saurya urjaकाठमाडौं, १४ भदौ ।  सरकारले घोषणा गरेको ऊर्जा सङ्कट निवारण कार्ययोजना अनुसार सहरी क्षेत्रका घरायसी प्रयोजनादेखि औद्योगिक, शैक्षिक संस्था, बैंक, अस्पताललगायत अन्य निकायहरुमा ऊर्जाको अभाव हुन नदिन सौर्य ऊर्जा प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको छ ।

जर्मन सहयोग नियोगको सहयोगमा ऊर्जा मन्त्रालयले सोमबार ललितपुरमा गरेको राष्ट्रिय प्रशारण प्रणालीमा सौर्य विद्युत जोड्न सकिने विषयमा सरोकारवालाको परामर्श कार्यशालामा सहभागी वक्ताले विश्वव्यापीरुपमा सौर्य ऊर्जाको प्रयोग बढ्दै गएको र नेपालमा पनि यसको प्रशस्त सम्भावना रहेकाले जलविद्युत्सँगै सौर्य विद्युत्को पनि प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।

अहिलेपनि सौर्य ऊर्जाबाट आठ लाख नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् भने शहरी क्षेत्रमा पनि यसलाई बिस्तार गरी घरघरका छतहरुमा सौर्य प्रणाली राखेर आफूलाई बढी भएको विद्युत प्राधिकरणलाई बिक्री गर्ने संयन्त्रको विकास गर्न सकिएमा ऊर्जाको अहिलेको सङ्कट समाधान गर्न सकिने उनीहरुको भनाई छ ।

कार्यशालामा ऊर्जा मन्त्री जनार्दशन शर्माले आयोजना कार्यान्वयनको क्रममा विद्युत खरिद सम्झौता गर्ने तहमा पुगेका परियोजनाहरुको एक हप्ताभित्र आफूले टुङ्गो लगाउने बताउनुभयो ।

उहाँले ऊर्जा सङ्कट भनेर अब हुँदैन, जे जसरी हुन्छ यसको समाधानका लागि नेपाल विद्युत् प्राधिकरणलगायत अन्य सरोकारवाला निकायबाट ठोस निर्णय हुनुपर्दछ भन्नुभयो । मन्त्री शर्माले अध्ययन, अनुसन्धान भन्दै परियोजना ओगट्ने प्रवृत्तिको अन्त्य हुनुपर्दछ, कुनै नीतिगत निर्णय वा अन्य कुनै सहयोग परे मन्त्रालयले सहजीकरण गर्ने बताउनुभयो ।

मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले नेट मिटरिङको कार्यलाई यथाशीघ्र अगाडि बढाइने बताउँदै जलाशययुक्त आयोजना र भूकम्प प्रभावित क्षेत्रका आयोजनालाई थप सहयोग गरी कार्यान्वयनमा लैजान मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्नुभयो ।