kp

कर्णाली प्रदेश विवाद : ओली प्रचण्ड सम्बन्ध चिसिदै

काठमाडौं, २ कार्तिक । मुख्यमन्त्रीविरुद्ध पार्टीका सांसदहरूको अविश्वास प्रस्तावले गहिरिएको कर्णाली प्रदेशको समस्या समाधानबारे प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मनमुटाव देखिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा संयुक्त छलफलका लागि बोलाइएका प्रदेश नेतृत्वसामु प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको अनुपस्थितिलाई लिएर कटाक्ष गरेपछि समाधानका विषयमा उनीहरूबीचको मनमुटाव उजागर भएको हो ।

kp‘कार्यकारी अध्यक्ष प्रचण्डजी आजको छलफलमा आउनुपथ्र्यो, आउनुभएन । एउटै पार्टी भएर पनि छुट्टै पार्टी चलाएर जसरी भेट्नुभो, तर उहाँ यहाँ (बालुवाटारमा) नआउने कुरा राम्रो भएन,’ प्रचण्डको अनुपस्थितिबारे प्रधानमन्त्री ओलीको असन्तुष्टि उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘खैर केही छैन, हामी दुईजना अध्यक्ष बसेर सल्लाह गर्छौँ र एउटा निर्णयमा पुगेर कार्यान्वयनका लागि पठाउँछौँ, तपाईंहरूले त्यो लागू गर्दिनँ भन्न पाउनुहुन्न । कन्फ्युजन हुन्छ भने बरु एक–दुई दिन यतै बस्नुस्, हामी निर्णय गर्छौँ अनि जानुस् ।’

प्रधानमन्त्री ओलीले मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश कमिटीका अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, अविश्वासको प्रस्तावको अगुवाइ गर्ने नेता यामलाल कँडेल, अर्थ तथा योजनामन्त्री प्रकाश ज्वाला, सांसद गुलावजंग शाह र चन्द्रबहादुर शाहीलाई समस्या समाधानका लागि छलफल गर्न बालुवाटार बोलाएका थिए ।

दिउँसो एक बजेको संयुक्त छलफलका लागि खबर गरिए पनि अध्यक्ष प्रचण्डले भने आफूले सबै नेताहरूसँग पालैपालो छलफल गरिसकेकाले पुरानै कुरा सुन्नका लागि उपस्थित हुन नसक्ने प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । तर, ओलीले भने एउटै पार्टीका नेताहरूलाई पनि अलग–अलग भेटेर संयुक्त छलफलमा भने अनुपस्थित भएको भन्दै उनको कार्यकारी भूमिकामाथि नै प्रश्न उठ्ने गरी असन्तुष्टि जनाएका छन् ।

तर, प्रचण्डनिकट स्रोतले भने सबै नेतासँग निरन्तर बेग्लाबेग्लै छलफल भइसकेको र पुरानै कुरा दोहोरिने भएकाले आवश्यक नठानेर अनुपस्थित भएको प्रतिक्रिया दिएको छ । ‘उहाँले सबैसँग दुई दिन परामर्श गरिसक्नुभएको थियो । एउटै कुरा दोहोरिने भएकाले अनुपस्थित हुनुभएको हो, अन्यथा कारण होइन,’ निकट स्रोतले भन्यो, ‘सायद उहाँहरूबीच समस्या समाधानको निष्कर्ष निकाल्ने गरी आइतबार छलफल हुन सक्छ ।’ कँडेलले प्रधानमन्त्रीकै इसारामा अविश्वासको प्रस्ताव अगाडि बढाएको बुझाइमा रहेका प्रचण्ड पछिल्लो प्रधानमन्त्रीले एकल रूपमा मन्त्रिपरिषद् हेरफेर गरेकोमा पनि असन्तुष्ट छन् ।

प्रचण्डको भूमिकाप्रति असन्तुष्टि जनाए पनि ओलीले आफूहरूले समस्या समाधानका लागि छलफल गरेर तत्काल निर्णय गर्ने जानकारी गराएर त्यसलाई अक्षरशः पालना गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीनिवास पुगेका मुख्यमन्त्री शाहीसहित प्रदेशका नेताहरूबाट प्रधानमन्त्री ओलीले पालैपालो ब्रिफिङ लिएर करिब तीन घन्टा छलफल गरेका थिए । छलफलमा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए । नयाँ पत्रिकाबाट

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com