श्रवन

कविता- “हो देश मुर्दा घर”

श्रवन

                         श्रवण नेपाली

मात्रै शान्ति भनेर भ्रान्ति जहिले यो देशमा देखियो
धेरै जालहरू बुनेर भ्रमको आशाहरू पोखियो
बेच्दा भाव र भक्ति यै शहरमा साक्षी रह्यो ईश्वर
मर्दै मानवता छ बाँच्छ जन यो हो देश मुर्दा घर

 

बच्चा मर्दछ पेटभित्र सजिलै विज्ञानले के गर्योरु
हिड्छन् भाउ लिएर अक्सिजन नै पैसा कठै लौ मर्यो
छैनन् है किन रूख यो भुवनमा काटेर साँचे पर
लासै छन् सब अग्रगामी पथमा हो देश मुर्दा घर

 

हाम्रो कानुन जान्छ भारततिरै उड्दो परेवा सरि
देख्दा हालत देशको गगनमा नाच्दैन ऐले चरी
बैसाखी लिइ हिड्छ देश अहिले द्रोहीहरुका भर
जाग्दैनन् यदी देशका युवक यी हो देश मुर्दा घर

 

मेरो देश विदेश जान्छ दिनहूँ शक्ति सबै छन् उता
देख्दा बन्जर खेत फाँट सब यी रुन्छिन् धरा नै यता
शक्ति पुञ्ज युवा यसै सुतिरहे लौ गर्नु कस्को भर
जाग्दैनन् यदी देशका युवक यी हो देश मुर्दा घर

 

मात्रै व्यक्ति भनेर दौडिइ रहे सिद्धान्त कस्ले बुझे
मात्रै अन्ध बनेर बस्नु जहिल्यै सारा कुरामा चुके
आफ्नै देश चुडेर लान्छ उसले बानी रह्यो काँतर
यस्तै शक्ति सधै सधै सुतिरहे हो देश मुर्दा घर

 

हामी देश बनाउने प्रण गरौँ स्वाधीनता गौरव
पाखामा हरिया र लाख थरिका पुष्पाञ्जली सौरभ
सुत्ने शक्ति उजागरै गरिदिए बन्छौ स्वयम् निर्भर
बुद्वै बेच्न भनेर तम्सिन पुगे हो देश मुर्दा घर

 

                                          (शार्दूल विक्रीडित छन्द)

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com