दीपबहादुर घर्ती
जाजरकोट, १३ भदौ ।
जिल्लामा व्यवसायिक रुपमा किसानहरुले पाल्ने गरेको मौरी दक्षिण एशियाकै रैथाने सेराना जातको मौरी पाल्दै रहेको छ । पहाडी जिल्लाको भौगलिक बनावट र हावा पानी तथा सुहाउदो वातावरण भएको हुदा किसानहरुले सेराना जातको मौरी पाल्दै आएका हुन् ।भित्री मधेश तथा तराईका व्यवसायिक किसानहरुले पाल्दै आएको मेलिफेरा जातको मौरी जाजरकोटको पहाडी भु–भाग सुहाउदो हुन नसक्ने मौरी विज्ञहरुको भनाई रहेको छ । सेराना जातको मौरी दक्षिण एशियामै उत्पती भई यहाँकै हावा पानी र वातावरण सुहाउदो हुन सकेको वताईन्छ भने, मेलिफेरा जातको मौरीको उत्पती युरोपमा भई धेरै समय पछि तराईका व्यवसायिक किसानहरुले नेपाल भित्र्याएको वताईन्छ ।
सेराना मौरी भन्दा दुई गुण ठुलो आकारमा रहेको मेलिफेरा मौरीमा सेराना मौरी भन्दा वढी मह वोक्न सक्ने ताकत भएता पनि पहाडी भु–भागमा उकालो र ओरालो गरि उड्न नसक्ने विज्ञहरुको भनाई छ । सिधा मैदानी भु–भागमा मात्र उड्न सक्ने मेलिफेरा मौरीले हवाई मार्गवाट ५ किलो मिटर सम्मको दुरीलाई चरण क्षेत्रको रुपमा प्रयोग गर्न सक्ने वताईएको छ भने, सेराना मौरीले हवाई मार्गवाट ३ किलो मिटर सम्मको दुरीलाई चरण क्षेत्रको रुपमा प्रयोग गर्ने वताईएको छ ।
रैथाने भएता पनि सेराना जातको मौरीमा जंगली स्वभाव कायमै रहेको छ । समुह त्याग र गृह त्याग गर्दा सेराना जातको मौरी जंगलमा गएर पनि बास स्थान बनाउने गरेको पाईन्छ भने, मेलिफेरा जातको मौरीले कहिले पनि जंगलमा बास स्थान वनाउने गरेको पाईएको छैन् । रिसालु स्वभाव भएको सेराना मौरीले मान्छे लगाएत अन्य जीव जनावरहरुलाई पनि टोक्ने गरेको पाईन्छ भने, मेलिफेरा जातको मौरीले कहिले पनि मान्छेलाई नटोक्ने विज्ञहरुको भनाई रहेको छ ।
जाजरकोटका किसानहरुले पाल्दै आएको सेराना मौरीलाई मेलिफेरा जातको मौरी जस्तै गुण र स्वभावको वनाउनलाई अझै धेरै वर्ष लाग्ने विज्ञहरुले वताएका छन् । जिल्लामा पाल्दै आएको सेराना मौरीलाई किसानहरुले आधुनिक तथा मुडे धारमा पाल्दै आएका छन् । धेरैले त झन घरको वालमा पाल्ने गरेको देख्न सकिन्छ ।
किसानहरुले व्यवसायिक रुपमा मौरी पालन गरेता पनि मौरी पालनको लागि फाराम, सहकारी र समुह भने गठन गरेका छैनन् । २०७१ सालमा मौरी पालक महासंघ जाजरकोट शाखाको भने गठन भने भएको छ । मेलिफेरा जातको मौरी नेपालको चितवन, नवलपरासी, गोर्खा, मकावनपुर लगाएतका किसानहरुले पाल्ने गरेको पाईएको छ ।।
