इन्द्रेणी संवाददाता

दाङ , भदौ १४ । ०५८ साल चैत्र १९ गते दिँउसो मासु ल्याउछु भनेर  बजार हिंडेका घोराही २ पछुर्का निवासी कृष्णा चौधरिका श्रीमान बिर्जु चौधरि अबेर सम्म नि घर फर्किएनन । पछि बुझदै जाँदा उनलाई तत्कालीन शाही सेनाले बजारबाट बिनापुर्जी पक्रिएको रहेछ । १५ वर्ष भयो न त उनका श्रिमान फर्किएका छन न त उनको अवस्थाबारे कृष्णालाई केही जानकारी छ । आफनो श्रिमानको अवस्थाबारे थाहा पाउन सोही वर्ष जन्मिएकी छोरीलाई काखमा च्यापेर उनि राज्यको कुन कुन ढोका मात्र चहारिनन ।

14182168_1408033009224422_2115317143_n (1)
मंगलबार घोराही २ पछुर्कामा सम्मान कार्यक्रममा उपस्थित बेपताका परिवारहरु

तर अभिभावक ठानिएको राज्यले उनको आशालाई यति लामो समय बितीसक्दा पनि पुरा गरिदिएको छैन्। ‘ २ वर्ष मात्रै भएको थियो बिहे भएको । छोरी पनि त्यसै साल जन्मिई । श्रिमान खोज्न राज्यका सम्बन्धित निकायका ढोका धाँउदा झनै दुःख मात्र पाँए ।  ’ यसो भनिरहँदा कृष्णाका चाउरिएका गालाले श्रिमानको अभावमा बिताउनुपरेका निरस दिनहरुको झल्को प्रष्ट दिईरहेको थियो ।

यस्तै घोराही ३ ओखराका रामप्रसाद चौधरिको दुःख त झनै पीडादायी छ । द्धन्दकालमा सेनाले उनको छोरा मारिदियो भने छोरी रामकली चौधरिलाई बेपता पारिदियो ।‘ उपचारका लागी छोरी घोराही स्थित महेन्द्र अस्पतालमा गएकि थिई ’ चौधरिले भने ‘ सेनाले अलिकती पनि दया नराखेर उपचारका लागी लाईनमा लागेकी छोरिलाई पक्रेर बेपता पारिदियो । निर्दोष छोरीको खोजी गर्न जाँदा उल्टै मलाई २ महिना जेल कोचियो ’ चौधरिले दिएका जानकारी अनुसार बेपता   पार्नु भन्दा २ महिना अघि मात्र रामकलीको बिहे भएको थियो ।

सास छैन भने चिहान देखाउ
मंगलबार ३३ औँ अन्तराष्ट्रिय बेपता पार्ने विरुद्धको दिवसमा बेपता पारिएका परिवारहरुलाई सम्मान गर्न गाँउ पुगेका जिल्लाका मानवअधिकारबादी संघसंस्थासामु पिडित परिवारले बेपता पारिएका आफना आफन्तको स्थिीति सार्वजनिक गर्न सघाउन आग्रह गरे । ‘ न्याय पाउने आशामा राज्यका विभीन्न निकायका ढोका चहार्दा चहार्दा हामी त थाकीसकेका छौं । ’ कृष्णा चौधरिले भनिन ‘ सास नभएपनि कम्तिमा राज्यले श्रिमानको चिहान त देखाईदेओस । कहिले सम्म पर्खिएर बस्ने ?’

14182297_1408033032557753_896021190_n
मंगलबार घोराही २ पछुर्कामा सम्मान कार्यक्रममा उपस्थित बेपताका परिवारहरु

घोराही २ पछुर्कामा बेपता पारिएका परिवारका सदस्यलाई सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा हरप्लेस दाङका संयोजक विनोद केसीले द्धन्द समाप्त भइसकेपछि पनि नागरिकको पिडा नसकिनु दुःखदायी भएको बताए । ‘ द्धन्द सकिएको यति लामो समय सम्म पनि नागरिकलाई आफन्तको अवस्थाबारे थाहा पाउने सुचनाको हकबाट वञ्चित गर्नु लोकतान्त्रिक मुल्यमान्यताको उपहास हो ’ उनले भने ‘ जतिसक्दो चाँडो बेपता पारिएको नागरिकको अवस्था राज्यले सार्वजनिक गर्न आवश्यक छ ।’

जिवन धान्न गाह्रो
आफन्तलाई गुमाउनुपरेपछि जिवन धान्न गाह्रो परेको बेपता परिवारका पीडितहरुले बताएका छन । सन्तान गुमाएका परिवारले बुढयौलीको सहारा खोसीदा खान बस्न समेत अप्ठयारो परेको बताएका छन । घोराही २ पर्छुका कि कृष्णा चौधरिले ९ कक्षामा पढ्ने १५ वर्षीय छोरी र  २ कक्षामा पढ्ने १० वर्षको छोराको भविष्य अन्यौलपुर्ण बन्दै गएको बताईन । ‘ अहिले सम्म त जसोतसो गुजारा चलाएका छौं’ उनले भनिन ‘  तर अब सन्तान नि ठुला हुँदै गएका छन । खर्च पनि बढ्दै गएको छ ।’
यस्तै ओखराका रामप्रसाद चौधरिले राज्यले  आफनो दुःखलाई सही ढङले सम्बोधन नगरेको गुनासो गरे । ‘ माओबादीको आरोप लगाएर हाम्रा आफन्तलाई यसरी बेपता पारिएको हो । ’ उनले भने ‘ अहिले स्वयम माओबादी नेतृत्वको सरकार छ । छोरीको अवस्था बारे जानकारी संगै राज्यको सहारा पाइयोस भन्ने आशामा छौं ।’

दाङमा मात्रै करिब १ सय ५० बेपता
मानवअधिकारबादी संस्था ईन्सेक दाङले जनाएअनुसार जिल्लामा मात्रै हाल १सय २९ जना बेपता पारिएका छन् । द्धन्द समाप्त भएको शुरुवाति चरणमा बेपता पारिएका ७९ जनाको निवेदन परेको थियो भने त्यसपछि १ सय १३ जनाको परिवारले शान्ति समीतिमा राहतका लागी निवेदन दिएका थिए । हाल मेलमिलाप तथा सत्य निरुपण आयोग गठन भएपछि बेपता पारिएकाहरुको संख्या बढेको स्थानिय शान्ति समीति दाङले जनाएको छ ।‘ न्याय पाउने आशामा पिडीत परिवारले वर्षो बिताएका छन ’ ईन्सेक दाङका प्रतिनिधी जेएन सागरले भने ‘ हाल आयोगले न्याय दिने विश्वासमा निवेदन दिनेहरुको संख्या पनि बढेको हो ।’