km nisthuri

कथा : नदेखेको काला पहाड

केशरमान बुढाथोकी 

धिपधिपे दियालोको प्रकाश कतिखेर पारि लेकाली पहाडबाट आएको तीब्र वेगको आँधीले निभाइदिन्छ । अरुनिमा दाउरा जोरजाम गरेर आगो फू फू गर्दै सल्काउँछे । अजय आज पनि साहुको काममा गएको छ तर बेला भइसक्यो फर्केको छैन । अरुनिमा चुलो बालेर मात्र के गरोस् पकाउनका लागि घरमा कुनै सरजाम छैन, उसले आज फेरि उही मकैको खोले पकाउने तरखर गर्दैछे ।

सन्ध्याकालीन रश्मीहरुले धर्तीबाट विदा लिँदैछन् । विस्तारै–विस्तारै कालीरातको पदार्पण हुँदैछ धर्तीमा तर त्यो कालीरात हिजोभन्दा आज झन्–झन् भयानक बनेर आउँदैछ भने आजभन्दा भोलि अझ भयावह हुने संकेत छ । त्यो घरमा भूत, प्रेत, मसान भित्रिएर झनै कठोर, झनै निर्मम झनै निर्दयी भएर आउँदैछ कालीरात ।

झिसमिसे साँझ हो, त्यो साँझ खस्तैछ, छिप्पिदैछ, त्यही अविभाजित साँझ हो, गाउँका सुवेदार र मुखियाका घरमा आएको, त्यही साँझ हो माडे र हवेलीका घरमा आएको, त्यही साँझ हो दरवार, मन्त्री निवास, ठूला–ठूला साहेव साहेवनी निवासमा आएको । त्यो साँझ त्यहाँ साँझको कुनै अनुभव छैन । झिलिमिली हजार बत्ती बलेका महलहरुलाई त्यो साँझले केही छोएको छैन साँझले केही प्रभाव पारेको छैन ।

अजयको घर आज पनि निकै सुनसान छ । अरुनिमा सन्ध्यालाई छिचोल्न दियालोको जोरजाम गर्दैछे । वर्षामा गोठ चुहिएर भिजेका चिसा दाउरा आगो नबलेर अरुनिमालाई हैरान पारेको छ । आगो फुक्दा–फुक्दा उसलाई रिंगटा छुट्लाजस्तो हुन्छ । रमेश बिहानै खोले खाएर साथीसँग खेल्न गएको बल्ल फर्केर घर आइपुगेको छ । सधैं खोले र पानी पिएर पेट भर्नुपरेको वेदना उसको चेहरामा प्रष्ट पढ्न सकिन्छ । एउटा नवयौवना ठिटो के–के न सुनौला सपना बोकेको थियो होला मनमा ? आज ऊ निकै गम्भीर छ । एकटकले के–के सोचिरहेछ । त्यस्तै डेढ दुई वर्षको फरक होला उसको आफ्नी बहिनीसँग । परिवारको जेठो सन्तान हुनुको जिम्मेवारी छ ऊसँग । आफ्नी नवयौवना बहिनी एउटा पुरानो थोत्रो प्लाष्टिकको बाल्टीमा पानी ल्याएर पधेंराबाट भर्खर घरभित्र छिर्दैछे ।

रमेशले एकपटक बहिनीतिर कारुणिक नजर डुलाउँछ । उही खुम्चेर घुँडामाथि आएको पुरानो सुरुवाल अनि भित्री वस्त्र देखिने गरी च्यातिएको कुर्ता लगाएकी बहिनी विचरी नुहाउनका लागि साबुन नपाएर खलीले नुहाउँदा–नुहाउँदा कपाल लटा परिसकेको छ । लाल–लाल पोटिला गाला फुटेर रगत चुहिएला जस्तो देखिन्छ । उता झुत्रो वस्त्र लगाएर एउटा अबोध बालक कारुणिक रुवाई रोइरहेछ । आर्तनादले भरिएको स्वरमा अरुनिमा सीतालाई भन्छे– ‘ए नानी जा ऊ परबाट बाबालाई बोला कतै आउँदैछन् कि ।’ हुन्छ आमा भन्दै सीता डाँडातिर जान्छे ।

