jivan gautam

“दाङलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउने मेरो लक्ष्य हो ” : गौतम

jivan gautam 1

जीवन गौतम
शिक्षामन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार
केन्द्रीय सदस्य, दाङ जिल्ला इञ्चार्ज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं दाङ जिल्ला इञ्चार्ज जीवन गौतम संघीय सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलका प्रमुख राजनीतिक सल्लाहकार हुनुहुन्छ ।

गौतम सल्लाहकार भइसकेपछि दाङको प्राविधिक शिक्षाको विकासमा उल्लेख्य योगदान गर्नुभएको छ । दाङलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउँदै कृषिको विकासबाट आर्थिक समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ छ । शिक्षा, स्वास्थ्य, दाङको विकास, प्रदेश राजधानी, नेकपाको विवादलगायतका विषयमा केन्द्रित भएर पाण्डव शर्माले गौतमसँग गरेको कुराकानी :

पछिल्लो तीन वर्षमा दाङमा धमाधम प्राविधिक शिक्षालयहरु खुलेका छन् । यति धेरै प्राविधिक शिक्षालयहरुको आवश्यकता किन ?

दाङको भौगोलिक र वातावारणीय हिसाबले शैक्षिक केन्द्र बन्नका लागि उपर्युक्त जिल्ला हो । ऐतिहासिक रुपमा पनि साविक राप्ती अञ्चलमा दाङ नै शैक्षिक केन्द्रबिन्दु हो । २००७ सालमा साविकको राप्ती अञ्चलमा पहिलो पटक पद्मोदय स्कुलको स्थापना भयो । त्यसपछि अञ्चलमै एउटा सरकारी क्याम्पसको रुपमा महेन्द्र बहुमुखी क्याम्पस स्थापना भएको थियो ।

२०६२÷०६३ सालको जन आन्दोलनपश्चात् दाङलाई प्रशासनिक राजधानी बनाउने कुराहरु पनि उठिरहेको छ । त्यसैगरी औद्योगीक क्षेत्रको पनि धमाधम विकास भइरहेको छ । म व्यक्तिगत रुपमा दाङलाई यो क्षेत्रकै शैक्षिक केन्द्रबिन्दु बनाउनुपर्छ भन्ने पक्षमा छु ।

गत स्थानीय तहको निर्वाचनमा पनि एजेण्डाकै रुपमा शैक्षिक क्षेत्रको विकासको कुरा उठाइएका थियो । निर्वाचनपछि पार्टीका फोरमहरुमा मैले दाङलाई शैक्षिक केन्द्र बनाउनुपर्छ भनेर आवाज उठाइरहेको छु । मेडिकल साइन्सको अध्ययन तथा विशेषज्ञ सेवाका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भयो ।

यो सरकार गठन भएपछि अथवा म माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको सल्लाहकार भइसकेपछि यो प्रदेशकै नमुना प्राविधिक शिक्षालयका रुपमा शहीद कृष्णसेन ‘इच्छुक’ बहुप्राविधिक शिक्षालय स्थापना भयो । सबै गाउँपालिकाहरुमा प्राविधिक शिक्षाको पढाइ सुरु भयो ।

कक्षा ९–१२ मा प्राविधिक शिक्षा पढाउनका लागि अनुमति प्रदान गरियो । स्नातक तहमा इञ्जिनियरिङ अध्यापनका लागि महेन्द्र बहुमुखी क्याम्पसमा इञ्जिनियरिङ संकायको स्थापना भयो । त्यसैगरी नारायणपुरमा स्नातक तहमा फरेष्ट्री अध्यापनका लागि त्रिभुवन विश्वविद्यालयलाई मन्त्रिस्तरीय निर्णयबाट निर्देशन दिइएको छ ।

दाङमा केन्द्रीय कार्यालय भएको नेपाल संस्कृत विश्वविद्यालयमा पूर्वीय दर्शनको सबै पक्षको अध्ययनको आवश्यकता देखियो । किनभने हामीले पूर्वीय दर्शनमा ज्ञानको भण्डार रहेको छ । त्यसमा मेडिकल, गणित, इञ्जिनियरिङ र कानुनको अध्यापनको आवश्यकता देखियो ।

विशेष गरेर पछिल्लो वर्ष पश्चिमी मुलुकहरुमा पनि पूर्वीय दर्शनअन्तर्गतको वास्तुशास्त्र लोकप्रियता बढिरहेको छ । यसको वैज्ञानिक पक्षको बारेमा हामीले अध्ययन गर्न जरुरी छ । नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय दाङमा भए पनि अध्ययन अनुसन्धानको काम काठमाडौँमा केन्द्रित भएको थियो ।

