हकलगायतका जनअधिकारको ग्यारेन्टी, समानुपातिक र समावेशी चरित्र लगायतका विशेषताहरुले संविधानलाई स्केन्डिनेभियन देशहरुको जस्तो समाजवादउन्मुख बनाएको छ ।
संविधानमा समाजवादउन्मुख हुने भनेर लेखिएको छ तर मुल चरित्र फेरि संसदवादी नै देखिन्छ । यो त अलि अन्तरविरोध भएन र ?
अहिलेको संविधान शक्ति सन्तुलनको दस्तावेज हो । संविधान निर्माणका क्रममा एमाओवादीको जोड संविधानमा समाजवादका अन्तर्वस्तु समावेश गर्ने कुरा रह्यो । नेपाली कांग्रेसको जोड संसदवादी बनाउनेमा रह््यो । संविधान समानुपातिक र समावेशीताका दृष्टिकोणले समाजवाद उन्मुख रह्यो भने सरकार निर्माणको व्यवस्थाका दृष्टिकोणले संसदवादी चरित्रको रह्यो । संविधानमा व्यवस्था गरिएको अहिलेको निर्वाचन प्रणालीले कसैको पनि स्पष्ट वहुमत नहुने हुनाले ढिलो या चाँडो प्रत्यक्ष निर्वाचित सरकार प्रमुखको व्यवस्थामा लैजाने हामीले विश्वास लिएका छौं यो अहिलेको आवश्यकता हो ।
संविधान कार्यान्वयनका र समाजवादी क्रान्तिका लागि वाम एकता आवश्यक छ भनिन्छ । यस सन्दर्भमा यहाँको दृष्टिकोण के हो ?
संविधान कार्यान्वयन र समाजवादी क्रान्तिका लागि राष्ट्रिय एकता अनिवार्य छ । यस तथ्यमाथि हामीले बारम्बार जोड दिएका छौं । संविधानको भावना अनुकूल हुने गरी ऐन कानुनको निर्माण गर्न, विभिन्न शक्तिकेन्द्रबाट आउने दबाबको सामना गर्न, संविधानलाई लिएर देशका विभिन्न भागमा देखापरेका असन्तुष्टिहरुलाई सम्बोधन गर्न यस्तो सहकार्य आवश्यक छ । तर समाजवादी क्रान्ति क्रान्तिकारी विचार बोकेको कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्र सम्भव छ । त्यसकारण अहिलेको सापेक्षतामा क्रान्तिकारी विचार समुहको प्रतिनिधित्व गर्ने माओवादी समुहहरु बीचको एकतामा हामीले जोड दिएका छौं । विचारधारात्मक एकताबिना निरपेक्षरुपले ‘वाम एकता’को प्रश्नमा जोड दिने पक्षमा हामी छैनौं । समाजवादी क्रान्तिका लागि कार्यगत एकतामार्फत् बृहत्तर संयुक्त मोर्चा बनाउने नीति र विधिको भने हामी समर्थन गर्दछौं ।
०००