लगभग रात परिसकेको छ, किराकाँटीको छœयाक छत्रुकले त्रसित हुँदै ऊ घर बाहिर निस्कन्छे । रात विस्तार–विस्तार अझ भयावह बन्दैछ । सीता मुटु ढुकढुक पार्दै डाँडामा पुगेर कराउँछे– ‘बाबा, बाबा ओ बाबा चारैतिरका पहरा गुञ्जायमान हुँदै आवाज प्रतिध्वनित हुन्छ । कतै निकै टाढा उसको बाबाले आउँदै गरेको सांकेतिक आवाज उसका कानमा ठोकिन्छ । आफ्ना बाबाको आवाज आएको अनुमान लगाउँदै सीता घरभित्र पस्छे ।’

आमा पारी सल्लेरीतिर कतै बाबाको जस्तो आवाज आउँछ । ‘ल बस नानी जा पारी बाबु पकड किन रोइरहेको छ ।’ अरुनिमा अह्राउँछे । भोकले रोइरहेको अबोध बालकको रुवाई किन रोकिन्थ्यो । झनै ठूलो स्वरमा रोइरहेछ ऊ । रमेश आज निकै गम्भीर छ, निकै स्तब्ध छ । आफ्नो परिवार गरीव हुनुको वास्तविक पीडाले उसको अन्तर दिल निकै घोचेको छ । सधैं खेलेर थकित मुद्रामा घर फर्केर आमा र बहिनीलाई हकारेर आफूलाई भोक लागेको जानकारी गराउने रमेश आज बिल्कुलै परिवर्तित छ ।

भर्खर यौवनको संघार कुल्चेकी आफ्नी प्यारी बहिनी च्यातिएका झुत्रा चिथरा पहिरेकी छे, जसलाई एकसरो वस्त्र दिन सकिएको छैन । उता अबोध बालक (भाइ) भोकको असह्य पीडाले चिच्याइरहेको छ । दियालोको मधुर प्रकाशमा चाउरिएको अनुहार लगाएर मकैको खोले घोट्दैछिन् अरुनिमा । बाहिर आँगनामा खुत्रुक खुत्रुकको आवाज आउँछ अनुमान लगाउँछन् त्यो आवाज घरको मुली मालिक ती नवयौवना सीता, रमेश र कराइरहेको अबोध बालकको
बाबु हो अनि चाउरिएको अनुहार लगाएकी अरुनिमाको श्रीमान् हो । बाहिर आइरहेको घरको मालिक साहुको कामबाट अवेर रात खाली हात फर्के पनि सकुशल घर पुग्दा परिवारका सबै सदस्यहरुको निन्याउरो अनुहारमा थोरै खुशीका धर्सा देखिन्छन् । लखतरान परेको शरीर, थाकेको जिउ भित्र पस्नासाथ धुलोमा थ्याच्च बस्छ अजय– रोइरहेको बालकतिर हेर्दै भन्छ– ‘अरुनिमा किन बाबु रोइरहेछ ?’

अरुनिमा आर्तनादको स्वरमा भन्छे– ‘भोकले ।’ अजयको हृदय पीडाको सोलाले छिया–छिया हुन्छ । अन्तर्मनमा कुण्ठित गरीवीको तलाउ फुटेर खहरे बनी आँखाबाट प्रष्फुटित हुन्छ । जो बाढी अविरल, अविराम बगिरहन्छ । अजयको मुटु भक्कानिन्छ । ऊ आफूले आफैलाई बाबु भएर एउटा अबोध बालकको भोक मेटाउन नसकेकोमा हीनताबोध हुन्छ । आफूलाई एउटा असक्षम निर्दयी बाबु सम्झन्छ । ‘म जस्तो हरिकंगाल जसले छोराछोरी हुर्काउन सक्दैन त्यसले किन सन्तान जन्माउनू ?’ दिनभर साहुका कठोर बोलीका वाणले छियाछिया भएको मुटु साँझ घरको गरीवीको पीडाले निकै बल्झिन्छ । उसको वेदना अरुनिमाले पनि सम्झन्छे । अनि निर्दयी अदृश्य ईश्वरलाई कल्पन्छे– ‘हे ईश्वर यो गरीव छाप्रोमा वेदना र चोट थपेर किन रमिता हेरिरहेको तिमी ?’ उता रमेशको हृदयको धड्कन रोकिएला जस्तो भयो । रगत प्रवाह नलीमा रगतको वेग अडिएला जस्तो भयो । एउटा बज्र प्रहारझैं अहितका कठोर दिनलाई सम्झेर ऊ स्तब्ध भयो ।

