इन्द्रेणी संवाददाता
दाङको घोराही स्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयले सडक दुर्घटनामा परी ज्यान गुमाएका शिक्षक तथा विद्यार्थीहरुको सम्झनामा स्मृति कार्यक्रम गरेको छ ।
आज भन्दा ठिक दुई बर्ष अघि प्राक्टिकल कक्षाका लागि दाङबाट सल्यान गएका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा सोहि शिक्षालयमा अध्ययनरत १९ जना विद्यार्थी, २ जना शिक्षक, चालक र सहचालक गरि २३ जनाको मृत्यु भएको थियो ।
स्मृति कार्यक्रममा बोल्दै शिक्षालयका प्रमुख यादव सुवेदीले मृतक प्रति हार्दिक श्रद्दान्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति गहिरो समवेदना प्रकट गरे ।
मन्तव्यकै क्रममा शिक्षालय प्रमुख सुवेदीले मृतक प्रशिक्षक र विद्यार्थीहरुको सम्झनामा शिक्षालय प्रांगणमा प्रतिमा राखिने जसका लागि शिक्षालयले प्रतिमा डिजाइनको कार्य प्रारम्भ गरेको बताए । त्यस्तै मृतकका परिवारहरु मध्ये एक जनालाई शिक्षालयले निशुल्क पठनपाठनको व्यावस्था मिलाएको उनको भनाई रहेको थियो ।
शिक्षालयका प्रशिक्षक सर्जन गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दुर्घटना बाट बाँचेर नयाँ जीवन प्राप्त गरेका विद्यार्थीहरु प्रकाश ओली, प्रेम खड्का, हिमाली हमालले मन्तव्य राखेका थिए भने कविराज न्यौपाने, नविन ओली तारा डाँगी लगायतले बिभिन्न प्रस्तुति राखेका थिए ।
शिक्षालय प्रमुख यादव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शिक्षालयका उपप्रमुख केशरमान बुढाथोकी गरेका थिए ।