हामीले सबै विश्वविद्यालयहरुको अनुसन्धान केन्द्र केन्द्रीय कार्यालय भएको स्थापनबाटै हुनुपर्छ भनेर निर्णय ग¥यो । सो निर्णय सबै विश्वविद्यालयले सहजरुपमा कार्यान्वयन गरे । तर, नेपाल संस्कृत विश्वविद्यालयका केही व्यक्तिहरुले भने यो मुद्दालाई सर्वोच्च अदालतसम्म पु¥याए ।

हामी दङालीले नेपाल संस्कृत विश्वविद्यालयबाट फाइदा लिनुपर्छ । अध्ययन अनुसन्धानको काम यहीबाट हुनुपर्छ । अर्को कुरा अबको शिक्षा वैज्ञानिक र व्यवहारीक हुन आवश्यक छ । अब हामीले तल्लो तहदेखि नै विद्यार्थीहरुलाई प्राविधिक शिक्षा दिन जरुरी छ ।

jivandai

तपाईहरुले सुरुमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान आएपछि यस क्षेत्रको मेडिकल शिक्षा र स्वास्थय उपचारमा आमुल परिवर्तन आउँछ भनेर प्रचार गर्नुभएको थियो । तर, त्यो हुन सकेन त ?

हामीले शिक्षा जस्तै स्वास्थ्य क्षेत्रको पनि दाङलाई केन्द्र बनाउनुपर्छ भनेका छौं । अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भौतिक पूर्वाधारको राम्रो विकास भइरहेको छ । उपचार र विशेषज्ञ सेवाहरु पनि थपिएका छन् ।

घोराहीमा पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । प्रतिष्ठानले उपक्षेत्रीय अस्पताल सरह पनि सेवा दिन सकेन भनेर गुनासाहरु आइरहेका छन् ।

लमहीमा पनि ट्रमा सेन्टर स्थापनाको चरणमा अघि बढेको छ । हामीले तुलसीपुर, घोराही र लमहीमा समानुपातिक ढंगले स्वास्थ्य क्षेत्रको विकास गर्न खोजेका छौं । आगामी दिनमा दाङको स्वास्थ्य क्षेत्रमा थप सुधार हुने छ भन्ने मैले अपेक्षा गरेको छु ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान त झन्पछि झन् धराशायी बन्न थाल्यो । किन होला ?

म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा धेरै बहस र छलफल गर्ने पक्षमा छैन । सही नेतृत्व हुन नसक्दा प्रतिष्ठानको हविगत यो हालतमा पुगेको हो भन्ने मेरो बुझाइयो । धैर्य गरौं हामीले दाङ स्वास्थ्य क्षेत्रलाई तीब्र सुधार गर्नेछौं ।

तपार्इँले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अलि बढी जोड दिनुभयो । यो अलवा दाङको सम्भावना के हो ?

दाङ एशियाकै दोस्रो ठूलो उपत्यका हो । दाङ÷देउखुरीको विकासको प्रमुख आधार भनेको कृषि नै हो । हामीले कृषि, औद्योगीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा नै दाङको सम्भावना देख्नुपर्छ ।

मैले विगतदेखि नै दाङको समग्र विकासका लागि दाङ देउखुरी विकास प्राधिकरण गठन गर्नुपर्छ भनेर भन्दै आएको छु । गत स्थानीय निर्वाचनमा पनि प्राधिकरण गठन गर्ने मेरो एजेण्डा थियो ।

हामीले प्राधिकरणमार्फत् दाङको दीर्घकालिन गुरुयोजना बनाएर विकास निर्माणको कामलाई व्यवस्थित र दीगो बनाउनुपर्छ । प्राधिकरणले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, औद्योगीकरण, उद्योग व्यवसायलगायत सबै पक्षको उचित विकास गर्नुपर्छ ।

तपाईँले दाङ देउखुरी विकास प्राधिकरणको कुरा त उठाउनुभएको छ । तर, अहिले पनि भू–उपयोग नीति बिपरित दाङमा जथाभावी टुक्रे विकास र जग्गाको खण्डीकरण भइरहेको छ । यसले त भविष्यमा समस्या ल्याउने देखिन्छ नि ?

