km nusthuri-simarekha

कथा : मेटिएको सीमा रेखा

केशरमान बुढाथोकी 

एकाबिहानै कतै टाढै मानवको जस्तै कारुणिक क्रन्दन उमेशको कानमा ठोक्किन पुग्छ । धर्तीमाता काली रातलाई बिदा गरेर नवप्रभातलाई स्वागत गर्ने तरखरमा थिइन् । त्यही नै झिसमिसेमा आएको वेदनापूर्ण कलहले उमेश झस्किएर निन्द्राबाट ब्यूँझन्छ ।

एकैछिन ध्यानमग्न भएर त्यो क्रन्दन सुनिसकेपछि उसले अनुमान लगाउँछ– त्यो क्रन्दन हिजोको जस्तै अनि अस्तिको जस्तै क्रन्दन नै हो, जो ती गाउँहरुमा नियमित सुनिरहन्छन् त्यसैले त्यो क्रन्दन कुनै नौलो विषय छैन । तर, थोरै भिन्नता हिजो मानेभञ्ज्याङमा थियो, आज महेशपुरजस्तो लाग्छ उमेशलाई । झनै–झनै तीव्र बन्दै गएको कोलाहलले उमेशलाई झक्झक्याउँछ ।

र, ऊ हठात् उठ्छ, जीउ तन्काउँछ, यसो झ्यालबाट पारि गाउँतिर आँखाले भ्याएसम्म नजर लगाउँछ, फर्केर बाथरुमतिर लाग्छ, पिसाब फेर्छ र कोठाभित्र पस्छ । अनि गम्भीर बनेर एकैछिन सोच्छ । कुन ठाउँमा जन्म ल्याइएछ यसरी नियमित अरुको हेपाइ दबाई सहेर बस्नुपर्ने ? खैं के गर्न सकियो अनि सकिन्छ र ती राक्षसहरुको दमनलाई ? यस्तै के–के न सोचिरहन्छ ऊ.. ।

नजिकै गाउँमा एउटा सुकोमल गुलाब फक्रदै थियो, मौलाउँदै थियो । त्यो गुलाब संरक्षण पाएको भए सारा नन्दन उज्यालो पार्ने थियो । उद्यान हँसाउने थियो तर आज त्यही फक्रदै गरेको कोपिला दुष्टहरुको आँखामा बिझाउने काँडा भएछ, त्यसैले ती नरअपराधीहरुले डाँठै निमोठेर लिएछन् । मालीको कुनै प्रवाह नगरेर त्यो कोपिला चुडाएछन् अनि सँगै लिएर गएछन् ।

व्याधाले बचेरा मारिदिएको भँगेरीझैं आर्तनाद सुनाइरहिछे पार्वती । आँगनको धूलोमा लडिबुडी गर्दै शरीरमा पहिरिएको झुत्रा चिथराहरुको कुनै ख्याल नगरी अर्धपागलझैं के–के न बकिरहेछ । छारो धूलो छरिरहेछिन् । रुँदै कराउँदै निकै विलौना गर्दै छिन–छिनमा बडो जोडसँग हत्केलाले छाती पिट्दै अलापविलाप गरिरहेछिन् । उनको त्यो बिलौना सुनिदिने दुई तीन जना रमिते केटाकेटी सिवाय अरु कोही थिएन किनकि यो गाउँमा यस्ताखाले घटना सामान्य दोहोरिरहने घटना भइसके । यस्ता दुष्टहरु ती गाउँहरुमा नियमित आउने र ज्यादती मच्चाउने गर्छन् । त्यसैले आज पार्वतीको घरमा निकै विलाप छ । हिजो अर्कै घरमा थियो भोलि कहाँ हुने हो कुनै पत्तो छैन ।

“हजारौं योद्धाहरुको रगतले कोरिएका सीमारेखाहरु आज खरानीको धूलोले पुर्ने कुचेष्टा गरिरहेछन् राक्षसहरु, हजारौं वीरयोद्धाहरुको शालिक बनेको सीमास्तम्भहरु आज गल लगाएर ढालिरहेछन् नरपिचासहरु । धर्तीमाताका नजर बन्द गरिएका छन् ।”

