इन्द्रेणी रंग संवादाता
सधैं हसिलो र फुर्तिलो चेहरा संग नेपाली पहिरनमा स्टेजमा आउने लोकप्रिय गायिका कला लम्साल नेपाली सांगीतिक क्षेत्रको बिल्कुलै स्थापित नाम हो । देशप्रेमी भावनाले ओतप्रोत कला छात्तिमा नेपाली राष्ट्रिय झण्डा अंकित चैवन्दीमा चोली र धोतीमा मात्र स्टेजमा प्रवेश गर्ने गर्द्छिन ।
तनहुँमा जन्मिएर नेपालको राजधानी काठमान्डौलाई कर्मथलो बनाएकी कला लम्साल नेपाली लोक गायन क्षेत्रमा एक चम्किलो ताराको रुपमा स्थापित भएकी छिन ।
नेपाली समाज र समयानुकुल गीत गाउदै एक असल र संस्कारी गायिकाका रुपमा स्थापित अत्यन्तै नम्र र मिजासिलो स्वाभावाकी धनी कला अत्यन्तै सरल र सहज भएको उनका सहकर्मीहरु बताउछन ।
राजधानीलाई कर्मथलो बनाएर नेपाली लोक गीत तर्फ जमेकी गायिका कला हाल काठमाडौँमा बसेर नेपाल भित्र र बाहिरका विभिन्न स्टेज कार्यक्रममा पुग्ने गरेकीछिन । जीवनको करिव डेड दशक समय कालाकारितामा बिताएकी कलाले सांगीतिक क्षेत्रमा जम्न निकै कठोर संघर्ष गर्नु नपरेको होइन ।
अनवरत संघर्ष गर्दै जाँदा राष्ट्रको एक अव्वल कलाकारको रुपमा स्थापित कला आफ्नो आवाज जतिकै रुप र सौन्दर्यतामा पनि अव्वल छिन ।
यसरी आवाज तथा शारीरिकरुपमा सुन्दरी कलाले स्टेज कार्यक्रममा लगाउने पहिरनले पनि उतिकै सुन्दरता प्रदान गरिरहेको हुन्छ ।
आवाज, आकर्षक जीउडाल , पहिरन र आभूषण सबैको तादाम्यताका कारण सुन्दरी गायिकाको रुपमा परिचय कलाका हजारौँ फ्यान छन् । लोक तथा दोहोरी गायिका कला गायनमा मात्र होइन्, मोडलिङमा पनि उत्तिकै सुपरिचित छिन । करिब तीन दर्जन गीतमा आवाज दिएकी कलाका हाल सम्म आफ्नै झन्डै एक दर्जन गीत बजारमा आइसकेका छन्।
‘तराई आँगन हिमालको छाना छ, कसले भन्यो हाम्रो देश सानो छ’ बोलको देशभक्ति गीतले कुनै समय नेपाली सांगीतिक क्षेत्रमा तहल्का पिटेको थियो भने पछिल्लो समय पातली एल्बममा रहेको ‘बारुली कम्मर रुपमा एक नम्बर सारै राम्री भन्छन बाइ कसैकसैले’ गीतले उनलाई थप हिट बनाएको छ ।
‘बनैमा फुल्यो चमेली’, छड्के तिलारी, धानको चिउरा मायालुलाई सम्झना के दिउर लगायतका दर्जनौं गीत गाएर हजारौं दर्शक श्रोताको मन जित्न सफल गायिका लम्सालले गाउने कलालाई आफुले वरदानको रुपमा पाएको बताउछिन ।
यहि भगवानको वरदानको सदुपयोग गर्दै कलाकारितालाई नै आफ्नो पेसा बनाएको उनको भनाइ छ । तनहुँ जिल्लामा जन्मिएकी लम्सालले तुनहुँलाई सांगीतिक क्षेत्रको खानीको रुपमा चिनाउन रुचाउदछिन ।
आफुलाई गाउन कै लागि यो धर्तीमा आएको जस्तो ठान्ने लम्सालले आफुले सबै प्रकारका गीत गाउन सक्ने भएपनि आफ्नो आवाज लोक गीतमा बढी उपयुक्त हुने ठान्छिन ।
आफ्नो परिवारबाट पाएको अपार समर्थन र माया कै कारण आफु सफल गायिका भएको बताउने कलाले आफ्नो घरमा पनि सांगीतिक माहोल भएको बताउछिन ।
सुरुसुरुमा आफ्ना बाबु आमाले कलाकारितामा लागेपछि छोरीको पढाइ बिग्रने र छोरीको भविष्य पनि बिग्रने भएकाले त्यसतर्फ नलाग्न सल्ला दिएपनि लुकिछिपी यस क्षेत्रमा लागेकी राष्ट्रकी अव्वल कलाकार कलाको आगामी दिनहरुमा पनि हजारौं दर्शक स्रोतको माया पाउने र सांगीतिक क्षेत्रलाई अझैं द्रुततर गतिमा अघि बढाउने योजना रहेको छ ।