हो यही भएर दाङ देउखुरी विकास प्राधिकरणको कुरा आएको हो । अहिले कृषियोग्य जमिनमा सहरीकरण, औद्योगीकरण र बस्ती विकास भइरहेको छ । उत्पादन नहुने ठाउँमा खेती भइरहेको छ ।

जथाभावी कुनै योजनाविना जग्गाको खण्डीकरण भइरहेको छ । यसले भविष्यमा दाङलाई कुरुप बनाउँछ । भू–कम्प, आगलागी जस्ता प्राकृतिक प्रकोपहरुबाट पनि क्षति हुन सक्छ । अहिले दाङमा पहाडी जिल्लाहरुबाट तीब्र रुपमा बसाइसराइ भइरहेको छ ।

यहाँ पनि गाउँबाट शहर बसाइसराइ गरेर आउनेहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ । हामीले अब निश्चित मापदण्ड बनाएर मात्रै विकासका कामहरु गर्नुपर्छ । प्राधिकरणमार्फत् दाङको सम्भावना, आवश्यकता र चुनौतिको बारेमा बिस्तृत अध्ययन हुनुपर्छ ।

जग्गाको वर्गीकरण गरेर आव, कृषि, सहरीकरण, औद्योगीकरण, वन र खुला क्षेत्र छुट्याइनुपर्छ । खेतीपातीको कामलाई पनि परम्परागत ढंगबाट परिवर्तन गरेर आधुनिक तरिकाले गर्नुपर्छ । स्थानको पहिचान गरेर कुन ठाउँमा कुन बाली उपर्युक्त हुन्छ त्यो बाली मात्रै ठूलो मात्रामा लगाउनुपर्छ ।

अब हामीले निर्वाहमुखी कृषिलाई उत्पादन बनाउन जरुरी छ । दाङले नेपालको खाद्य आपुर्तिमा ठूलो योगदान दिन सक्छ । यसैगरी दाङलाई विभिन्न जिल्लाहरुबाट जोड्ने ठूला सडक सञ्जालहरुको स्तरबृद्धि गर्न जरुरी छ ।

दाङ–सुर्खेत सडक खण्ड, अमेलिया–तुलसीपुर सडक खण्ड, रुकुम–सल्याण–दाङ खण्ड, शहीद मार्ग, प्यूठान–दाङ खण्डलगायतका ठूला सडक सञ्जालहरुको स्तरवृद्धि गरेर नियमित यातायात सञ्चालन गर्नुपर्छ । दाङमा नियमित हवाई सेवा सञ्चालन गर्न जरुरी छ । त्यसका लागि विमानस्थलको निर्माण तथा स्तरवृद्धिमा हामीले ध्यान दिनैपर्छ ।

jivan

क दशकदेखि दाङमा राजधानीको कुरा उठिरहेको छ । दाङ राजधानी हुने आधारहरु के–के हुन् ?

पहिलो कुरा त नेपालका संविधानले प्रष्टसँग राजधानीको विषय टुंग्याउने अधिकार प्रदेशसभालाई दिएको छ । यो प्रदेशसभाको अधिकार क्षेत्रभित्रको कुरा हो ।

प्रदेशसभाले उचित निर्णय गर्छ भन्ने मेरो भनाइ रहेको छ । अर्को कुरा भौगोलिक अवस्था, सुगमता, वातावरणीय, कनेक्टिभिटि र सामारिक दृष्टिकोणले प्रदेश नं ५ को राजधानी हुने सबैभन्दा उपर्युक्त जिल्ला दाङ नै हो ।

बर्दियादेखि पश्चिम नवलपरासी र पूर्वी रुकुमदेखि कोइलावाससम्मका जनतालाई पायक पर्ने सबैभन्दा उपयुक्त क्षेत्र दाङ उपत्यका नै हो । अवष्य पनि प्रदेशसभाले उचित निर्णय गर्नेछ र दाङबासीलाई न्याय दिनेछ भन्ने मैले विश्वास लिएको छु ।

प्रसंग बदलौं, अहिले तपाईँको पार्टीभित्र देखिएको विवाद के हो ?

हरेक पार्टी यही समाजका प्रतिविम्ब हुन् । हरेक पार्टीमा अन्तरसंघर्ष हुन्छ । पार्टी जीवनमा हुने यस्ता कुराहरु सामान्य र स्वभाविक हुन् त्यसले हामीले यसलाई सहज रुपमा ग्रहण गर्न सिक्नुपर्छ । यी सबै बहसहरु आम शोषित उत्पीडित जनताको पक्षमा कसरी काम गर्न सकिन्छ भनेर नै हो ।

तपाईँहरुको पार्टीभित्र कुनै बैचारिक बहस भएको देखिदैन । यो त शक्ति संघर्ष र आन्तरिक दाउपेचका लागि मात्रै विवाद भएको जस्तो देखिएन र ?