यी सबै कुराको अनुभव गरेको उमेशको कोमल हृदयमा पार्वतीको त्यो कारुणिक क्रन्दनले गम्भीर आघात पुग्छ । उसमा प्रतिशोधको भावना उत्पन्न हुन्छ ती पत्थरजस्तो मुटु भएका दानवहरुसँग । ती नरराक्षसहरु मानव आकृतिको मुकुण्डो भिरेर सीमापारिबाट आएका ब्वाँसाहरुप्रति । ती राक्षसहरुको निर्दयी व्यवहार सम्झदा निर्मल उमेशको आवेगले रक्तसञ्चार रोकिएझैं हुन्छ तर दर्जनौं राक्षसहरुका सामु एउटा बेसहारा मानवले के गरोस् ? उसलाई हौसला र साहस थपिदिने कोही छैन न त ती राक्षसका विरुद्धमा लड्न ऊर्जा दिने कोही छ । उमेश संयमित हुन खोज्दछ ।
यो सृष्टिको रमणीय बाटिकामा हिजो हिरोसिमा र नागासाकी बज्रदा धर्तीमाता डाँको छाडेर रोएथिन् । आफ्नो कुपुत्र हिटलरको नाङ्गो नाच नियन्त्रण गर्न अग्रसर भएथिन् अनि रंगभेदी कलह नगर्न सबै सन्ततीलाई सुझाएथिन् तर आज धर्तीमाता निशब्दी भएछिन्, निरीह भएछिन् । हजारौं योद्धाहरुको रगतले कोरिएका सीमारेखाहरु आज खरानीको धूलोले पुर्ने कुचेष्टा गरिरहेछन् राक्षसहरु, हजारौं वीरयोद्धाहरुको शालिक बनेको सीमास्तम्भहरु आज गल लगाएर ढालिरहेछन् नरपिचासहरु । धर्तीमाताका नजर बन्द गरिएका छन् । कोमल कर र पदहरुमा हत्कडी र नेल लगाइएका छन् । अनि एकबाट अर्को ठाउँमा आएर ताण्डव देखाइरहेछन् व्वाँसाहरु ।

पर्खालपारिका दुष्टहरुका विषालु नङ्ग्राहरुले चिथोरिदै आज फेरि बिचरी मैनाले जबर्जस्त बेचिनुपरेको छ । कठै, बिचरी आफ्नो जीवनमा के–के न गरौंला भनेर सुनौला सपनाहरु सजाएर राखेकी थिई होला आफ्नो हृदयमा तर उसले सोचेका सारा सपनाहरु सिसाको सोकेशमा सजाएर राखेका काँचका चुरा भइसके, जो एकठक्करमै फुटेर जाऊन् । कल्पनै गर्न नसकिने घटना आज उसमा वास्तविकरुपमा घटेको छ । उसको सारा शरिरमा निरन्तर व्वाँसाहरुको टोकाई र चिथोराई ! बिचरी आज उसको नारी अस्मिता लुटिएको छ । ती दानवको कामेच्छा पूरा गर्न सित्तैमा बेचिनुपरेको छ ।

मैनाका शरिरमा शोभायमान अलंकारहरुले भर्खर उसको सुन्दरताको परिचय दिन खोज्दै थिए । तर, ती अलंकारहरुमा अजिंगरको विष सल्बलाइरहेछ अहिले । पार्वती क्षण–क्षणमा ठूलो आवाज निकालेर बेस्गरी कराउँछे र कतिखेर शान्त भएर सुन्छे कतै आएनि छोरीको मलिन आवाज गुन्जन्छ कि भनेर एकाग्र बन्छे तर मैनालाई कालो अजिंगरले शरीरैभरि डस्दै–डस्दै निकै टाढा पु¥याइसकेछ अहिले । त्यहाँ अजिंगरको पञ्जाबाट मैनालाई उम्काउने साहस गरेर कुनै गरुड आउन सकेन ।

त्यो पार्वतीको घरमा घटेको भयावह घटनाले उमेशको मनमा खिन्नता उत्पन्न हुन्छ । आफू पुरुष भएर पनि पुरुषार्थ देखाउन नसकेकोमा हिनताबोध उत्पन्न हुन्छ । ती अपराधीहरुको प्रतिकार गर्न नसकेकोमा दुःखी हुन्छ उमेश । उसले मनमा के–के न कुरा खेलाइरहन्छ र आफ्नो मनमा आफै प्रश्न उब्जन्छन् केवल निरुत्तरित प्रश्न एउटा अबोध बालिका नरपिचासहरुको पञ्जामा पर्दा उसलाई उन्मुक्ति दिन आज कुनै महापुरुष आएनन् । उमेशले एकैछिन आफ्ना अग्रजहरुलाई सम्झन्छ, हिजो फिरंगीका गिद्धेदृष्टि पर्दा अर्जुन बनेर वाण हान्ने अग्रजलाई स्मरण गर्दा उमेशको छाती ढक्क फुलेर आउँछ तर आज महाबज्रको सामना गरिरहेकी पार्वतीलाई हौस्याउने साहस पनि गर्न सक्दैन उसले ।

गरिबी हटाउन सीमापारि पुगेको माने घर फर्कदै गर्दा उहिले नै सीमाबाट बेपत्ता भयो । मैना र अन्य नाबालक सन्तानको अनुहार हेरेर प्राण धान्ने अभिलाषा राखेकी पार्वतीको आज सहारा गुमेको छ । ऊ आज निर्जन भूमिमा बाटो बिराएको बटुवाझैं अन्योल परेकी छे । यत्तिकैमा पार्वतीको छोरो सानो बाबु आउँछ, आँसु पुछ्दै आमालाई आश्वस्त पार्ने प्रयास गर्छ । ‘नरुनुहोस् आमा मेरो दिदीलाई लिएर जाने ती गुण्डाहरुसँग म ठूलो भएपछि बदला लिनेछु ।’ चिन्ता नगर्नुहोस् भाग्य भए दिदी ती राक्षसका पञ्जाबाट मुक्त हुनेछिन्, दिदी आएनन् भने यो भाई भोलि वीर अर्जुन, भिमसेन बन्नेछ र ती अन्याय, अत्याचार गरेर सोझा साझा जनताको रगतमा पौडी खेल्ने काला नागहरुलाई छप्काउनेछ, टुक्राउनेछ ।