सीता पनि कहाँ अबोध छे र ? बाआमाको वास्तविक पीडालाई उसले पनि अनुभव गर्दछे । सीता अवरुद्ध गलाले भन्छे– ‘बाआमा तपाइँहरु नआत्तिनुहोस् अब म पनि सुवेदारको घरमा काम गर्न जान्छु अनि मैले कमाएर ल्याएको पैसाले म मेरो भाइलाई पेटभरि खान दिन्छु ।’ परिवारमा झनै कारुणिक सन्तोष छायो । तर नारीको अस्तित्वहीन निर्बल हृदय जसमा कुनै आत्मबल छैन, प्रतिशोध छैन, प्रतिकार छैन छ त केवल अन्तर कुण्ठित भावना– ‘म कसरी परिवारमा सुख ल्याउन, गरीवी हटाउन सकुँला र ?’ उसको हृदयबाट अविश्वासको कालो तुवाँलो मडारिन थाल्छ ।
आज दिनभर साथीसँग खेल्दा आफू गरीव भएर हेपिनुपरेको पीडाले रमेशलाई बेस्सरी घचघच्याउँछ । आफू परिवारको जेठो सन्तान, बाबुआमाको पिण्ड पानीको दाता उसले गरीवी छिचोल्न बाबुआमा, भाइबहिनीलाई सुख दिन आफ्नो काँधमा आएको जिम्मेवारी महसुस गर्दै बाबाको छेउमा गएर सान्त्वना दिदै भन्छ– ‘बाआमा अब म अल्लारे पाराले कहिल्यै बरालिन्न, बहिनी, भाइ र तपाइँहरुलाई सुख दिन मैले जे पनि गर्न तयार छु । तपाइँहरु नआत्तिनुहोस् ।’ अजय स्तब्ध भएर भन्छ– ‘के गर्छस् र बाबु म दिनभर साहुकै काममा जोतिदा पनि परिवारलाई राम्ररी एक छाक खुवाउन सकेन ।’ ‘होइन बाबा म अब धन कमाउन कालापहाड जान्छु, धेरै धन कमाउँछु अनि घर फर्केर साहुको ऋण तिर्छु अनि बहिनी र भाइलाई राम्रो खान लाउने व्यवस्था गर्छु…… ।’

‘तर रमेश कसरी जान्छस् कालापहाड ?’ जान्छु बाबा म जसरी भए पनि जान्छु, हजुर नआत्तिनुहोस् । यस्तै पीर, वेदना साटासाट गर्दागर्दै आज त्यो घरमा भान्सा भएन, सुताइ चलेन, गन्थन र सुँक्क–सुँक्कमा रात बित्यो । कठैवरी त्यो परिवारको कठोर दिनचर्या प्रायः सबैजसो यसरी नै बितिरहेका छन् । सुँक्क–सुँक्क मै गरीव परिवारको निर्वल हृदय अनि बेसहारा साहसभित्र कहिंकतै उत्सर्गको परिमाण छैन । सीसाझैं टुक्रिएका साहसहरु बटुलेर तासको घर बनाउने स्वर्णीम सपना बुनेको रमेश खै कसरी पुग्ने हो नदेखेको, नजानेको कालापहाड ? ओंठ निचोर्दा दूध निस्केला जस्तो शरीरमा नंग्रा गाडिएलान् जस्तो कोमल, कोमल व्यक्ति रमेश परिवारको गरीवी हटाउन एकदिन शुभसाइत पारेर नदेखेको
कालापहाड गयो रे भन्ने खबर आँधीसँगै चारैतिर गुञ्जियो….. ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com