तपाईँले भन्नुभएको कुरा सत्य होइन । रुपमा जे देखिए पनि हाम्रो पार्टीभित्रको अहिलेको बहस अब कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषय नै हो ।

हामीले समाजवादको यात्रा तय गरेका छौं । हामी समाजवादमा कसरी जान सक्छौं । कुन बाटोबाट सही ढंगले समाजवादको यात्रा तय गर्न सकिन्छ भन्ने हो । हाम्रो पार्टीभित्र शैद्धान्तिक र बैचारिक बहस नै भइरहेको छ । हामीबीच सांस्कृतिक रुपमा पनि केही भिन्नता छन् ।

यो बहसलाई हामीले सहज रुपमै लिनुपर्छ । बाहिर हेर्दा पदका लागि लडेको जस्तो देखिएला । तर, वास्तविक रुपमा त्यो सत्य होइन । हाम्रा छलफल र बहस पार्टी निर्माण एवं देश र जनताकै लागि भइरहेका छन् ।

तपाईँ व्यक्तितरुपमा इमान्दार र पारदर्शी मानिनुहुन्छ । तर, आम रुपमा हेर्दा अहिले कम्युनिष्ट पार्टीभित्र नेता कम्युनिष्ट नेता जस्ता र कार्यकर्ता पनि कम्युनिष्ट कार्यकर्ता जस्ता देखिदैनन् । के तपाईँहरुले कम्युनिष्टको आदर्श छोडिसक्नुभएको हो ?

तपाईँले उठाउनुभएको प्रश्न निकै गम्भिर छ । कम्युनिष्ट आन्दोलनमा क्षयीकरण भएको साँचो हो । हामी कतै हाम्रो मूल्य मान्यताबाट बिचलित त भएनौं ? यो विषयमा गम्भिर समीक्षा हुन जरुरी छ ।

हामीले कहिले पनि जनतालाई भुल्नु हुँदैन । हामीभित्र कमीकमजोरी छन् भने सच्याउँदै कम्युनिष्ट चरित्र निर्माणतर्फ लाग्नुपर्छ । हामी अब साँच्चिकै रुपान्तरित हुन जरुरी छ । हाम्रो वर्ग धरातलाई कदापि बिर्सनु हुँदैन । अवष्य पनि हामी सही ठाउँमा पुग्नेछौं ।

jivan

अब कम्युनिष्ट पार्टीलाई साँच्चिकै कम्युनिष्ट चरित्रको बनाउन के गर्नुपर्ला ?

कम्युनिष्ट पार्टीको नेता र कार्यकर्ता कम्युनिष्ट चरित्रकै हुनुपर्छ । तर, कम्युनिष्टहरु चलायमान र समयसापेक्ष पनि हुन जरुरी छ ।

हामीले देश र जनतालाई केन्द्रमा राखेर आफ्नो व्यत्तिगत चाहना र आकांक्षाहरु नराख्ने बित्तिकै सही ठाउँमा पुग्दछौं । हामीभित्र पार्टीभित्र विधि र पद्धतिको विकास गरेर सही दिशामा जान सक्छौं । अर्को कुरा कम्युनिष्ट आफै बन्ने हो । कसैले बनाउने होइन । हामी सबै व्यक्तिले हाम्रो धरातल, वर्ग, जनता र राष्ट्रको हितमा लाग्ने बित्तिकै हाम्रो चरित्र कम्युनिष्ट भइहाल्छ नि ।

जनताले के गर्दा मन पराउँछन् । के गर्दा मन पराउँदैनन् ? हाम्रो र जनताबीचको जीवनशैलीको अन्तर के छ ? जनताको चाहना र हाम्रो सोंच बीचको भिन्नता के छ ? यी विषयमा हामीले आफै मनभित्रबाट गम्भिर भएर सोच्ने र समिक्षा गर्ने हो भने असल कम्युनिष्ट बन्न सक्छौं ।

अहिले हामी सय प्रतिशत नै कम्युनिष्ट बन्न त सक्दैनौं । किनकी अहिले हामी कोही पनि आफ्नो व्यक्तिगत सम्पत्ती त्याग गरेर हिड्ने पक्षमा छैनौं । तर, हाम्रो संस्कारमा सुधार गर्न जरुरी छ । सामन्तवादको नाइके राजतन्त्र हामीले फाल्यौं । तर, राजनीतिक रुपमा, आर्थिक र सामाजिक रुपमा सामन्तवादक अवशेषहरु फाल्न जरुरी छ ।

कम्युनिष्ट पार्टीभित्र बैचारिक र सांस्कृतिक बहस नहुँदा यस्तो समस्या आएको हो । पार्टीहरुभित्र पनि सैद्धान्तिक र सांस्कृतिक कामहरु कम हुने व्यवहारिक कामहरु मात्र हुने प्रचलनले केही समस्या देखिएको हो । अब हामीले हामीभित्रै निर्मम समिक्षा गरेर अघि बढ्न जरुरी छ ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com