पार्वतीको रोदनले कुण्ठित आवाज गुञ्जायमान हुन्छ– छोरा, अस्ति तेरो बुवा पनि फर्केर आउनेछन् भन्ने आसैआसमा बसियो ख्वै आएनन् ? अनि पल्लो गाउँकी गौंथलीको १५ दिनपछि मात्र क्षतविक्षत शव फर्किएको थियो । ऊ पारिका निलम, धनकला, श्याममाया, लालमतिहरु बम्बैको कालकोठरीमा छन् रे । खै हाम्री मैनालाई पनि के गर्नेछन् ।

पार्वती यस्तै–यस्तै के–के न गुनगुनाइरहिन् । सानो बाबु गम्भीर भएर के–के गमिरहेथ्यो । यिनीहरुको यो गुनगुन अलिकति टाढाबाट उमेशले सुनिरहेको थियो । यत्तिकैमा सानो बाबु निकै क्रोधित भएर घरभित्र गयो, एउटा पुरानो खिया लागेको तरबार लिएर आयो र पार्वतीको छेऊमा आएर भन्यो– आमा म जान्छु ती ती व्वाँसाहरुलाई यही तरबारले छप्काएर आउँछु । मेरी दिदीलाई लिएर आउँछु । पार्वती झनै भावुक हुन्छे ।
नजाऊ बाबु नजाऊ ती त राक्षस हुन्, मानिसजस्तो मुकुण्डो भिरेका भुतप्रेतहरु हुन्, तिमी त्यहाँ गयौ भने तिमीलाई पनि छोड्ने छैनन् । त्यसैले तिमी त्यहाँ नजाऊ । तर सानो बाबु मान्दैन ऊ दौडिन्छ, पार्वती झन् विलाप गर्छे । यिनीहरुको वेदनाको मुकदर्शक बनेको उमेश पनि नजिकै आउँछ र सानो बाबुको पछि–पछि दौडन्छ । सानो बाबु रोक्के, रोक्के नजा, अब पर नजा तँ पनि बेपत्ता हुनेछस्, तँ पनि कुटिनेछस्, मासिनेछस् नजा’ भन्दै कराउँछ, अझ थप जोड–जोडले कराउँछ सानो बाबु.. सानो बाबु… सानो बाबु ।

तर सानो बाबु निकै पर गइसकेको हुन्छ । हातमा नांगो तरबार लिएर रप्तार–रप्तारमा कुदिरहन्छ । सानो बाबु कसैको आवाज नसुनेर क्रोध र आक्रोशले भरिएको मस्तिष्क अनि नाङ्गो तरबार बोकेर ऊ कुदिरहन्छ । पारि बैरीको सिमातिर दौडिरहन्छ । उसको पछि–पछि कुदिरहेको उमेश पनि सीमासम्म पुग्छ तर सानो बाबुलाई रोक्न सक्दैन । उसको मनमा निकै पश्चाताप हुन्छ । उसले न मैनालाई बचाउन सक्यो न त सानो बाबुलाई । एकाबिहानै पार्वतीको घरमा प्रहार भएको बज्रलाई टाढैबाट हेरिरहेको थियो उमेश । उसले न त वेदनाले छटपटाइरहेकी पार्वतीलाई कुनै सान्त्वना दिनसक्यो न मैनालाई नरपिचासका पञ्जाबाट फुत्क्याउन सफल भयो न सानो बाबुलाई नै रोक्न सक्यो । उमेशको मनमा त्यत्तिकै छटपटी छुट्यो ।

अनि उसले आफैलाई धिक्का¥यो । खै के गर्न सके र मैले मैना, धनकला, श्याममाया र लालपातेहरु लुटिदा अनि सुस्ता, कालापानी, महेशपुर, मानेभञ्ज्याङलाई वैरीका विशालु नंग्राले चिथोर्दा खै के गर्न सके र मैले ? कोशी र गण्डकीजस्ता सयौं नदी बेचिदा अनि के गर्न सके र मैले टनकपुर, सुस्ता र कालापानी, टिष्टा अपहरित हुँदा शासकको चैनका लागि बेचिएका स्थानहरु हुन् या व्बाँसाहरुको नंग्रा र दाह्राहरुले भत्काइएका सीमास्तम्भहरु अहँ कतै छैन नेपालको निसाना । उमेश निरास भएर फतफताइरहन्छ । यताउति घुमिरहन्छ । खैं त्यहाँको स्तम्भ, खै उताको स्तम्भ, खै बलभद्रजस्ता महापुरुषको रगतले कोरिएको सीमारेखा, खैं अमरसिंहजस्ता महामानवको स्तम्भमा कुहिएको गौरवगाथा । उमेश एक्लै–एक्लै फतफताइरहन्छ के–के बोलिरहन्छ र मेटिएको सीमारेखा वरपर डुलिरहन्छ ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com